काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारका कारण राज्य व्यवस्था तथा सुशासन समितिको कामकारबाही ठप्प भएको आरोप लगाएको छ ।
काँग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले गृह मन्त्रालय सम्हाल्ने मन्त्री वा प्रधानमन्त्रीको अनुपस्थितिका कारण समितिको बैठक बस्न नसकेको बताउनुभएको हो । मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले मुलुकमा विकसित पछिल्ला दर्दनाक घटनाहरूका विषयमा संसदमा प्रश्न उठाउनुपर्ने अवस्था रहे पनि सम्बन्धित मन्त्रीको अभावमा समिति अनिर्णयको बन्दी बनेको आङदेम्बेले उल्लेख गर्नुभयो ।
समितिका सभापतिले बैठकका लागि पटक–पटक आग्रह गरे पनि सम्बन्धित मन्त्रालयको नेतृत्व नहुँदा आफूहरू सहभागी हुन नसकेको उहाँको प्रष्टीकरण छ । सत्तापक्षलाई जस्तो आफूहरूलाई सुविधा नरहेको उल्लेख गर्दै उहाँले जनताका आवाज र समस्याका बारेमा सम्बन्धित मन्त्रीबाटै जवाफ खोज्नुपर्ने बाध्यता रहेको बताउनु भयो । प्रधानमन्त्रीको कार्यव्यस्तता र अनुपस्थितिले समितिको बैठकमा अवरोध सिर्जना भएको भन्दै उहाँले सरकारको संवेदनशीलतामाथि प्रश्न उठाउनु भयो । एउटा महत्वपूर्ण मन्त्रालयमा मन्त्री समेत नियुक्त गर्न नसक्ने सरकारले जनताका गम्भीर समस्या र जिम्मेवारीलाई कसरी सम्बोधन गर्छ भन्दै उहाँले सरकारको आलोचना गर्नुभएको छ ।
उहाँले भन्नुभयो, ‘मुलुकमा घटेका विभिन्न घटनाका सम्बन्धमा हामीले समितिमा प्रश्न उठाउनुपर्नेछ, तर जवाफ दिने मन्त्री नै हुनुहुन्न । यदि गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीसँगै छ भने उहाँ आफैँ समितिमा उपस्थित हुनुप¥यो, अन्यथा तत्काल गृहमन्त्री नियुक्त गरिनुपर्छ।’
सांसदहरूले राखेको चासोमा जनताको अभिव्यक्ति लुकेको हुने चर्चा गर्दै नेता आङदेम्बेले समितिलाई वन्धक नबनाई तत्काल निकास दिन सरकार र सत्तारुढ दलको ध्यानाकर्षण गराउनुभएको छ ।
यस्तै काँग्रेसले प्रधानमन्त्रीको संसद्मा देखिएको व्यवहारप्रति आपत्ति जनाएको छ ।
सरकारको नीति तथा कार्यक्रम प्रश्तुत भइरहेका बेला प्रधानमन्त्री बालेन्द्र साह संसद बैठकको बीचैबाट बाहिरिएको घटनालाई काँग्रेसले ‘अमर्यादित र दुर्भाग्यपूर्ण’ संज्ञा दिएको हो ।
नेता भीष्मराज आङदेम्बेले संसदको गरिमा र इज्जतमा आँच पुग्नेगरी प्रधानमन्त्रीले व्यवहार प्रदर्शन गरेको आरोप लगाउनु भयो । उहाँले विश्वका कुनैपनि मुलुकमा सरकारको नीति तथा कार्यक्रम प्रश्तुत भइरहँदा प्रधानमन्त्री बीचैमा उठेर हिँडेको इतिहास नरहेको भन्दै यसलाई व्यङ्ग्यात्मक रूपमा ‘गिनिज बुक’मा नाम लेखिने विषय भएको टिप्पणी गर्नुभयो ।
नेता आङदेम्बेले प्रधानमन्त्रीको अचानकको बहिर्गमनलाई स्वास्थ्य अवस्थासँग जोड्दै यसबारे संसद्लाई आधिकारिक जानकारी दिन माग गर्नुभयो । आङदेम्बेले प्रधानमन्त्रीको मन स्थिर र शान्त नदेखिएको उल्लेख गर्दै सत्ताको भार अपेक्षा गरेभन्दा बढी भएका कारण यस्तो व्यवहार देखिएको हुनसक्ने संशय व्यक्त गर्नुभयो । प्रधानमन्त्रीको अहङ्कारपूर्ण व्यवहारले जनताको मन कुडिएको र देशकै शिर झुकेको उहाँको दाबी छ ।
उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीको स्वास्थ्य स्थिति गम्भीर बनेर उहाँ हिँड्नुभएको हो भने अविलम्व स्वास्थ्य परीक्षण गरी संसद्लाई जानकारी गराइयोस् । प्रधानमन्त्री रास्वपाको मात्र नभई राष्ट्रकै सम्पत्ति भएकाले उहाँको स्वास्थ्यप्रति हामी पनि चिन्तित छौँ ।’
सम्बोधनका क्रममा उहाँले सभामुखको भुमिकाप्रति पनि प्रश्न उठाउनु भयो । सदनलाई मर्यादित र व्यवस्थित बनाउने जिम्मेवारी सभामुखको भएपनि प्रधानमन्त्री बीचैमा निस्कँदा सभामुख मौन रहेको भन्दै उहाँले आश्चर्य व्यक्त गर्नुभयो । यो घटनाले सदनको गरिमामा दाग लागेको महशुस भएको उहाँको भनाइ छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र