हामीमध्ये धेरैलाई लाग्नसक्छ महाभारत केवल हिन्दु धर्माबलम्बीहरूको धार्मिक ग्रन्थ हो । अथवा यो एउटा रक्तपातपूर्ण युद्धको कहालीलाग्दो काहानी हो तर महाभारत केवल युद्धको कथा होइन, सत्ता, नैतिक मूल्यमान्यता, मानवचरित्र र नेतृत्वको गहिरो दार्शनिक दस्ताबेज पनि हो । त्यसैले त्यस ग्रन्थभित्रका प्रत्येक पात्रले कुनै न कुनै महत्त्वपूर्ण युगीन सन्देश बोकेका छन् । ती पात्रहरूमध्ये गान्धारी एक अत्यन्त जटिल, गम्भीर महिला पात्र हुन् । यस कुरामा कसैको दुई मत छैन । उनी विदुषी थिइन्, दूरदर्शी थिइन्, नैतिक चेतनाले भरिएकी महिला थिइन् तर यस्तो नैतिक चेतनाले भरिएकी विदुषी महिलालाई इतिहासले एउटा प्रश्नको घेराभित्र सधैं राखिरह्यो । यदि गान्धारीले आफ्ना आँखामा पट्टी नबाँधेको भए के महाभारतको इतिहास फरक हुन्थ्यो ? के अनगिन्ती मानिसहरूले अनाहकमा युद्धमा ज्यान गुमाउनु पर्दैनथ्यो ?
आज नेपाललाई आँखामा पट्टी बाँध्ने, आफ्नै धुनमा मनमगन, मस्त अनि मौन रहने आमा होइन, स्पष्ट दृष्टि राख्ने नेतृत्व चाहिएको छ । किनकि इतिहासले बारम्बार प्रमाणित गरेको छ जब सक्षम व्यक्तिहरू सम्बन्ध बचाउन वा पद जोगाउन आँखामा प्रतीकात्मक पट्टी बाँध्छन् र मौन हुन्छन् तब दुर्योधन जस्ता प्रवृत्तिहरू जन्मिन्छन्, हुर्किन्छन र सजिलै नेतृत्वमा पुग्छन् ।
गान्धारीका पति धृतराष्ट्र अन्धा थिए तर उनी अन्धी थिइनन् । उनले आफ्नै इच्छाले आँखामा पट्टी बाँधिन् । धेरैले यसलाई पतिप्रतिको समर्पण र आदर्श नारीत्वको प्रतीकका रूपमा व्याख्या गरे तर नेतृत्व र महिला सशक्तीकरणको दृष्टिकोणबाट हेर्दा यो केवल त्यागको कथामात्र होइन, मौनताको पनि कथा हो । एउटा सक्षम महिला स्वयंले आफ्नो दृष्टि बन्द गर्दा केवल उनले संसार देख्न छोडिनन्, अन्यायमाथि निगरानी गर्ने एउटा सम्भावित नैतिक शक्ति पनि दृष्टिविहीन र कमजोर भयो । उनले मनका आँखाले दुर्योधनको अहंकार, शकुनिको कुटिलता, द्रौपदीमाथिको अपमान दरबारभित्रका धेरै अन्यायको विरुद्ध आवाज उठाउन सकिनन् । सही र गलतबीचको फरक छुट्याएर गरिने एउटा प्रश्नले सदासदाका लागि आँखा चिम्लियो ।
आमाका रूपमा यदि गान्धारीले आफ्नो दृष्टि बन्द नगरेकी भए सायद दुर्योधन केवल शक्ति र अहंकारको प्रतीक बन्ने थिएन । सायद दुर्योधनलाई पनि न्याय, करुणा र अहंकारबीचको फरक थाहा हुनेथियो । एउटी आमाको सक्रिय निगरानी, नैतिक शिक्षा र दृढ हस्तक्षेपले उसको चरित्र फरक दिशामा जान सक्थ्यो तर उनको यही मौनतापछि महाभारतको विनाशकारी युद्धको कारण बन्यो । त्यसैले गान्धारीको चरित्रले एउटा गहिरो प्रश्न उठाउँछ, के एउटा सक्षम व्यक्तिको मौनताले समाजमा असक्षम र विनाशकारी नेतृत्व जन्माउँछ ?
सशक्त हुनु केवल शिक्षित वा सक्षम हुनुमात्र होइन, आवश्यक समयमा सत्यको पक्षमा उभिन सक्ने साहस राख्नु पनि हो । गान्धारीमा क्षमता थियो, विवेक थियो, नैतिकदृष्टि थियो तर इतिहासले उनलाई एउटा मौनपात्रका रूपमा सम्झिन्छ । त्यसैले आजको महिला नेतृत्वले गान्धारीबाट केवल त्याग होइन, मौनताको परिणामबाट पनि केही कुराहरू सिक्नुपर्दछ । राजनीति केवल खराब मानिसहरूले बिगार्दैनन्, सही समयमा सही आवाज नउठाउनेहरूले पनि बिगार्छ् ।
आज नेपालको राजनीतिलाई हेर्दा गान्धारीको प्रतीक सान्दर्भिक देखिन्छ । यहाँ पनि धेरै सक्षम, शिक्षित र अनुभवी व्यक्तिहरू सत्ता, गुट वा व्यक्तिगत स्वार्थ र सम्बन्धको कारण मौन देखिन्छन् । उनीहरू अन्याय देख्छन्, भ्रष्टाचार महसुस गर्छन्, लोकतान्त्रिक मूल्य कमजोर भइरहेको बुझ्छन् तर समयमै स्पष्ट आवाज उठाउँदैनन् । परिणामस्वरूप गलत प्रवृत्तिहरू बलियो हुँदै जान्छन् र अन्ततः त्यसको मूल्य राष्ट्रले चुकाउनुपर्छ ।
नेतृत्वको न्यायिक दृष्टिकोणले हेर्दा कहिलेकाहिँ अन्यायमा प्रत्यक्ष सहभागी हुनुभन्दा खतरनाक कुरा अन्याय देखेर पनि मौन बस्नु हो । नेपालको राजनीतिमा आज सबैभन्दा ठूलो संकट केवल खराब नेतृत्वको होइन, राम्रो मानिसहरूको मौनताको पनि हो । हिजो आज नेपालीलोक माझ एउटा शब्द चर्चित भएको छ ‘आमा’ । आज नेपाललाई आँखामा पट्टी बाँध्ने, आफ्नै धुनमा मनमगन, मस्त अनि मौन रहने आमा होइन, स्पष्ट दृष्टि राख्ने नेतृत्व चाहिएको छ । किनकि इतिहासले बारम्बार प्रमाणित गरेको छ जब सक्षम व्यक्तिहरू सम्बन्ध बचाउन वा पद जोगाउन आँखामा प्रतीकात्मक पट्टी बाँध्छन् र मौन हुन्छन् तब दुर्योधन जस्ता प्रवृत्तिहरू जन्मिन्छन्, हुर्किन्छन र सजिलै नेतृत्वमा पुग्छन् । अन्ततः मौनताको मूल्य र अनुत्तरित प्रश्नले पूरा राष्ट्रले फेरि अर्को महाभारत भोग्नु नपरोस् ।
सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया.....!!! चितवन ।
(गौतम नेपाली कांग्रेस बागमती प्रदेश कार्यसम्पादन सदस्य हुनुहुन्छ ।)







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र