करिब दुईतिहाइको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले पहिलोपटक सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्र प्रमुखमार्फत संसद्मा प्रस्तुत गरिने यस्तो नीति तथा कार्यक्रमलाई आगामी दिनमा सरकारको मार्गदर्शक मानिन्छ । यसैका आधारमा बजेट बन्नेछ । संसदीय अभ्यास र परम्परा अनुसारको यो प्रचलनका पछाडि केही अन्तर्राष्ट्रिय व्यवहार, आचरण, मान्यता, संस्कार स्थापित हुन्छन् र तिनको उल्लंघनलाई संसदीय आचरणविपरीत भन्ने गरिन्छ । संसदीय मर्यादाको पालना गर्ने परम्पराविपरीत बालेन नेतृत्वमा रहेको वर्तमान राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार पूर्ववर्ती सरकारहरू भन्दा धेरै कुरामा भिन्न देखिएको छ । भिन्न स्वाभाविक रूपमा होइन अस्वभाविक लाग्ने शैलीमा देखिएको हो । यसलाई समर्थकहरूले उचित भनिरहेका हुनसक्छन् । रास्वपालाई दुईतिहाइ निकटको भारी मतले विजय गराउने मतदाताहरूले समेत यसलाई स्वाभाविक ठानिरहेका होलान् तर तीमध्ये कति भने अहिले पछुताउने अवस्थामा पुगेका छन् । किनभने देश वा सरकार लहड र मुडले होइन नियम, कानुन, प्रचलन, परम्पराले चलाउनुपर्ने हुन्छ । प्रधानमन्त्री बालेन साह अहिले ती सबैलाई अवज्ञा गर्दै अगाडि बढिरहनुभएको छ । सरकार बनेको डेढ महिना भयो । यस अन्तरालमा केही कुराहरू भए तर ती कुराहरू परिवर्तनका लागि र सकारात्मक ढंगले अघि बढेका छैनन् ।
आज सरकारको नीति तथा कार्यक्रमाथि बहस र परिचर्चा हुनुपर्ने दिन हो । तर चर्चा सरकारी नेतृत्वको अराजकतामाथि भइरहेको अवस्था छ । अहिले प्रमुख रूपमा यस सरकारले अध्यादेशको माध्यमबाट पहिलेका राजनीतिक नियुक्तिहरूलाई खारेज गर्ने काम गरेको छ र अर्को काम भनेको सुकुम्बासी बस्तीहरूमा डोजर चलाउने हो । यी दुवै कामले जनतालाई कुनै फाइदा पुगेको छैन । राजनीतिक नियुक्तिबिना कुनै पनि निकाय चल्न सक्दैनन् । कित सबै त्यस्ता संवैधानिक निकायहरू संविधाननै संशोधन गरी खारेज गर्नुपर्छ । अन्यथा एकैपटक लगभग १६०० को संख्यामा तिनलाई हटाएर ती निकायहरू खाली गराउँदा त्यहाँ एक प्रकारको रिक्तता पैदा भएको छ । ती ठाउँहरूमा हाम्राका सट्टामा राम्रा मान्छेहरू आए भने त्यसलाई स्वाभाविक मानिएला होइन भने हाम्राका ठाउँमा अर्को पक्षका हाम्रा नै आए भने त्यो काम स्वाभाविक हुने छैन ।
अर्कोतिर सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएर विध्वंस मच्चाई कुरूप बनाएको छ । त्यसले गर्दा सहरका विभिन्न ठाउँ भुइँचालो वा ठूलो युद्धपछि खण्डहरमा परिणत भएका क्षेत्रजस्ता देखिएका छन् । त्यहाँबाट लखेटिएका सुकुम्बासीहरू छिन्नभिन्न भएका छन् । तिनलाई लगत संकलन गरी सरकारले व्यवस्थापन गर्छौं भनेको छ र लगत संकलनको काम पनि गर्दैछ । तर पहिले लगत संकलन गरेर पछि तिनीहरूलाई त्यहाँबाट हटाइएको भए तिनीहरूको अहिलेको जस्तो विचल्ली हुने थिएन । प्रधानमन्त्रीले आफू प्रधानमन्त्री बन्दा विभिन्न कुराहरूको अभिलेख अंकन गर्नुभयो । ३६ वर्षको प्रधानमन्त्री, तराईमूलको पहिलो प्रधानमन्त्री जस्ता केही अभिलेख (रेकर्ड) त उहाँले राख्नुभयो तर उहाँको काम गराइमा लहडीपनमात्र देखिएको छ । अहिले आएर उहाँले राष्ट्रिय पोशाक नलगाउने प्रधानमन्त्रीको रेकर्ड पनि राख्नुभयो । औपचारिक समारोहहरूमा जाँदा पालन गर्नुपर्ने नियमहरू पोशाक, व्यवहार, शैली आदिलाई पनि उहाँले अवज्ञा गर्दै आउनुभएको छ ।
