काठमाडौं । नेपाल पत्रकार महासंघले प्रकाशित समाचारका विषयमा दैनिक पत्रिका बन्द गर्ने धम्की र अदालतबाट समाचार हटाउन जारी अन्तरिम आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले यस्ता गतिविधिलाई प्रेस स्वतन्त्रता र संवैधानिक अधिकारमाथिको हस्तक्षेप भन्दै आपत्ति जनाएको हो ।
महासंघले बुधबार जारी गरेको विज्ञप्तिअनुसार सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य जगदीश खरेलले वैशाख २८ गते संसद् बैठकमा बोल्दै प्रकाशित समाचारको विषयलाई लिएर राजधानी दैनिक पत्रिका बन्द गर्ने चेतावनी दिनुभएको थियो । महासंघले यसलाई असंवैधानिक, निन्दनीय तथा जनप्रतिनिधिलाई नसुहाउने व्यवहारको संज्ञा दिएको छ ।
महासंघले समाचारप्रति असहमति भए कानुनी र संस्थागत प्रक्रियाअन्तर्गत प्रेस काउन्सिल नेपालमार्फत समाधान खोज्नुपर्नेमा जोड दिएको छ । साथै समाचारका आधारमा फौजदारी मुद्दा बनाएर प्रहरीको साइबर ब्युरोमा उजुरी गर्नु पनि आपत्तिजनक भएको महासंघको भनाइ छ ।
यसैबीच, अनलाइन सञ्चारमाध्यम बीमापोष्ट डटकममा प्रकाशित समाचार हटाउन काठमाडौं जिल्ला अदालतबाट अन्तरिम आदेश जारी भएको घटनाप्रति पनि महासंघले चिन्ता व्यक्त गरेको छ ।
महासंघका अनुसार उक्त अनलाइनमा २०८२ चैत २४ र २६ गते प्रकाशित समाचारमा विष्णु अग्रवालबाट भ्याट र भन्सार छली भएको आरोप उल्लेख गरिएको थियो । सो समाचार हटाउन अदालतले सम्पादकका नाममा अन्तरिम आदेश जारी गरेको महासंघको काठमाडौं शाखाले जनाएको छ ।
महासंघले कुनै समाचारप्रति असन्तुष्टि भए त्यसको उजुरी र छानबिन गर्ने अधिकार प्रेस काउन्सिल नेपाललाई रहेको उल्लेख गर्दै विपक्षी पक्षको सुनुवाइ नै नगरी एकतर्फी रूपमा समाचार हटाउने आदेश आउनु चिन्ताजनक भएको बताएको छ ।
महासंघले सम्बन्धित निकायलाई उक्त आदेश पुनर्विचार गर्न तथा प्रेसको संवैधानिक अधिकार संरक्षणमा विशेष ध्यान दिन आग्रह गरेको छ । महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा प्रेस स्वतन्त्रताविरोधी गतिविधि दोहोरिन नदिनसमेत चेतावनी दिइएको छ ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर