नेपालको राजनीतिमा जनताले कहिलेकाहीँ यस्ता फैसला गर्छन्, जसले पुराना शक्ति केन्द्रहरूलाई स्तब्ध बनाइदिन्छ । पछिल्लो निर्वाचन त्यस्तै एउटा विष्फोट थियो । दशकौंदेखि आलोपालो सत्तामा पुगेका पुराना दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपालगायत दलहरूले जनताको भरोसा क्रमशः गुमाउँदै गए । उनीहरूका भाषणमा परिवर्तन थियो, घोषणापत्रमा सपना थियो, तर जनताको जीवनमा निराशा, बेरोजगारी, महँगी, भ्रष्टाचार र असमानता मात्र बढ्दै गयो ।
जनताले धेरै समयसम्म सहेर बसे । नेताहरूले अब देश बन्छ भन्ने नारा हरेक चुनावमा दोहोर्याइरहे । तर, गाउँका युवाहरू विदेशिन बाध्य भए । खेत बाँझिए । शहरहरू अव्यवस्थित भए । शिक्षा महँगो, स्वास्थ्य कमजोर, प्रशासन भ्रष्ट र अवसर सीमित बन्दै गयो । जनता बिस्तारै बुझ्न थाले समस्या केवल एउटा सरकारको होइन, पुरै राजनीतिक संस्कृतिको हो । त्यसैले यसपटक जनमत विद्रोहजस्तै बन्यो । जनताले पुराना अनुहारलाई दण्ड दिए र नयाँ शक्तिलाई अवसर दिए । यही माहोलमा बालेन साह नेतृत्वको वर्तमान सरकार अत्यन्त शक्तिशाली रूपमा उदायो ।
सरकार, प्रतिपक्ष, नागरिक समाज, निजी क्षेत्र, कर्मचारी संयन्त्र, युवा र आम जनता सबैको साझा सहभागिताले मात्र दिगो परिवर्तन सम्भव हुन्छ । यदि देशलाई साँच्चै आर्थिक समृद्धिको मार्गमा लैजानु छ भने राजनीतिक स्थिरता आवश्यक छ । र, स्थिरता केवल शक्ति प्रदर्शनबाट आउँदैन, विश्वास निर्माणबाट आउँछ । जब सरकार र विपक्ष एकअर्कालाई शत्रु होइन, लोकतान्त्रिक सहयात्रीका रूपमा हेर्न थाल्छन्, तब राष्ट्रिय मुद्दामा सहमति बन्न थाल्छ ।
आज देशमा एउटा नयाँ मनोविज्ञान छ । कतिपयलाई लागिरहेको छ, अब बल्ल देश बन्छ । अर्कोतर्फ, धेरै मानिस डराइरहेका छन् कतै देश झन् अराजकतामा त जाँदैन ? यही द्वन्द्व अहिले नेपालको राजनीतिक वास्तविकता हो । बालेन नेतृत्वको सरकार रकेटको गतिमा काम गरिरहेको समर्थकहरूको दाबी छ । सडक अतिक्रमण हटाउने, अवैध संरचना भत्काउने, प्रशासनिक जालो च्यात्ने, पहुँचवालाको विशेषाधिकार तोड्ने, सरकारी संरचनामा हस्तक्षेप गर्ने यी कामले धेरै युवामा उत्साह पैदा गरेको छ । उनीहरू पुराना दलप्रति यति धेरै निराश भइसकेका थिए कि कठोर निर्णयलाई पनि साहसी कदमका रूपमा हेर्न थालेका छन् । तर, प्रश्न त्यहाँ उठ्छ जहाँ राज्यको शक्ति सिधै कमजोर मानिसमाथि प्रयोग हुन थाल्छ । अहिले सुकुम्बासी बस्तीमाथि चलेको डोजर अभियानले यही बहसलाई तीव्र बनाएको छ ।
