काठमाडौं । नेपाल चलचित्र कलाकार संघको यही जेठ ३ गते हुने २१औं साधारणसभा तथा निर्वाचन अधिवेशन नजिकिँदै गर्दा चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको छ । यसैबीच संघको कोषाध्यक्ष पदका उम्मेदवार पवित्रा आचार्यले आफ्नो स्पष्ट दृष्टिकोण, प्रतिबद्धता र भावनात्मक धारणा सार्वजनिक गर्नुभएको छ ।
उहाँले चुनावलाई प्रतिस्पर्धा, रिसराग वा द्वन्द्वको रूपमा नभई ‘स्वच्छ विचारको लडाइँ’ का रूपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । उहाँका अनुसार चुनाव केवल जित–हारको विषयमात्र नभई कलाकारहरूको साझा संस्था र भविष्य निर्माणको प्रक्रिया हो ।
‘चुनाव एउटा प्रक्रियामात्र हो । यसलाई प्रतिस्पर्धा वा व्यक्तिगत द्वन्द्वको रूपमा होइन, स्वच्छ विचारको लडाइँको रूपमा बुझ्न सक्यौं भने चुनावी माहोल साँच्चिकै सुन्दर बन्छ । चुनावपछि पनि हामी यही क्षेत्रमा मिलेर काम गर्नुपर्छ भन्ने कुरा बिर्सनु हुँदैन’, पवित्राले भन्नुभयो ।
संघमा तीन कार्यकालको अनुभवसँगै यसपटक कोषाध्यक्ष पदमा उम्मेदवारी दिनुभएकी आचार्यले संघको आर्थिक पक्षलाई थप पारदर्शी, अनुशासित र दिगो बनाउने आफ्नो मुख्य लक्ष्य रहेको बताउनुभएको छ । कलाकारहरूको हक-हित सुरक्षित गर्दै संघको कोषलाई प्रभावकारी र उत्तरदायी ढंगले सञ्चालन गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ ।
उहाँले आफ्ना प्रमुख एजेन्डाहरू सार्वजनिक गर्दै आर्थिक पारदर्शितालाई पहिलो प्राथमिकतामा राख्नुभएको छ । चलचित्र क्षेत्रसँग सम्बन्धित सम्पूर्ण आय-व्ययलाई स्पष्ट र सबै सरोकारवालाले बुझ्ने गरी सार्वजनिक गर्ने योजना उहाँले अघि सार्नुभएको छ ।
त्यस्तै, नियमित आन्तरिक तथा बाह्य लेखापरीक्षण गराई समयमै प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभएको छ । ‘हरेक आर्थिक गतिविधि पारदर्शी र उत्तरदायी हुनुपर्छ’, उहाँले उल्लेख गर्नुभएको छ ।
चुनावी माहोलले आफूलाई धेरै कुरा सिक्ने अवसर दिएको बताउँदै उहाँले राम्रो र नराम्रो दुवै पक्षलाई नजिकबाट बुझ्ने मौका मिलिरहेको प्रतिक्रिया दिनुभयो । ‘को आफ्नो, को पराइ र कसले कति साथ दिन्छ भन्ने कुरा चुनावले स्पष्ट देखाउँदो रहेछ । यस्ता अनुभवले अझ परिपक्व बनाउँछ’, उहाँले भन्नुभयो । उहाँले चुनावी परिणामलाई सहज रूपमा स्वीकार्दै जुनसुकै परिस्थितिमा पनि कलाकार, कला क्षेत्र र संघको गरिमा बढाउने काममा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
आचार्यले सम्पूर्ण कलाकार तथा मतदातासँग साथ, विश्वास, समर्थनको अपेक्षा राख्दै आफ्नो उम्मेदवारीलाई कलाकार हित र संस्थागत सुशासनको अभियानका रूपमा लिन आग्रह गर्नुभएको छ ।
नेपाली रजतपटमा चलचित्र ‘विजयपथ’मार्फत पाइला चाल्नुभएकी अभिनेत्री पवित्रा पछिल्लो समय सानो पर्दा र म्युजिक भिडियो क्षेत्रमा व्यस्त हुनुहुन्छ । चलचित्र अभिनयमा देखिनुभएकी उहाँ यसबीचमा कोरियोग्राफी/निर्देशनमा आफूलाई सक्रिय राख्दै आउनुभएको छ ।
चलचित्र ‘विजयपथ’पछि पवित्राले ‘महानायक’ राजेश हमालसँग चलचित्र ‘राजनीति’मा अभिनय गर्नुभएको थियो । सो चलचित्रबाट गायिका कोमल वलीले पनि ठूलो पर्दामा अभिनयमा डेब्यु गर्नुभएको थियो । त्यसपछि आचार्यले आर्यन सिग्देल अभिनित ‘आवेग’मा समेत अभिनय गर्ने अवसर पाउनुभयो । नृत्यमा सानैदेखि रुचि राख्ने आचार्यले अभिनयसँगै आफ्नो रुचिलाई जीवित राख्दै कोरियोग्राफरको रूपमा पनि आफूलाई स्थापित गर्नुभयो । सन् २०७० को प्रारम्भबाट उहाँले कोरियोग्राफीमा सक्रियता बढाउँदै जानुभएको थियो । कोमल वलीको तीज गीतमार्फत उहाँले कोरियोग्राफरको रूपमा डेब्यु गर्नुभएको हो । त्यसयता उहाँले करिश्मा मानन्धर, अनुपविक्रम शाही, आँचल शर्मा, सलोन बस्नेत, अनु शाह, नीता ढुंगानालगायत चर्चित कलाकारलाई निर्देशन गरिसक्नुभएको छ ।
चलचित्र ‘कमाण्डर’ र ‘मेला’मा पनि उहाँले नृत्य निर्देशन गर्नुभएको छ । मोडलिङमा समेत आफूलाई स्थापित गर्नुभएकी उहाँ अहिले ‘पावला’ नामले चिनिनुहुन्छ । यही नामबाट उहाँले एक अन्तर्राष्ट्रिय स्वाद बोकेको गीतको भिडियो निर्देशन तथा कोरियोग्राफीसमेत गर्नुभएको छ ।
कलाकार पवित्रा आचार्य हाल नेपाल चलचित्र कलाकार संघको केन्द्रीय सह–कोषाध्यक्षसमेत रहनुभएको छ । उहाँ सामाजिक क्षेत्रमा सक्रिय हुनुहुन्छ भने उहाँले काठमाडौंका वृद्धाश्रम तथा बालआश्रममा निरन्तर सहयोग पुर्याउँदै आइरहनुभएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र