काठमाडौं । प्रश्नबिना लोकतन्त्र अधुरोजस्तै हुन्छ । तर, सत्ता वा शक्तिमा पुगेकाहरू न जिम्मेवारी पूरा गर्छन् न नागरिकका प्रश्नहरूको उत्तर दिन्छन् । दायित्वबाट भाग्ने शासकहरू नागरिकका प्रश्नलाई वास्ता गर्दैनन् । थामथुम गर्छन् । प्रश्न र दायित्व दुवैबाट भाग्ने प्रयत्न गर्छन् । अहिले नेपालमा फेरि त्यस्तै भएको छ । देशमा झण्डै दुईतिहाइ बहुमतको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एकल सरकार छ । अनि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) निरन्तर प्रश्नदेखि भागिरहनु भएको छ । संसद्प्रति उत्तरदायी हुनुपर्ने उहाँ संसद्लाई नै बेवास्ता गरिरहनु भएको छ । संविधानको धारा ७६ को उपधारा १० मा प्रधानमन्त्री र मन्त्री सामूहिक रूपमा संघीय संसद्प्रति उत्तरदायी हुने भनिएको छ ।
बुधबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शाहले सरकारको नीति तथा कार्यक्रममा जवाफ दिने कार्यसूची थियो । तर, संसद्मै जानुभएन । बालेनको सट्टा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई प्रस्ताव पेस गर्न सभामुखले आग्रह गरेपछि संसद्मा हल्लीखल्ली नै भयो । सरकारले राष्ट्रपतिमार्फत प्रस्तुत गरेको नीति तथा कार्यक्रममा प्रधानमन्त्रीले आफैँ रोस्ट्रमबाट जवाफ दिने प्रचलन छ । प्रधानमन्त्री बालेनले भने आफैँले टेबल गराएको नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नमा जवाफ दिन इन्कार गर्नुभयो । प्रधानमन्त्री संसद्प्रति उत्तरदायी नभएको भन्दै विपक्षीले कडा विरोध गरे तर, कसैको केही लागेन ।
संसद्प्रति बालेनको रुचि नदेखाएको यो पहिलो घटना भने होइन । अघिल्लो संसद् अधिवेशनमा उहाँले एक शब्द बोल्नुभएन । यसपालि पनि अहिलेसम्म एक शब्द बोल्नुभएको छैन । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम वाचन गरिरहँदा बीचैमा बैठक छाडेर हिँड्नुभएको थियो । गत चैत १३ गते प्रधानमन्त्री नियुक्त हुनुभएका शाहले अहिलेसम्म संसद्मा सम्बोधन गर्नुभएको छैन ।
सिंहदरबारबाट चुपचाप शासन
बालेन प्रधामन्त्री बनेको डेढ महिना भयो । यो अवधिसम्म प्रधानमन्त्री शाहले चुपचाप शासन चलाइरहनु भएको मात्र छैन । न कुनै सार्वजनिक कार्यक्रममा बोल्नुभएको छ न संसद्मा नै । निर्वाचनपछिको प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नौ दिन चल्यो, जसमा ६ वटा बैठक बस्यो । उहाँ बोल्नुभएन । बर्खे अधिवेशनमा पनि उहाँले अहिलेसम्म आफ्नो मौनता तोड्नुभएको छैन । विगतका सरकारका प्रधानमन्त्रीले संसद्बाट देशवासीका नाममा सम्बोधन गर्ने र आफ्नो आगामी कार्ययोजनाबारे जानकारी दिने अभ्यास थियो । परम्पराअनुसार नयाँ संसद्को पहिलो बैठकमै प्रधानमन्त्रीले सरकारको नीति, प्राथमिकता र दृष्टिकोणसहित देशवासीका नाममा सम्बोधन गर्ने अभ्यास रहँदै आएको थियो ।
संसद्मा मात्रै होइन, उहाँले राष्ट्रपति रामचन्द्र पौडेललाई पनि भेट्नुभएको छैन र दलहरूसँग पनि संवाद गर्नुभएको छैन । उहाँले सञ्चार माध्यमसँग पनि संवाद गर्नुभएको छैन । हुन त यो उहाँको नयाँ बानी पनि होइन, काठमाडौं महानगरपालिकाका मेयर हुँदा पनि धेरै बोल्नुभएको थिएन । त्यो मात्रै होइन निर्वाचन अभियानकै क्रममा समेत उहाँले नबोली हात हल्लाएरै चुनाव जित्नुभयो । शाहले अहिलेसम्म एकै कार्यक्रममा १० मिनेटसम्म औपचारिक सम्बोधन गरेको रेकर्ड छैन । अधिकांश प्रतिक्रिया उहाँले सामाजिक सञ्जालमा लेखेरै दिने गर्नुभएको छ । महानगर प्रमुख हुँदा तत्कालीन सरकारलाई उहाँले सामाजिक सञ्जालबाटै प्रश्न गर्ने गर्नुभएको थियो ।