सिनेमाको नायक जसरी प्रकट हुने, सेलिब्रेटी शैली अपनाउने गर्दागर्दै सरकारको नीति तथा कार्यक्रम औपचारिक रूपमा संसद्को संयुक्त सदनलाई राष्ट्रपति महामहिम रामचन्द्र पौडेलले प्रस्तुत गर्दा प्रधानमन्त्री आएर एकछिन् बसेर हिँड्नुभयो, जसलाई सम्बोधन बहिष्कार मानिएको छ । स्वयं सरकारले तयार पारेको नीति तथा कार्यक्रम सुन्न नचाहने प्रधानमन्त्रीको यो बललीलालाई संसदीय अभ्यासले तिरष्कार गर्नैपर्ने हुन्छ । सरकारले नै बनाएको सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद्मा राष्ट्र प्रमुख आउने वा उहाँलाई आमन्त्रण गर्ने परम्परा हो । सरकारले एक वर्षका लागि के कस्ता नीति तथा कार्यक्रम बनाइयो भनेर प्रस्तुत गर्ने हो र त्यसको वाचन गर्नमात्र राष्ट्रप्रमुख आउने प्रचलन छ । यस अर्थमा राष्ट्रपति सरकारको अनुरोधमा संसद्मा आउने र नीति तथा कार्यक्रम वाचन गर्ने पाहुनाका रूपमा देखिनुहुन्छ । आफैंले बनाएको नीति तथा कार्यक्रम प्रस्तुत गर्न अतिथिका रूपमा राष्ट्रपति उपस्थित हुँदा प्रधानमन्त्री आफैं नबस्ने यो अनौठो शैली यसअघिका कुनै पनि प्रधानमन्त्रीहरूले अपनाउनु भएको थिएन । बालेन साह प्रायः कालो पोशाकमा हिँड्ने गर्नुहुन्छ । संसद्मा आउँदा औपचारिक पोशाक नलगाई अनौपचारिक पोशाकमा देखिनुभयो । उहाँ अनौपचारिक रूपमा यसरी प्रकट हुँदा सभामुखलगायत केही मन्त्रीहरू भने औपचारिक पोशाकमै हुनुहुन्थ्यो ।
यसरी संसद्मा अनौपचारिक पोशाकमा आउने मन्त्री हुँदा पनि दौरासुरुवाल नलगाउने र सधैं विद्रोहकै भाषामात्र बोल्ने माओवादीका नेताहरूले पनि अन्ततः राष्ट्रिय पोशाकलाई सम्मान गर्दै पहिरिनुभएको थियो । पुष्पकमल दाहाल प्रचण्डले पनि आफू प्रधानमन्त्री हुँदा राष्ट्रिय पोशाक दौरासुरुवाल लगाउनुभयो । अत्यन्त स्मरणीय के छ भने राजनीतिक कार्यक्रममा अराजक देखिने प्रधानमन्त्रीको पोशाक सेनाको कार्यक्रममा सहभागी हुँदा भने दौरा सुरुवाल कोट र कालो टोपीमा सजिएको थियो । सेनाकोमा पुग्दा परम्परागत राष्ट्रिय पोशाक र राष्ट्रपतिले सम्बोधन गर्ने संसद्को औपचारिक कार्यक्रमा टिसर्टको दृश्य संयोगमात्रै हो कि उपेक्षा, अराजकता के हो ? प्रश्न उठेको छ ।
पोशाकको विषय देखावटीका लागि मात्र होइन कूटनीतिक मर्यादा, राष्ट्र, राष्ट्रियताको प्रतिनिधित्व आदिका लागि पनि औपचारिक हुन्छ । तर वर्तमान प्रधानमन्त्री अल्लारेपन देखाउँदै हिँड्नुहुन्छ, प्रधानमन्त्रीको गरिमा र मर्यादा कायम गर्नुहुन्न । यो आलोच्य विषय हो । बाहिर बसेर विरोध र आलोचना गर्नुलाई विपक्षीहरूको धर्म मानिएला तर यथार्थ त्यसो होइन । विपक्षी पार्टीहरूले सरकार चलाउन त्यति सजिलो गरी दिने छैनन् । उनीहरूले सरकारलाई हाई सञ्चो मानेर बस्न दिँदैनौं भनिसकेका छन् । प्रतिपक्षको संख्या थोरै छ, केही गर्न सक्दैनन् भन्ने मानसिकता दुईतिहाइ निकटको सरकारको हुनसक्छ । तर विरोध गर्न ठूलो संख्या चाहिँदैन । आगाको झिल्को नै डडेलाको बिउ बन्नसक्छ ।
जो निश्चित पार्टीकै मान्छे छन्, पार्टी जन्माउने–हुर्काउने काम गरेका छन् ती राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य हुन् र तिनलाई पार्टीप्रति चिन्ता होला । तर आमन्त्रण गरेर प्रधानमन्त्री बनिदिनुस् भनेर अनुनयविनय गरिएका बालेन साह र उहाँका समर्थकहरूलाई यस विषयमा त्यति चिन्ता देखिँदैन । उहाँहरू सधैं सेलिब्रेटी नै बनिरहन चाहनुहुन्छ । हाम्रो आग्रह छ : राष्ट्रिय स्वतन्त्र पार्टी यदि राष्ट्रियता, राष्ट्रिय पहिचानप्रति गम्भीर छ र संसदीय मूल्यको सम्मान गर्न उत्सुक छ भने यसतर्फ तत्काल विचार गरोस् ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…