काठमाडाैँ । काठमाडौँको व्यस्ततालाई पछि छोड्दै सुर्खेतका लागि उडान भर्दा मनमा एउटा छुट्टै उत्साह थियो। यो केवल एउटा यात्रा मात्र थिएन, कर्णालीको भूगोल, संस्कृति र त्यहाँका मानिसहरूको सादगीसँग साक्षात्कार गर्ने अवसर पनि थियो । सुर्खेत विमानस्थलमा ओर्लिएपछि हाम्रो वास्तविक सडक यात्रा सुरु भयो ।
सुर्खेतबाट जीपमा हुइँकिँदै अघि बढ्दा गुराँसेको चिसो हावाले स्वागत गर्यो। त्यहाँको प्रख्यात सेलरोटी र तातो चियाको स्वादले यात्राको थकान मेटायो । रातिको करिब १० बजे हामी दैलेख र कालिकोटको सीमाना नजिक रहेको राकम पुग्यौँ । कर्णाली नदीको सुसाइसँगै खाइएको स्थानीय माछाको झोल र भातको स्वाद अझै पनि जिब्रोमै झुन्डिएको छ। त्यो सादगीपूर्ण खानामा जुन मिठास थियो, त्यो सहरका महँगा होटलहरूमा विरलै पाइन्छ ।

भोलिपल्ट बिहान सात बजे हाम्रो यात्रा जुम्लातर्फ मोडियो । तलतिर हल्का धमिलो कर्णाली बगिरहेको थियो भने हामी साँघुरो पहाडी बाटो हुँदै अघि बढिरहेका थियौँ । बाटोमा हुम्ला कर्णाली र जुम्ला कर्णालीको संगमस्थल देखियो- दुई विशाल नदी मिसिएको त्यो दृश्य साँच्चै अद्भुत र मनमोहक थियो । पहाड खोपेर बनाइएको बाटो बिस्तारै उकालो लाग्दै कालिकोटको मान्मा पुग्यो ।
कालिकोटको सदरमुकाम मान्मा पुग्दा बिहानको ९ बजिसकेको थियो। त्यहाँको तातो अण्डा, चिया र चनाको तरकारीले हामीलाई थप ऊर्जा दियो । अब कर्णाली नदी साँघुरो हुँदै गए पनि पानी झन् कञ्चन देखिन्थ्यो । कालोपत्रे सडक पछ्याउँदै डाँडा–पाखा नियाल्दै करिब ११:३० बजे हामी नाग्माघाट पुग्यौँ, जहाँबाट एउटा बाटो मुगुको रारा तालतर्फ जान्छ भने अर्को जुम्लातर्फ ।
त्यसपछि बाटोमा गाडीहरू कम हुँदै गए र परिदृश्य पनि फेरिन थाल्यो । थाहै नपाई कर्णाली अब तिला नदीमा रूपान्तरित भइसकेकी थिई । तिला नदीको किनारैकिनार, जुम्ली मार्सी धानका फाँट र स्याउका बगैँचाहरू छिचोल्दै जाँदा जुम्लाको सौन्दर्यले शब्दलाई नै सानो बनाइदियो । यात्राका क्रममा सुनिल सरले सुनाउनुहुने ठट्टा र रमाइला प्रसङ्गहरूले बाटो काटेको पत्तै भएन। जुम्लाको खलङ्गामा पुगेर खाइएको मार्सी चामलको भात र खसीको मासुको स्वाद त झन् बयान गरी साध्य नै छैन ।
बाटोमा हुम्ला कर्णाली र जुम्ला कर्णालीको संगमस्थल देखियो- दुई विशाल नदी मिसिएको त्यो दृश्य साँच्चै अद्भुत र मनमोहक थियो । पहाड खोपेर बनाइएको बाटो बिस्तारै उकालो लाग्दै कालिकोटको मान्मा पुग्यो ।
जुम्लाको खलङ्गाबाट पुनः हाम्रो यात्रा सुरु भयो। बाटोमा भेटिएको गुठीचौरको दृश्यले हामीलाई स्तब्ध बनायो। लाग्थ्यो, सायद नेपालकै सबैभन्दा सुन्दर ठाउँ यही हो र आजसम्म किन नदेखिएको होला ! तीन घण्टाको जीप यात्रापछि हामी करिब ४,००० मिटर उचाइमा रहेको माहुरेपास पुग्यौँ। त्यहाँबाट डोल्पा जिल्लाको सीमा सुरु हुन्छ । रातिको ७:३० बजे हामी जगदुल्ला गाउँपालिकाको कार्यालय पुग्दा चारैतिर शान्त र शीतल वातावरण थियो। त्यो रात हामी होमस्टेमा बस्यौँ, जहाँको स्थानीयपनले मनै लोभ्यायो ।
भोलिपल्टदेखि हाम्रो मुख्य उद्देश्य-पाँच दिने आइसीटि तालिम-सुरु भयो । डोल्पाका शिक्षक–शिक्षिकाहरूको सिक्ने उत्साह देख्दा हामी दङ्ग पर्यौँ। दुर्गम भूगोल भए पनि उहाँहरूमा रहेको ज्ञान र प्रविधिप्रतिको चासोले हामीलाई अत्यन्त प्रेरित बनायो। तालिमका दिनहरू ज्ञान बाँड्ने मात्र नभई सिक्ने माध्यम पनि बने । गाउँपालिकाका कर्मचारीहरूको सहयोगी व्यवहारले हाम्रो बसाइलाई अझ सहज बनाइदियो ।

