काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनाको प्रतिवेदनले मुलुकको अर्थतन्त्रका समग्र क्षेत्र सन्तोषजनक रहेको देखाएको छ । निर्यात घट्दोक्रममा र महँगी बढ्दोक्रममा रहेको प्रतिवेदनले औंल्याएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष चैतसम्मको तथ्यांकअनुसार वैदेशिक मुद्राको सञ्चिति, रेमिट्यान्स प्रवाह र शोधनान्तर बचतको बढ्दोक्रममा निरन्तरता पाइरहेको छ । जसले बाह्य क्षेत्रलाई अत्यन्तै सुरक्षित र मजबुत बनाएको देखिन्छ । चैतसम्ममा विदेशी विनिमय सञ्चिति ३०.५ प्रतिशतले बढेर ३४ खर्ब ९४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । हालको सञ्चितिले १८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको बताइएको छ ।
त्यस्तै चालु आर्थिक वर्षको नौ महिनामा रेमिट्यान्स ३९.१ प्रतिशतले बढेर १६ खर्ब ५९ अर्ब ४१ करोड रहेको छ । चैतमा मात्रै दुर्ई खर्ब नौ अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । शोधनान्तर स्थिति सात खर्ब ३१ अर्ब १६ करोड रुपैयाँले बचतमा रहनु र चालु खाता पनि छ खर्ब १८ अर्बले बचतमा देखिनु नेपालका लागि खुसीको कुरा हो । तर, बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाहमा देखिएको सुस्तता चिन्ताको विषय बनेको छ । बैंकहरूमा निक्षेप ८.५ प्रतिशतले बढेर ७ खर्ब ८७ अर्ब रुपैयाँ थपिँदा पनि निजी क्षेत्रमा जाने कर्जाको वृद्धिदर ५.७ प्रतिशतमा खुम्चिएको छ ।
घरजग्गा र सहकारी क्षेत्रमा देखिएको समस्या तथा भविष्यको अनिश्चितताका कारण नयाँ उद्योग र व्यवसायहरू खुल्न सकिरहेका छैनन् । जसका कारण बैंकहरूमा लगानीयोग्य रकम थुप्रिएर बसेको छ । चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४७ प्रतिशतमा सीमित रहेको छ भने नौ महिनाको औसत मुद्रास्फीति २.३९ प्रतिशतमात्रै रहेको छ । वैदेशिक व्यापारको क्षेत्रमा निर्यात १८.५ प्रतिशतले बढे पनि आयातको ठूलो आकार रहेको छ । सो अवधिमा १४ खर्ब ९० अर्बको आयात हुँदा दुई खर्ब २२ अर्बको मात्र निर्यात हुन सकेको छ । नौ महिनामा १२ खर्ब ६७ अर्बको व्यापारघाटा बढेको छ ।
८२ चैतमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.३९ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.०१ प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.७२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा ती समूहहरूको मुद्रास्फीति क्रमशः २.४५ र ३.९० प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०८२/८३ को नौ महिनाको औसत मुद्रास्फीति २.३९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४.५७ प्रतिशत रहेको थियो । समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ३.७१ प्रतिशत र शहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ४.७४ प्रतिशतले बढेको छ । प्रदेशगतरूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९८, मधेस प्रदेशको ४.९१, बागमती प्रदेशको ४.२०, गण्डकी प्रदेशको ३.८५, लुम्बिनी प्रदेशको ५.१५, कर्णाली प्रदेशको ३.८२ र सुदूरपश्चिम प्रदेशको ३.३९ प्रतिशत रहेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.६९, तराईको ४.८३, पहाडको ४.१८ र हिमालको ३.२० प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा कुल वस्तु निर्यात १८.५ प्रतिशतले वृद्धि भई दुई खर्ब २२ अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ६५.२ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः २२.६ र ५.१ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ४६.८ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा भटमास तेल, अलैंची, पाम तेल, जुटका सामान, चाउचाउलगायतको निर्यात बढेको छ भने जिंक सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा, हस्तकलालगायतको निर्यात घटेको छ ।
आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा कुल वस्तु आयात १३.८ प्रतिशतले वृद्धि भई १४ खर्ब ९० अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १२.२ प्रतिशतले वृद्धि भएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ७.८, २१.३ र २४.२ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा रासायनिक मल, भटमास कच्चा तेल, चाँदी, यातायातका उपकरण, सवारीसाधन तथा स्पेयर पाटर््स, पेट्रोलियम पदार्थलगायतको आयात बढेको छ भने खाने तेल, हट रोल्ड शिट इन क्वाइल, लसुन, दाल, एमएस बिलेटलगायतको आयात घटेको छ । आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा कुल वस्तु व्यापारघाटा १३.० प्रतिशतले वृद्धि भई १२ खर्ब ६७ अर्ब ५६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ६.४ प्रतिशतले वृद्धि भएको थियो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र