काठमाडौंदेखि देशका विभिन्न शहरसम्म, खोला किनार, सार्वजनिक जग्गा, सडक छेउ र खाली स्थानहरूमा वर्षौंदेखि बसोवास गर्दै आएका हजारौं परिवार अहिले त्रासमा छन् । कतै डोजर पुग्दा मानिसहरू घरको छाना समातेर रोइरहेका छन् । कतै बालबालिका किताब च्यापेर खुला आकाशमुनि उभिएका छन् । कतै वृद्ध आमाबाबु जीवनभरको दुःखले बनाएको टिनको टहरो भत्किँदा भक्कानिएका छन् । कतिपय समाचारहरूमा त विस्थापनको पीडा सहन नसकेर आत्महत्यासम्म गर्न बाध्य भएको उल्लेख आउन थालेको छ । राज्यले विकासको नाममा डोजर चलाउँदा, त्यो डोजरले केवल घर भत्काउँदैन, मानिसको आशा पनि भत्काउँछ । एउटा गरिब परिवारका लागि त्यो टिनको छानो केवल संरचना होइन, उसको जीवनको सम्पूर्ण संघर्षको प्रतीक हो । तर, यसलाई अर्को कोणबाट हेर्नेहरू पनि छन् । उनीहरू भन्छन् : सार्वजनिक जग्गा कब्जा गरेर बसेकालाई हटाउनैपर्छ । कानुन सबैका लागि बराबर हुनुपर्छ । यो तर्क पूर्णरूपमा गलत छैन । यदि राज्यले अवैध कब्जालाई सदैव वैध बनाइदिने हो भने योजनाबद्ध शहर कसरी बन्छ ? नदी किनार अतिक्रमण हटेन भने बाढी नियन्त्रण कसरी हुन्छ ? सडक विस्तार कसरी हुन्छ ? समस्या डोजर चलाउनुमा मात्र छैन, समस्या संवेदनशीलता र विकल्पको अभावमा छ । राज्यले यदि वैकल्पिक आवास, पुनःस्थापना, रोजगारी र सामाजिक सुरक्षाको योजना बिनाडोजर चलाउँछ भने त्यो विकासभन्दा बढी मानवीय संकट बन्नसक्छ ।
यहाँ सबैभन्दा ठूलो दोष पुराना दलहरूमाथि नै जान्छ । किनकि सुकुम्बासी समस्या आज अचानक उत्पन्न भएको होइन । दशकौंदेखि राजनीतिक दलहरूले चुनावी स्वार्थका लागि अव्यवस्थित बसोवासलाई संरक्षण गरे । भोट बैंक बनाउने नाममा खोलाको किनारमा बस्ती बस्न दिए । लालपुर्जा दिने आश्वासन बाँडे । गरिबलाई व्यवस्थित आवास दिने दीर्घकालीन योजना कहिल्यै बनाएनन् । सत्तामा पुगेपछि नेताहरू आफन्त धनी बनाउन, कमिसन खाने, ठेक्का बाँड्ने र शक्ति जोगाउने खेलमै व्यस्त भए । देशको ढुकुटी रित्तिँदै गयो । भ्रष्टाचार संस्थागत भयो । सामान्य कर्मचारीदेखि उच्च तहसम्म कमाउने ठाउँको मानसिकता फैलियो । जनताले कर तिरे, तर सेवा पाएनन् । यही कारण जनताको आक्रोश अन्ततः विष्फोट भयो ।
आज पुराना दलका नेता धेरै विषयमा चुप देखिन्छन् । उनीहरू नैतिक रूपमा कमजोर भइसकेका छन् । उनीहरूले विगतमा गरेका गल्तीका कारण अहिले सरकारका कठोर कदमविरुद्ध बोल्दा जनता सजिलै विश्वास गर्दैनन् । जनताले उल्टै प्रश्न गर्छन् तपाईंहरू सत्ता हुँदा किन गर्नुभएन ? लोकतन्त्रमा अर्को खतरनाक पक्ष हुन्छ । जब जनता पुरानो व्यवस्थासँग अत्यधिक निराश हुन्छन्, तब उनीहरू शक्तिशाली र कठोर नेतृत्वतर्फ आकर्षित हुन्छन् । सुरुमा त्यस्तो नेतृत्व प्रभावकारी देखिन्छ । निर्णय छिटो हुन्छ । प्रशासन डराउँछ । काम देखिन्छ । तर, बिस्तारै शक्ति केन्द्रीकरण हुन थाल्यो भने लोकतान्त्रिक सन्तुलन कमजोर हुनसक्छ ।
