राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ बनरझुलामा गएको बुधबार राति गाउँभर विवाहको रौनक थियो। छिमेकीको छोराको बिहे भएकाले अधिकांश गाउँले जन्तीमा व्यस्त थिए। गीत–संगीत, हाँसो र रमाइलोबीच त्यही गाउँको एउटा घरमा भने अकल्पनीय घटना घटिरहेको थियो।
स्थानीय छोटु भनिने वीरेन्द्र रायकी ३६ वर्षीया पत्नी अनिता देवी राय आफ्नी १२ वर्षीया छोरीसँग घरमै थिइन्। उनका श्रीमान् वैदेशिक रोजगारीका लागि कतारमा छन्। परिवारका अनुसार सोही राति करिब ११ बजेसम्म वीरेन्द्रले श्रीमतीसँग फोनमा कुराकानी गरेका थिए। त्यसपछि अचानक सम्पर्क टुट्यो।
राति अबेरसम्म पनि अनिता सम्पर्कमा नआएपछि परिवार र छिमेकीमा चिन्ता बढ्न थाल्यो। बिहान घरको आँगनमा रगतका छिटा देखिए। त्यसले गाउँलाई झनै त्रसित बनायो। स्थानीयका अनुसार जन्ती गएको मौका छोपी ५–६ जनाको समूह घरमै पुगेर अनितालाई जबरजस्ती अपहरण गरी लगेको आशंका गरिएको थियो।
त्यसयता गाउँभर खोजी सुरु भयो। आफन्त, स्थानीय र प्रहरी सबैले अनिताको खोजी गरे। तर, दिन बित्दै गए पनि कुनै पत्तो लागेन। परिवारका सदस्य आशा र त्रासबीच बाँचिरहेका थिए।
घटनाको ठीक एक सातापछि बुधबार तिलाठी कोइलाडी–५ कै ‘नौ किलोमिटर’ भन्ने स्थानमा कोशी नदी किनारबाट एक महिलाको शव भेटियो। शव सडेको अवस्थामा थियो। नजिक पुगेपछि स्थानीयले त्यो शव अनिता देवी रायकै भएको पहिचान गरे।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीका अनुसार महिलाको शव हात पछाडि फर्काएर तथा खुट्टा बाँधिएको अवस्थामा फेला परेको हो। प्रारम्भिक अनुसन्धानमा ढुंगा प्रहार गरी हत्या गरिएको देखिएको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमका लागि पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।
अनिताको शव भेटिएपछि बनरझुला गाउँ शोकमा डुबेको छ। वैदेशिक रोजगारीमा रहेका श्रीमान् कतारबाट स्वदेश फर्किने तयारीमा छन् भने १२ वर्षीया छोरी अहिले आफन्तको सहारामा छिन्।
गाउँलेहरू भन्छन्— “जन्तीको रात गाउँ रमाइरहेको थियो, कसैले सोचेको पनि थिएन कि त्यही रात एउटा घरको खुसी सधैंका लागि समाप्त हुँदैछ।”







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र