काठमाडौं, ललितपुर र भक्तपुरलगायत देशका ठूला शहरका नदी किनार, ऐलानी, सरकारी, गुठी तथा सार्वजनिक जग्गामा ठूलो संख्यामा नागरिकहरू बसोवास गरिरहेका छन् । तीमध्ये केही वास्तविक सुकुम्बासी हुन् भने केही तिनीहरूसँगै हुलमा पसेर अवसरको फाइदा उठाउँदै वर्षौंदेखि सार्वजनिक जग्गा उपयोग गरिरहेका छन् । यस वास्तविकताको तथ्यगत पहिचान गरी न्यायपूर्ण व्यवस्थापन गर्नु राज्यको दायित्व हो ।
नेपालमा अव्यवस्थित बसोवासको समस्या केवल आवासको प्रश्नमात्र होइन । यो सामाजिक न्याय, मानवीय मर्यादा, शहरी व्यवस्थापन र पर्यावरणीय सन्तुलनसँग गहिरो रूपमा जोडिएको विषय हो । बालेन सरकारले अहिले नदी किनार र सार्वजनिक जग्गा संरक्षणका लागि आक्रामक रूपमा कदम चालिरहेको छ । यसले केही दीर्घकालीन समस्या समाधानको आशा जगाएको छ भने अर्कोतर्फ धेरै नागरिकमा त्रास र असुरक्षाको भावना पनि पैदा गरेको देखिन्छ ।
वास्तविक सुकुम्बासी, श्रमिक वर्ग र असहाय नागरिकलाई तत्काल वैकल्पिक बासस्थान, आधारभूत सेवा र पुनः स्थापनाको स्पष्ट योजना दिनुपर्छ । यदि विकासको नाममा कमजोर वर्गलाई विस्थापित गरियो भने त्यसले सामाजिक असन्तोष, अविश्वास र आक्रोश बढाउनसक्छ । त्यसैले सरकार, स्थानीय तह, राजनीतिक दल, नागरिक समाज र सरोकारवाला संस्थाबीच समन्वय र सहकार्य अपरिहार्य हुन्छ ।
सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका दृश्यहरूले ज्येष्ठ नागरिक, महिला, बालबालिका, अपांगता भएका व्यक्ति र विपन्न वर्ग विस्थापनको पीडामा परेको संकेत दिएका छन् । यसले एउटा महत्त्वपूर्ण प्रश्न उठाएको छ । विकास र व्यवस्थापनको नाममा राज्यले मानवीय संवेदनालाई कुल्चन मिल्दैन । लोकतान्त्रिक व्यवस्थामा वास्तविक शासकको पहिचान कमजोर नागरिकप्रति गरिने व्यवहारबाट मापन हुन्छ । लोकतन्त्रमा विकास गर्दा मानवीय पक्षलाई उपेक्षा गरियो भने त्यो विकास अपूर्णमात्र होइन दीर्घकालीन रूपमा असन्तुलित र हानिकारक पनि हुनसक्छ ।
सरकारी कदम र संवेदनशीलता
वर्षौंदेखि थाती रहेको सार्वजनिक जग्गा अतिक्रमणको समस्या समाधान गर्न राज्य केही हदसम्म कडा हुनुपर्ने अवस्था आउँछ तर केबल डोजर र प्रशासनिक बल प्रयोगले मात्र स्थायी समाधान सम्भव हुँदैन । नेतृत्वमा दृढता जत्तिकै करुणा र सहानुभूति पनि आवश्यक हुन्छ । नदी किनार, सार्वजनिक जग्गा, गुठी तथा सरकारी जग्गाको अतिक्रमण कुनै पनि अर्थमा स्वीकार्य हुन सक्दैन । तर त्यहाँ बसोवास गरिरहेका सबैलाई एउटै दृष्टिले हेर्नु पनि न्यायसंगत ठहर्दैन ।
वास्तविक सुकुम्बासी, श्रमिक वर्ग र असहाय नागरिकलाई तत्काल वैकल्पिक बासस्थान, आधारभूत सेवा र पुनःस्थापनाको स्पष्ट योजना दिनुपर्छ । यदि विकासको नाममा कमजोर वर्गलाई विस्थापित गरियो भने त्यसले सामाजिक असन्तोष, अविश्वास र आक्रोश बढाउनसक्छ । त्यसैले सरकार, स्थानीय तह, राजनीतिक दल, नागरिक समाज र सरोकारवाला संस्थाबीच समन्वय र सहकार्य अपरिहार्य हुन्छ । सुकुम्बासी समस्या कुनै एक व्यक्ति, संस्था वा स्थानीय तहको मात्र समस्या होइन यो समग्र राष्ट्रकै साझा चुनौती हो ।
वैज्ञानिक पहिचान र प्रक्रिया