रवि र रास्वपालाई बचाउ गर्नै सकस
आफ्नै पार्टीको प्रधानमन्त्री मौन बसिदिएपछि सभापति रवि लामिछाने र रास्वपा नेता तथा सांसदहरूलाई भने बचाउ गर्ने सकस परेको छ । अध्यादेशदेखि सुकुम्बासी बस्तीमा डोजर चल्दासमेत रवि र रास्वपाले बचाउ गर्नुपरेको छ । प्रधानमन्त्री बालेन मौन बस्दा रविले नै बोल्नुपर्छ । पार्टी प्रमुखको हैसियतले नेता तथा कार्यकर्ताका सम्पूर्ण गतिविधिको उहाँले नैतिक जिम्मेवारी लिनु स्वाभाविकै हो । तर, सरकारका काम कारबाहीको प्रतिरक्षा र जवाफदेहिताको भार पनि सभापति लामिछानेले नै बोक्नु परिरहेको छ । झण्डै दुईतिहाइ बहुमत प्राप्त शक्तिशाली सरकारले चुपचाप शासन चलाउन थालेपछि रास्वपा सांसदहरू पनि मिडियाबाट भागिरहेका छन् । उनीहरू क्यामेरा र मिडियाका बुम देख्नेबित्तिकै तर्किन थालेका छन् । सरकार मात्रै होइन, सांसद र सरकारका मन्त्रीहरूमाथि प्रश्न उठ्दा वा उनीहरू विभिन्न प्रकरणमा मुछिँदासमेत रविलाई नै प्रश्न गर्ने गरिन्छ र उहाँले नै जवाफ दिनुपर्ने स्थिति छ ।
नीति तथा कार्यक्रममा प्रस्तुत नसकिँदै प्रधानमन्त्री बाहिरिएको विषयमा व्यापक आलोचना भयो । तर, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ता चुपचाप देखिए । राजनीतिक सल्लाहकार असिम शाहले सोमबार साँझ नै प्रधानमन्त्रीको अस्वाभाविक व्यवहारको बचाउ गर्दै प्रधानमन्त्रीको स्वास्थ्यमा असहजता देखिएपछि केही समय विश्राम लिएको दाबी गर्नुभएको थियो । तर, स्टाटस नै अस्वाभाविक र झुट भएको भन्दै आलोचना भएपछि उहाँले तत्कालै हटाउनुभयो ।
रवि र बालेनबीच देखिने गरी तनाव बाहिर आएको छैन । तर, तालमेल भने मिलेजस्तो देखिँदैन । सरकार बनेपछि ७ वैशाखमा रास्वपाको १६ सदस्यीय सचिवालय पुनर्गठन भयो, जसमा सभापति लामिछानेदेखि सरकारमा रहेका अर्थमन्त्री स्वर्णिम वाग्ले र अरू मन्त्री समेटिए । तर, रविपछिका वरिष्ठ नेता बालेन सचिवालय सदस्यमा बसेनन् । उहाँको नामबिना सचिवालयको १६ सदस्य सार्वजनिक गरियो । बालेननिकटका महामन्त्री भूपदेव शाह र सागर ढकाललाई सचिवालय सदस्य रहेको जानकारी दिइयो । तर, ठूलो शक्तिशाली पार्टी भए पनि बालेनको सचिवालयमा नाम आएन । पार्टीको बैठकमा नियमित नआएको, संसद्मा नबोलेको, नागरिकलाई सम्बोधन नगरेकोमा पनि प्रधानमन्त्रीमाथि पार्टीभित्रै प्रश्न उठेको छ ।
बालेन जे हुन् त्यै गरे, मान्छे अहिल्यै आकाश खसेझैँ गर्छन् : बास्कोटा
नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री वालेन्द्र शाह जे हो उहाँले संसद्मा त्यही नै गरेको टिप्पणी गर्नुभएको छ । तर, मानिसहरूले अहिले आकाश खसेझैँ गरिरहेको उहाँको भनाइ छ । ‘बालेन जे हुन्, त्यै गरे । मान्छे अहिल्यै आकाश खसेझैँ गर्छन् । गिलासमा रक्सीको अन्तिम मात्रा भरिएपछि बल्ल कथा सुरु हुन्छ’, उहाँले भन्नुभएको छ, ‘मैले हिजोको संसद् नहेरेर गल्ती गरेँछु भन्ने थियो । आज कसैले भने- मैले त्योभन्दा बढी मज्जा चार्ली च्याप्लिनको मौन हाँस्य कला र माइकल ज्याक्सनको नृत्यपूर्ण गीत हेरेर लिएँ ।’







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र