कतिपयले बालेन सरकारले धेरै अधिकार खोसिरहेको आरोप लगाउन थालेका छन् । प्रशासन, स्थानीय निकाय, कानुनी प्रक्रिया र राजनीतिक संरचनामाथि प्रत्यक्ष दबाब बढिरहेको चर्चा छ । समर्थक यसलाई सिस्टम सफाइ भन्छन् भने आलोचक अत्यधिक शक्ति केन्द्रित हुँदै गएको संकेत देख्छन् । नेपालजस्तो कमजोर संस्थागत संरचना भएको मुलुकमा कुनै पनि नेतृत्व अत्यधिक शक्तिशाली बन्दा त्यसले दीर्घकालीन असर पार्न सक्छ । इतिहासले देखाएको छ- जनताको निराशाबाट जन्मिएको नेतृत्व कहिलेकाहीँ सुधारक बन्छ, कहिलेकाहीँ असन्तुलित शक्ति केन्द्र बन्नसक्छ । यही कारण अहिलेको राजनीतिक अवस्था अत्यन्त संवेदनशील छ । सरकारको आयु कति हुन्छ, स्थिरता कति रहन्छ, विदेशी शक्तिको चलखेल कति बढ्छ- यी सबै प्रश्न खुला छन् । नेपाल सधैं भूराजनीतिक प्रतिस्पर्धाको बीचमा रहँदै आएको देश हो । आन्तरिक अस्थिरता बढ्यो भने बाह्य प्रभाव झन् बढ्ने सम्भावना रहन्छ ।
आज सुकुम्बासी रोइरहेका छन् । तर, केवल उनीहरूमात्र रोएका छैनन् । बेरोजगार युवा पनि रोइरहेका छन्, खेत बेचेर विदेश गएका परिवार पनि रोइरहेका छन्, भ्रष्टाचारले अवसर गुमाएका प्रतिभाशाली विद्यार्थी पनि रोइरहेका छन् । वास्तवमा यो आँसु कुनै एउटा वर्गको मात्र होइन, लामो समयदेखि असफल राज्य व्यवस्थाको परिणाम हो । देश बनाउन कठोर निर्णय आवश्यक हुनसक्छ । देश केवल डोजरले बन्दैन । देश न्यायले बन्छ, संवेदनशीलताले बन्छ, समान अवसरले बन्छ, विश्वासले बन्छ । विकासको नाममा यदि गरीबमाथि मात्र शक्ति प्रयोग हुन्छ र ठूला भ्रष्टाचारी सुरक्षित रहन्छन् भने त्यो न्याय होइन । जनता अहिले प्रतीक्षामा छन् । उनीहरू हेर्न चाहन्छन्, यो सरकार साँच्चै नयाँ नेपाल बनाउने यात्रामा छ कि केवल क्रोधको राजनीतिमा ? यदि सुकुम्बासीको आँसु, गरिबको पीडा र सामाजिक असन्तुलनलाई बेवास्ता गरियो भने अहिलेको उत्साह नै भोलिको विष्फोट बन्नसक्छ ।
नेपाल अहिले इतिहासको मोडमा उभिएको छ । एकातिर पुरानो भ्रष्ट राजनीतिक संस्कृतिको पतन छ, अर्कोतिर नयाँ शक्तिको आक्रामक उदय । अब प्रश्न एउटै छ, यो परिवर्तनले देशलाई व्यवस्थित भविष्यतर्फ लैजान्छ कि थप लथालिंग अवस्थातर्फ ? यसको उत्तर आउने वर्षले दिनेछन् । नेपाल अहिले असाधारण राजनीतिक मोडमा उभिएको छ । लामो समयदेखि थुप्रिएका बेथिति, भ्रष्टाचार, प्रशासनिक सुस्तता, बेरोजगारी, अव्यवस्थित शहरीकरण, कमजोर सेवा प्रवाह र जनतामा बढ्दो निराशाले मुलुकलाई थकित बनाइसकेको थियो । यही पृष्ठभूमिमा जनताले परिवर्तनको तीव्र चाहना व्यक्त गरे । उनीहरूले पुराना राजनीतिक शैलीप्रति असन्तोष प्रकट गर्दै नयाँ नेतृत्व र नयाँ कार्यशैलीलाई अवसर दिए । त्यसैले आजको सरकारमाथि जनताको अपेक्षा सामान्य छैन, अत्यन्त ठूलो छ ।
जनताले अब भाषण होइन, परिणाम खोजिरहेका छन् । फाइलको धुलो हटेको हेर्न चाहन्छन् । भ्रष्टाचारमाथि कारबाही भएको हेर्न चाहन्छन् । विकासको गति बढेको, सेवा छिटो भएको र राज्यले आफूलाई महसुस गराएको अनुभव गर्न चाहन्छन् । सरकार पनि तीव्र गतिमा अघि बढ्न खोजिरहेको देखिन्छ । वास्तवमा मुलुकको अवस्था हेर्दा सुस्त गतिमा हिँडेरमात्र जनताको अपेक्षा पूरा गर्न सम्भव देखिँदैन । यही ठाउँमा सबैभन्दा ठूलो प्रश्न उठ्छ गति कति ? र कसरी ?