सुकुम्बासी व्यवस्थापनको पहिलो सर्त नै वास्तविक सुकुम्बासीको पहिचान हो । व्यवस्थित तथ्यांक संकलन, वर्गीकरण, सार्वजनिक संवाद र वैकल्पिक व्यवस्थापनसहित अघि बढिएको भए प्रक्रिया अझ वैज्ञानिक र न्यायपूर्ण बन्न सक्थ्यो । हतारमा गरिएका निर्णयले दीर्घकालीन समाधानभन्दा बढी जटिलता सिर्जना गर्ने जोखिम रहन्छ । नेपालमा विभिन्न समयमा गठन भएका सुकुम्बासी आयोगहरू अपेक्षित रूपमा प्रभावकारी बन्न सकेनन् । कतिपय आयोग राजनीतिक नियुक्ति र पहुँचका आधारमा सञ्चालित भए भन्ने आलोचना पनि हुँदै आएको छ । तथापि सुकुम्बासी समस्या समाधान गर्न विगतका नेतृत्वको समयमा सकारात्मक प्रयास भएका उदाहरण पनि छन् ।
जिल्ला खोटाङमा गठित भूमिआयोगका अध्यक्ष सुरेश राई, निर्मल राईलगायतका साथीहरूमा समस्या समाधान गर्ने दृढ इच्छाशक्ति देखिएको थियो तर स्थानीय तह, प्रशासन र सम्बन्धित निकायबीच आवश्यक समन्वय र स्रोत अभावका कारण अपेक्षित उपलब्धि हासिल गर्न कठिन भयो । म आफैंले पनि ती समितिहरूलाई अपेक्षाकृत सहयोग गर्न नसकेको स्वीकार गर्नुको विकल्प छैन । केवल आरोप र आलोचनाले समाधान दिँदैन । आजको आवश्यकता भनेको प्रविधिमा आधारित डिजिटल अभिलेख प्रणाली निर्माण गर्नु हो । भूमिहीन, वास्तविक सुकुम्बासी र उनीहरूसककगै हुलमुलमा छिरेका अतिक्रमणकारीलाई छुट्याइयो भनेमात्र दीर्घकालीन समाधान सम्भव हुन्छ ।
अव्यवस्थित बसोवास र पर्यावरणीय संकट
अव्यवस्थित बसोवासले शहरको सौन्दर्यतामात्र होइन जनस्वास्थ्य र पर्यावरणमा समेत गम्भीर असर पारेको छ । नदी किनारको अतिक्रमण, फोहोर व्यवस्थापनको अभाव, ढल निकासको समस्या र हरित क्षेत्रको विनाशले शहरहरू अस्वस्थ र अव्यवस्थित बन्दै गएका छन् । विशेषज्ञहरूका अनुसार काठमाडौं उपत्यकाका नदीहरू अत्याधिक प्रदूषणको चपेटामा छन् । वर्षातको समयमा बाढी, डुबान र फोहोरजन्य रोगको जोखिम पनि बढिरहेको छ । उपत्यकाका नदी करिडोर अतिक्रमणले प्राकृतिक जलप्रवाहमा अवरोध सिर्जना गरेको तथ्य विभिन्न अध्ययनले देखाएका छन् ।
त्यसैले सरकारले हालै खाली गरिएका क्षेत्रलाई योजनाबद्ध रूपमा हरियाली पार्क, पैदलमार्ग, साइकल लेन र हरित करिडोरका रूपमा विकास गर्नुपर्छ । यस्ता करिडोरले ट्राफिक व्यवस्थापनमा सुधार गर्दै पर्यावरण संरक्षण, जैविक विविधता र जनस्वास्थ्यमा सकारात्मक योगदान पुर्याउँन सक्छन् । विकसित मुलुकका शहरहरूले नदी करिडोरलाई पर्यावरणीय पुनर्जीवन र सार्वजनिक उपयोगसँग जोडेर सफल अभ्यास गरेका उदाहरण प्रशस्त छन् । नेपालले पनि त्यस्ता दीर्घकालीन योजनाबाट सिक्न जरुरी छ ।
सुकुम्बासी समस्या समाधान गर्न आक्रामक शैलीमात्र पर्याप्त हुँदैन । दीर्घकालीन समस्या समाधानप्रति संवेदनशीलता, वैज्ञानिक प्रक्रिया, पारदर्शिता र न्यायपूर्ण पुनःस्थापना अनिवार्य हुन्छ । विकासको नाममा कमजोर वर्गलाई पछाडि पारेर अघि बढ्नु लोकतान्त्रिक मूल्य र सामाजिक न्यायको मर्मविपरीत हुन्छ । सार्वजनिक जग्गाको संरक्षण, पर्यावरणीय सन्तुलन र मानवीय अधिकारबीच उचित सन्तुलन कायम गर्दै राज्य अघि बढ्नुपर्छ ।
न्याय र राज्यको उत्तरदायित्व