जगदुल्लाको बिहान निकै लोभलाग्दो हुने रहेछ। चारैतिर हिमालले घेरिएको यो गाउँपालिकामा बिहानै नुनिलो भोटे चिया पिउँदै ‘मर्निङ वाक’ गर्नुको मज्जा नै बेग्लै थियो । जगदुल्ला खोलाको कञ्चन पानीको आवाजले मनलाई एक प्रकारको ध्यानमा पुर्याउँथ्यो । मकैको रोटी, ढिँडो, सिस्नुको तरकारी र फापरको साग—होमस्टेका दाइ–भाउजूले बनाइदिनुहुने यी परिकारहरूले मन जिते । हामी करिब ३,००० मिटर उचाइमा रहेको माझ गाउँमा, गाउँपालिका भवन नजिकै बसेका थियौँ ।
डोल्पाको प्राकृतिक सौन्दर्यभन्दा पनि सुन्दर त्यहाँका मानिसहरूको मन लाग्यो। बाटोमा भेटिने जोकोही होऊन् वा तालिममा सहभागी साथीहरू—सबैमा असाध्यै सहयोगी र आत्मीय भावना पाइयो । कठोर भूगोलमा बस्ने मानिसहरूको मन यति नरम र व्यवहार यति शालीन हुन्छ भन्ने कुरा डोल्पा पुगेपछि मात्र महसुस गर्न सकिन्छ । पाहुनालाई देवता समान मान्ने उनीहरूको संस्कारले यात्राका सबै थकान मेटाइदियो ।
सुर्खेतदेखि डोल्पाको जगदुल्लासम्मको यो यात्रा केवल दूरीका हिसाबले मात्र लामो थिएन, अनुभवका हिसाबले पनि अत्यन्त गहिरो थियो। कर्णालीको कठोर भूगोल, त्यहाँका मानिसहरूको सरल जीवनशैली र प्रकृतिको अपार सौन्दर्यले सिकाएको पाठ सधैँ मानसपटलमा ताजा रहनेछ।
त्यहाँका स्थानीय बासिन्दाहरूबाट यार्सागुम्बा सङ्कलनका लागि जाने बाटाहरू, जंगलमा पाइने बहुमूल्य जडीबुटीहरू—जस्तै पाँचऔँले, जटामसी र गुच्छी च्याउ—का बारेमा सुन्दा यो ठाउँ प्रकृतिको वरदान नै रहेछ भन्ने महसुस भयो । यहाँको मुख्य बाली मकै, कोदो र फापर रहेछन् भने च्याङ्ग्रा, चौँरी र खसी–बाख्रा पालन जीविकोपार्जनको मुख्य आधार रहेछ। लामो खोजीपछि भेटिएको दूध चियाको स्वादले डोल्पाको बसाइलाई झन् अविस्मरणीय बनायो ।
फर्किने दिन प्रकृतिले अर्कै रूप देखायो। बिहानैदेखि हिमपात सुरु भयो। माहुरेपास पुग्दा त पूरा बाटो हिउँले ढाकिएको थियो। गाडी चिप्लिने डरले मुटु ढक्क फुले पनि चालकको कुशलताले हामी सुरक्षित रूपमा तल झर्न सफल भयौँ । त्यो यात्राले डोल्पा नजिक र आत्मीय रहेछ, त्यहाँका मानिस मेहनती र स्वस्थ रहेछन् भन्ने अनुभूति दिलायो। हामीले बनाएको धारणा भन्दा डोल्पा धेरै फरक र सुन्दर रहेछ भन्ने कुरा यात्रा सँगै रहेका सगुन सर र सुनिल सरलाई पनि महसुस भयो ।

पुनः जुम्लाको खलङ्गामा खाना खाएर हामी सुर्खेततर्फ लाग्यौँ। राकममा फेरि त्यही स्थानीय माछाको झोल र चिउराको खाजा खाइयो । राति ९ बजेतिर गुराँसे पुगेर खाना सकेपछि ११ बजे सुर्खेतको सिद्धार्थ होटल पुग्दा यात्राको एउटा ठूलो हिस्सा सकिएको अनुभूति भयो ।
अन्तिम दिन सुर्खेतबाट काठमाडौँको उडान नपाउँदा हामी कारमार्फत बर्दिया हुँदै बाँकेको नेपालगन्ज पुग्यौँ। नेपालगन्जबाट हवाईजहाजमार्फत काठमाडौँ अवतरण गरेसँगै हाम्रो करिब सात जिल्लाको वृहत् यात्रा सम्पन्न भयो ।
सुर्खेतदेखि डोल्पाको जगदुल्लासम्मको यो यात्रा केवल दूरीका हिसाबले मात्र लामो थिएन, अनुभवका हिसाबले पनि अत्यन्त गहिरो थियो। कर्णालीको कठोर भूगोल, त्यहाँका मानिसहरूको सरल जीवनशैली र प्रकृतिको अपार सौन्दर्यले सिकाएको पाठ सधैँ मानसपटलमा ताजा रहनेछ। यो यात्रा केवल गन्तव्यसम्म पुग्ने यात्रा थिएन, यो त आफूलाई प्रकृति, संस्कृति र मानवीय आत्मीयतासँग पुनः जोड्ने एक अनुपम अनुभूति थियो ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…