गति आवश्यक छ, तर नियन्त्रणविहीन गति दुर्घटनाको कारण बन्नसक्छ । सामान्य गतिमा हिँड्दा गन्तव्यमा ढिलो पुगिएला, तर सुरक्षित पुगिन्छ । असामान्य गतिमा दौडिँदा भने बाटोमै सन्तुलन गुम्ने खतरा रहन्छ । राज्य सञ्चालन पनि त्यस्तै हो । उत्साह, आक्रोश र परिवर्तनको चाहनाले मात्र देश चल्दैन, त्यसलाई लोकतान्त्रिक संयम, संवैधानिक मर्यादा र संस्थागत सन्तुलनले मार्गनिर्देशन गर्नुपर्छ ।
आजको सरकारले विगतका विकृति र विसंगतिलाई हटाउने प्रयास गरिरहेको छ भने त्यो सकारात्मक पक्ष हो । पुरानो सबै खराब र नयाँ सबै सही भन्ने सोच लोकतन्त्रका लागि खतरनाक हुनसक्छ । कुनै पनि समाज केवल विरोधको ऊर्जाले दीर्घकालसम्म टिक्दैन । अन्ततः उसलाई सहकार्य, समन्वय र साझा राष्ट्रिय दृष्टिकोण चाहिन्छ । नेपालको राजनीतिक इतिहास हेर्दा द्वन्द्वले भन्दा सहमतिले ठूला परिवर्तन सम्भव भएका उदाहरण धेरै छन् । संविधान निर्माणदेखि शान्ति प्रक्रियासम्म, संवाद र सहकार्यले नै देशलाई संकटबाट निकालेको हो । अहिले पनि यदि नयाँ नेतृत्वले सबैलाई अस्वीकार गर्दै एकल शैलीमा अघि बढ्न खोज्यो भने समाजमा अनावश्यक ध्रुवीकरण बढ्नसक्छ ।
लोकतन्त्रको सुन्दरता नै फरक विचारलाई स्थान दिनु हो । असहमति सुन्नु लोकतन्त्रको कमजोरी होइन, शक्ति हो । त्यसैले सरकारलाई आलोचना गर्ने सबै व्यक्ति देशविरोधी हुँदैनन् । कहिलेकाहीँ आलोचनाभित्रै सुधारको संकेत लुकेको हुन्छ । आज पुराना दलहरूप्रति जनताको आक्रोश हुनु स्वाभाविक हो । उनीहरूले विगतमा धेरै अवसर गुमाए । भ्रष्टाचार, गुटबन्दी, पहुँचवाद र सत्ताकेन्द्रित राजनीतिले जनताको विश्वास कमजोर बनायो । तर, त्यसो भन्दैमा पुराना दलभित्र कुनै सक्षम, इमानदार र दूरदर्शी नेता छैनन् भन्न मिल्दैन । अझै ती दलभित्र नयाँ सोच, नवीन दृष्टिकोण र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यक्तिहरू छन् । उनीहरूको अनुभव, संस्थागत बुझाइ र राजनीतिक परिपक्वतालाई पूर्णरूपमा अस्वीकार गर्नु बुद्धिमानी हुँदैन ।
देश निर्माण कुनै एक व्यक्ति, एक दल वा एक पुस्ताले मात्र गर्न सक्दैन । नेपालजस्तो विविधतायुक्त र संवेदनशील मुलुकमा सबै पक्षलाई समेटेर अघि बढ्नु अनिवार्य हुन्छ । सरकार, प्रतिपक्ष, नागरिक समाज, निजी क्षेत्र, कर्मचारी संयन्त्र, युवा र आमजनता सबैको साझा सहभागिताले मात्र दिगो परिवर्तन सम्भव हुन्छ । यदि देशलाई साँच्चै आर्थिक समृद्धिको मार्गमा लैजानु छ भने राजनीतिक स्थिरता आवश्यक छ । स्थिरता केवल शक्ति प्रदर्शनबाट आउँदैन, विश्वास निर्माणबाट आउँछ । जब सरकार र विपक्ष एकअर्कालाई शत्रु होइन, लोकतान्त्रिक सहयात्रीका रूपमा हेर्न थाल्छन्, तब राष्ट्रिय मुद्दामा सहमति बन्न थाल्छ ।