सुकुम्बासीको नाममा बसोवास गर्दै आएका सबै व्यक्ति वास्तविक पीडित होइनन् । केही ठूलाठालु र सम्पन्न व्यक्तिहरूले समेत राजनीतिक पहुँच र शक्तिको आडमा सार्वजनिक जमिन अतिक्रमण गरेको यथार्थ लुकाउन मिल्दैन । त्यसैले वास्तविक भूमिहीन र सुकुम्बसीसँगै हुलमुलमा छिरेका नक्कली सुकुम्बासीलाई पारदर्शी ढंगले छुट्याउन जरुरी छ । सञ्चारमाध्ययममा आएजस्तो रास्वपा माननीय र पार्टी कार्यालय जोगाउने दुस्साहस गरियो भने सरकारको यो कदम दुर्भाग्यपूर्ण हुनसक्छ । बालेन सरकारले यसलाई गम्भीरतापूर्वक बुझोस् ।
सार्वजनिक जग्गा कब्जा गरेर भाडा असुल्ने, अवैध कारोबार गर्ने वा राजनीतिक संरक्षणमा फाइदा उठाउने व्यक्तिहरूमाथि कानुनी कारबाही हुनुपर्छ । त्यस्तै फोहोर व्यवस्थापनमा लापरबाही, सार्वजनिक स्वास्थ्यमा खतरा र ठगीजन्य गतिविधि नियन्त्रण गर्न पनि राज्य जिम्मेवार बन्नुपर्छ । पारदर्शिता कायम गर्न स्वतन्त्र अनुगमन संयन्त्र आवश्यक छ । नीति-निर्माणदेखि कार्यान्वयनसम्म नागरिकको विश्वास कायम राख्न सकेमात्र यस्ता अभियान सफल हुन सक्छन् ।
बास्तविक सुकुम्बासीको अधिकार
साँचो सुकुम्बासी ती नागरिक हुन् जससँग सुरक्षित बसोवासको कुनै विकल्प छैन र जीवनयापनको आधार अत्यन्तै कमजोर छ । यस्ता नागरिकलाई सम्मानजनक बसोवासको व्यवस्था, रोजगारी, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको प्रत्याभूति दिनु राज्यको दायित्व हो । वास्तविक सुकुम्बासी पुनःस्थापनालाई केबल स्थानान्तरणको रूपमा होइन पुनर्जीवन गराउने व्यवस्था गर्नुपर्छ । सीप विकास, सहुलियतपूर्ण साना व्यवसाय, स्वरोजगार र सामाजिक सुरक्षा कार्यक्रममार्फत उनीहरूलाई आत्मनिर्भर बनाउने दीर्घकालीन योजना आवश्यक छ । नेपालको संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ । त्यसैले लोकतन्त्रको मर्मानुसार सार्वजनिक जग्गा संरक्षण र मानवीय अधिकारलाई सन्तुलन कायम गर्नु वर्तमान सरकारको सबैभन्दा ठूलो चुनौती हो ।
निष्कर्ष
सुकुम्बासी समस्या समाधान गर्न आक्रामक शैलीमात्र पर्याप्त हुँदैन । दीर्घकालीन समस्या समाधानप्रति संवेदनशीलता, वैज्ञानिक प्रक्रिया, पारदर्शिता र न्यायपूर्ण पुनःस्थापना अनिवार्य हुन्छ । विकासको नाममा कमजोर वर्गलाई पछाडि पारेर अघि बढ्नु लोकतान्त्रिक मूल्य र सामाजिक न्यायको मर्मविपरीत हुन्छ । सार्वजनिक जग्गाको संरक्षण, पर्यावरणीय सन्तुलन र मानवीय अधिकारबीच उचित सन्तुलन कायम गर्दै राज्य अघि बढ्नुपर्छ ।
खाली गरिएका क्षेत्रलाई हरियाली, सफा र व्यवस्थित शहरको प्रतीक बनाउने तथा वास्तविक सुकुम्बासीलाई सम्मानजनक जीवन प्रदान गर्ने नीति वर्तमान सरकारले बनाउनु उसको जिम्मेवारी हो । नागरिकको प्रत्यक्ष सहभागिता, उत्तरदायी शासन र दिगो योजना कार्यान्वयनमार्फत मात्र यस्तो जटिल समस्याको स्थायी समाधान सम्भव हुन्छ । राज्यले समयमै दूरदर्शी निर्णय लिनसक्यो भने सुकुम्बासी व्यवस्थापन विवादको विषय नभई सामाजिक न्याय र सुशासनको सफल उदाहरण बन्नसक्छ । बालेन सरकारको त्यतातर्फ ध्यान जाओस् ।
(भट्टराई दिक्तेल-रूपाकोट मझुवागढी नगरपालिका नगरप्रमुख हुनुहुन्छ ।)







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र