काठमाडौं । झण्डै एक दशकपछि चीनको औपचारिक भ्रमणमा पुग्नुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बिहीबार बेइजिङमा महत्त्वपूर्ण वार्ता भएको छ । विश्वका दुई ठूला शक्ति राष्ट्रका नेताहरूको यो भेटलाई निकै चासोका साथ हेरिएको छ । वार्ताको सुरुवातमै चिनियाँ राष्ट्रपति सीले ताइवान मामिलालाई लिएर अमेरिकालाई कडा चेतावनी दिनुभएको छ । १७ जना ठूला अमेरिकी कम्पनीका प्रमुखहरूसहित बेइजिङ पुग्नुभएका ट्रम्पले व्यापार, प्रविधि र इरान युद्धका विषयमा चिनियाँ समकक्षीसँग गम्भीर छलफल गरिरहनु भएको छ ।
बिहीबार मध्यबेइजिङको ग्रेट हल अफ द पिपलमा स्वागत समारोहपछि दुई नेताबीच झण्डै साढे दुई घण्टा कुराकानी भयो । चिनियाँ सरकारी समाचार संस्थाका अनुसार यसैक्रममा सीले ट्रम्पलाई ताइवानको मुद्दा चीन र अमेरिका सम्बन्धको सबैभन्दा संवेदनशील र महत्त्वपूर्ण विषय भएको बताउनुभएको थियो । ताइवानलाई लिएर गलत कदम चालिएमा दुई देशबीच ठूलो द्वन्द्व हुनसक्ने र यसले समग्र सम्बन्धलाई नै अत्यन्तै खतरनाक स्थितिमा धकेल्ने चेतावनी सीले दिनुभएको छ ।
पछिल्लो समय अमेरिकाले ताइवानलाई सैन्य हतियार दिन लागेको भन्दै चीन निकै असन्तुष्ट छ । चीनले ताइवानलाई आफ्नै देशको अभिन्न भाग मान्छ । त्यसैले अमेरिकाले ताइवानको स्वतन्त्रतालाई समर्थन गर्दैन भन्ने कुरा प्रष्ट पारोस् भन्ने चीनको चाहना छ । यस्तो कडा चेतावनीका बाबजुद पनि ट्रम्पले सीलाई महान् नेताको संज्ञा दिँदै वार्ता निकै भव्य र राम्रो भएको प्रतिक्रिया दिनुभएको छ । वार्ता सकेर टेम्पल अफ हेभनको भ्रमणका क्रममा पत्रकारहरूले ताइवानबारे प्रश्न गर्दा ट्रम्पले कुनै वास्ता गर्नुभएन । अमेरिकी पक्षले यसबारे आधिकारिक रूपमा केही बोलेको छैन । उता, ताइवानले भने चीन र अमेरिकाबीच हुने हरेक संवादमा ताइवान मुख्य मुद्दा बन्ने गरेको बताएको छ । ताइवानका एक अधिकारीले चीनले जलडमरु क्षेत्रमा गरिरहेको सैन्य दबाब रोक्नुपर्ने भन्दै अमेरिकासँग आफूहरू नजिकको सम्पर्कमा रहने बताएका छन् ।
व्यापार र प्रविधिमा चर्को प्रतिस्पर्धा
यस भ्रमणमा व्यापार र प्रविधि अर्को मुख्य एजेण्डा हो । अमेरिका र चीनबीच प्रविधिको क्षेत्रमा निकै ठूलो प्रतिस्पर्धा चलिरहेको छ । अमेरिकाले आफ्ना सवारीसाधन र हवाई उद्योगका लागि आवश्यक पर्ने दुर्लभ धातु चीनबाट बिना कुनै अवरोध पाउन चाहन्छ । अर्कोतर्फ चीन भने अमेरिकाले चिप्स र प्रविधि उपकरणमा लगाएको कडा प्रतिबन्ध खुकुलो पारोस् भन्ने चाहन्छ । गत अक्टोबरमा दुई देशबीच भएको व्यापार सम्झौताको म्याद आउँदो नोभेम्बरमा सकिँदै छ । सम्झौतामा भएको ढिलाइले दुई देशबीच तनाव बढाएको थियो । त्यसैले यसपटक चीनले अमेरिकाबाट बोइङ जहाज, भटमास र मासु लगायतका सामान धेरै किन्ने संकेत दिनसक्ने अपेक्षा गरिएको छ । साथै भविष्यमा व्यापार बढाउन नयाँ लगानी र व्यापार बोर्ड गठन गर्ने विषयमा पनि छलफल हुनेछ ।