गति आवश्यक छ, तर नियन्त्रणविहीन गति दुर्घटनाको कारण पनि बन्नसक्छ । सामान्य गतिमा हिँड्दा गन्तव्यमा ढिलो पुगिएला, तर सुरक्षित पुगिन्छ । असामान्य गतिमा दौडिँदा बाटोमै सन्तुलन गुम्ने खतरा रहन्छ । राज्य सञ्चालन पनि त्यस्तै हो । उत्साह, आक्रोश र परिवर्तनको चाहनाले मात्र देश चल्दैन, त्यसलाई लोकतान्त्रिक संयम, संवैधानिक मर्यादा र संस्थागत सन्तुलनले मार्गनिर्देशन गर्नुपर्छ ।
आज देशलाई विकास चाहिएको छ, विकाससँगै सामाजिक न्याय, सुशासन चाहिएको छ । तर त्यससँगै नागरिक स्वतन्त्रताको संरक्षण आवश्यक छ । तीव्र निर्णय, त्यससँगै कानुनी प्रक्रिया र मानवीय संवेदनशीलता उत्तिकै आवश्यक छ । लोकतन्त्र बचाउनु आजको सबैभन्दा ठूलो जिम्मेवारी हो । किनकि लोकतन्त्र कमजोर भयो भने विकास दीर्घकालीन हुँदैन । निरंकुश शैलीले केही समय परिणाम देखाएजस्तो लाग्नसक्छ, तर त्यसले अन्ततः असन्तोष, प्रतिरोध र अस्थिरता जन्माउँछ । नेपालको इतिहासले यही सिकाएको छ ।
वर्तमान नेतृत्वले जनताको समर्थनलाई शक्तिमात्र होइन, जिम्मेवारीका रूपमा बुझ्नुपर्छ । जनताले दिएको विश्वासलाई अहंकारमा होइन, सहकार्यमा रूपान्तरण गर्नुपर्छ । विपक्षलाई कमजोर बनाउने होइन, राष्ट्रिय सहमतिमा जोड्ने प्रयास गर्नुपर्छ । आज देशलाई झगडा होइन, साझा यात्रा, दोषारोपण होइन समाधान चाहिएको छ । यदि सबै राजनीतिक शक्ति, नयाँ र पुराना दुवैले विगतका गल्तीबाट सिकेर मिलेर अघि बढ्नसके भने नेपाललाई स्थिर, समृद्ध र न्यायपूर्ण राष्ट्र बनाउने सपना असम्भव छैन । किनकि अन्ततः देश कसैको एकल सम्पत्ति होइन । नेपालीको साझा घर हो । र, घर तबमात्र बलियो बन्छ, जब सबै सदस्य मिलेर जिम्मेवारी बाँड्छन् ।
लोकतन्त्र केवल चुनाव जितेर सरकार बनाउने प्रणालीमात्र होइन, यो निरन्तर उत्तरदायित्व, आलोचना सहने क्षमता र संस्थागत सन्तुलनको अभ्यास पनि हो । जनताले परिवर्तनको अपेक्षासहित नयाँ नेतृत्वलाई अवसर दिएका छन् भन्ने सत्य हो । देशमा वर्षौंदेखि थुप्रिएका बेथिति, भ्रष्टाचार, ढिलासुस्ती र राजनीतिक विकृतिले जनता निराश बनेका थिए । त्यसैले अहिलेको सरकारमाथि जनताको ठूलो आशा र भरोसा छ । तर, जनताको समर्थन प्राप्त गर्नु र लोकतान्त्रिक मर्यादाभित्र रहेर शासन गर्नु दुई फरक कुरा हुन् । लोकतन्त्रमा सरकार शक्तिशाली हुनसक्छ, तर त्यो शक्ति संविधान, कानुन, प्रेस स्वतन्त्रता र संस्थागत नियन्त्रणभित्र सीमित रहनुपर्छ । यदि सरकार आलोचनाबाट असहज भएर लोकतन्त्रका आधारभूत अंगहरूलाई कमजोर बनाउनतर्फ उन्मुख हुन्छ भने दीर्घकालीन रूपमा देशका लागि घातक हुनसक्छ ।
