गण्डकी । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले पार्टीका तल्लो तहमा रहेर काम गर्ने सदस्यहरूको समस्या सुन्न र समाधान गर्न क्रियाशील सदस्यता अद्यावधिक गर्न लागिएको बताउनुभएको छ ।
नेपाली कांग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानद्वारा पोखरामा आयोजित प्रदेशस्तरीय भेलाको उद्घाटन गर्दै उहाँले पार्टीका सबै सदस्यलाई केन्द्रसँग प्रत्यक्ष रूपमा जोड्न सदस्यता अद्यावधिक प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो । यसले संगठनलाई आमसदस्यको भावना अनुसार अघि बढाउन सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
पार्टीलाई संगठित र एकताबद्ध बनाएर लैजाने प्रयास निरन्तर जारी रहेको उल्लेख गर्दै सभापति थापाले प्रदेश तथा स्थानीय तहमा जिम्मेवारी पाएका सबै सदस्य तथा पदाधिकारीले आफ्नो दायित्व आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले राज्य र नागरिकबीचको सेतुका रूपमा राजनीतिक दल रहने भएकाले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूले पार्टीसँग समन्वय गर्दै जनभावनाअनुसार काम गर्नुपर्ने बताउनुभयो । साथै सरकार संविधान, विधि र पद्धतिअनुसार सञ्चालन हुनुपर्ने र त्यसअनुसार नचले कांग्रेसले निरन्तर खबरदारी गर्ने उहाँको धारणा थियो ।
उक्त अवसरमा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले समाज रूपान्तरणका लागि एकताबद्ध भएर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो । उहाँले लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्दै सरकारलाई सहयोग गर्नुपर्ने धारणा राख्दै लोकतान्त्रिक प्रणाली सुदृढ बनाउन आग्रह गर्नुभयो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ले आफ्नो नेतृत्वको सरकारले गरेका कामबाट कुनै पनि पार्टी सदस्यले शिर निहुराउन नपर्ने बताउनुभयो ।
नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे ले पार्टीलाई तल्लो तहबाटै सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो भने प्रवक्ता देवराज चालिसे ले जनताको मन जित्ने गरी काम गर्न जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभयो ।
नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा ले पार्टीका स्थापनाकालीन मूल्य र आदर्शलाई आत्मसात् गरे पार्टी अझ बलियो हुने बताउनुभयो ।
कार्यक्रममा केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका उपप्रमुख मधु आचार्य लगायतले पनि आफ्ना धारणा राख्नुभएको थियो । भेलामा प्रदेशका विभिन्न तहका पार्टी पदाधिकारी, जनप्रतिनिधि तथा प्रतिनिधिहरू गरी ३८० जनाको सहभागिता रहेको जनाइएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र