यस भ्रमणलाई व्यापारिक दृष्टिकोणले पनि निकै महत्त्वका साथ हेरिएको छ । राष्ट्रपति ट्रम्पको टोलीमा प्रविधि र व्यापार क्षेत्रका दिग्गज हस्तीहरू समावेश छन् । एप्पलका टिम कुक, टेस्ला तथा स्पेसएक्सका इलोन मस्क र ब्ल्याकरकका ल्यारी फिंक यस टोलीमा हुनुहुन्छ । त्यस्तै, मेटाकी डिना पावल मकोर्मिक, बोइङका केली ओर्ट्बर्ग, भिजाका र्यान मकिनर्नी, ब्ल्याकस्टोनका स्टिभन श्वार्ज्मन, कार्गिलका ब्रायन साइक्स, सिटीकी जेन फ्रेजर, कोहरन्टका जिम एन्डर्सन, जीई एअरोस्पेसका हेनरी लरेन्ट कल्प, गोल्डमन स्याक्सका डेभिड सोलोमन, इलयुमिनाका याकोब टेसेन र मास्टरकार्डका माइकल मिबाख जस्ता ठूला कम्पनीका प्रमुखहरू ट्रम्पसँगै बेइजिङ पुग्नुभएको छ ।
कृत्रिम बौद्धिकता र चिप्स निर्माणमा अगाडि रहेको कम्पनी एन्भिडिआका प्रमुख जेन्सन ह्वाङ पनि अलास्कामा इन्धन भर्ने क्रममा ट्रम्पको टोलीमा मिसिनुभएको छ । चीनले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै सन् २०२३ मा प्रतिबन्ध लगाएको अमेरिकी चिप्स कम्पनी माइक्रोनका प्रमुख सञ्जय मेहरोत्रा पनि यो टोलीमा हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यति धेरै क्षेत्रका प्रमुखहरू एकैसाथ चीन पुग्नुले अमेरिका प्रविधि, हार्डवेयर र अर्थतन्त्रका कुरामा चीनसँग स्पष्ट व्यापारिक बाटो तय गर्न चाहन्छ भन्ने देखाउँछ ।
इरान युद्धको प्रभाव
ट्रम्पको यो चीन भ्रमण गत मार्च महिनामै हुने तय थियो । तर, इरान युद्धका कारण यो भ्रमण ढिलो हुन पुग्यो । यस भेटमा ट्रम्पले इरान युद्ध रोक्नका लागि इरानलाई दबाब दिन चीनसँग आग्रह गर्ने अनुमान गरिएको छ । चीनले इरानबाट सस्तोमा तेल किन्दै आएको छ । युद्धका कारण तेलको आपूर्तिमा समस्या हुँदा विश्वभरका देशहरूको सामान किन्ने क्षमता घटेको छ, जसले चिनियाँ सामानको निर्यातमा पनि असर गरेको छ । त्यसैले चीन पनि यो युद्ध छिटो सकियोस् भन्ने पक्षमा छ । यद्यपि, आफ्नै देशमा रहेका ऊर्जाका स्रोतहरूका कारण चीनलाई युद्धले अन्य देशलाई जस्तो धेरै असर भने गरेको छैन । यसका साथै एसियामा ग्यास र तेल ढुवानीको प्रमुख मार्ग होर्मुज जलमार्गको सुरक्षाको विषयमा पनि कुराकानी हुनेछ ।
बेइजिङमा चीनले दिएको राजकीय भोजमा बोल्दै ट्रम्पले अमेरिका र चीनबीचको सम्बन्धले विश्वलाई नै ठूलो प्रभाव पार्ने बताउनुभएको छ । उहाँले चिनियाँ राष्ट्रपति सीलाई आउँदो असोज ८ गते अर्थात् सन् २०२६ को सेप्टेम्बर २४ मा अमेरिका भ्रमणको औपचारिक निम्तोसमेत दिनुभएको छ । दुई दिनसम्म चल्ने यो महत्त्वपूर्ण शिखर सम्मेलन (आज) शुक्रबार सकिँदै छ । यस वार्तामा हुने साना सहमति वा असमझदारीले पनि आगामी दिनमा विश्वको अर्थतन्त्र, प्रविधि विकास र क्षेत्रीय सुरक्षामा कस्तो असर पार्छ भन्ने कुराको निर्धारण गर्नेछ ।
(अन्तर्राष्ट्रिय सञ्चार माध्यमको सहयोगमा)







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र