यही सन्दर्भमा आमजनताको आवाज बोक्ने सञ्चारमाध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने निर्णय गम्भीर बहसको विषय बनेको छ । सरकारले आफ्नो आलोचना गर्ने मिडियालाई दण्डित गर्ने शैली अपनायो भने त्यो लोकतान्त्रिक संस्कृतिका लागि राम्रो संकेत मानिँदैन । किनकि प्रेस राज्यको शत्रु होइन, लोकतन्त्रको एउटा महत्त्वपूर्ण अंग हो । सञ्चारमाध्यमले कहिलेकाहीँ अतिरञ्जना गर्न सक्छन्, त्रुटि गर्न सक्छन्, पक्षपाती देखिन सक्छन् । समाधान प्रेसलाई कमजोर बनाउने होइन, तथ्य र पारदर्शितामार्फत जवाफ दिने हो । लोकतन्त्रमा स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्ने प्रयास अन्ततः सरकारकै लागि प्रतिकूल सावित हुन्छ ।
इतिहासले बारम्बार देखाएको छ- लोकतन्त्रको परिधि बाहिर गएर गरिएका कामहरू सुरुमा लोकप्रिय देखिए पनि अन्ततः त्यसले प्रतिरोध जन्माउँछ । शक्तिको अत्यधिक केन्द्रीकरण, आलोचनामाथि असहिष्णुता र संस्थाहरूलाई कमजोर बनाउने प्रवृत्तिले केही समय सरकार बलियो देखिएला तर दीर्घकालमा त्यही कदम राजनीतिक संकटको कारण बन्नसक्छ ।
नेपालको इतिहासमात्र होइन, विश्व राजनीतिका धेरै उदाहरणले यही सन्देश दिएका छन् । जुन नेतृत्वले आफूलाई कानुनभन्दा माथि ठान्यो, आलोचनालाई शत्रु सम्झियो र लोकतान्त्रिक संस्थालाई बाधा मानेर कमजोर बनाउन खोज्यो, इतिहासले अन्ततः त्यसलाई कठोर रूपमा मूल्यांकन गरेको छ । आजको सरकारलाई यही चेतावनी लागू हुन्छ । जनताको समर्थन ठूलो छ भन्दैमा लोकतन्त्रका अन्य अंगहरूलाई कमजोर बनाउने छुट कसैलाई हुँदैन । अदालत, संसद्, सञ्चारमाध्यम, नागरिक समाज र प्रतिपक्ष–यी सबै लोकतन्त्रका सुरक्षाकवच हुन् । यिनलाई बाधा होइन, सहयात्रीका रूपमा बुझ्नुपर्छ ।
सरकारले बुझ्नुपर्छ कि आलोचना सधैं विरोध होइन । कतिपय आलोचनाले शासनलाई अझ प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउन सहयोग गर्छ । यदि मिडियाले उठाएका प्रश्नहरूलाई दमन गर्ने प्रयास भयो भने समाजमा डर र अविश्वास बढ्नसक्छ । लोकतन्त्रमा सबैभन्दा ठूलो शक्ति संवाद हो । सरकार र मिडियाबीच टकराव होइन, सहकार्य आवश्यक हुन्छ । सरकार पारदर्शी बनोस्, मिडिया जिम्मेवार बनोस्- यही स्वस्थ लोकतन्त्रको आधार हो । आज देशलाई विकास चाहिएको छ, तर त्यो विकास लोकतान्त्रिक मूल्य कुचल्दै होइन । जनताको अधिकार सुरक्षित राख्दै, संस्थालाई बलियो बनाउँदै र सबै पक्षसँग हातेमालो गर्दै अघि बढ्नुपर्छ ।
यदि वर्तमान नेतृत्वले साँच्चै नयाँ नेपाल निर्माण गर्ने लक्ष्य राखेको छ भने उसले आलोचनालाई सहन सिक्नुपर्छ । मिडियालाई शत्रु ठान्ने होइन, जनमतको दर्पणका रूपमा बुझ्नुपर्छ । किनकि जनताको आवाजलाई दबाएर केही समय सत्ता टिक्न सक्ला, तर इतिहासमा सम्मानित हुन सकिँदैन । देश तब बलियो बन्छ जब सरकार, मिडिया, नागरिक समाज र राजनीतिक शक्तिहरू प्रतिस्पर्धासँगै सहकार्य गर्न सिक्छन् । लोकतन्त्रको सौन्दर्य नै यही हो ।
(लेखक डा.उपाध्याय १५३ विश्व कीर्तिमानी व्यक्तित्व हुनुहुन्छ ।)







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र