काठमाडौं । चालु आर्थिक वर्षको दस महिनासम्म आइपुग्दा सरकारको कुल बजेट खर्च वार्षिक विनियोजनको करिब ६० प्रतिशत पुगेको छ । तर, विकास निर्माणसँग प्रत्यक्ष जोडिएको पुँजीगत खर्च भने अझै ३० प्रतिशतसमेत कट्न सकेको छैन । राजस्व संकलन पनि लक्ष्यअनुसार हुन नसक्दा सरकारी वित्त व्यवस्थापनमाथि थप दबाब देखिएको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार वैशाख मसान्तसम्म सरकारले कुल ११ खर्ब ७३ अर्ब ५२ करोड खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याइएकामा हालसम्म ५९ दशमलब ७५ प्रतिशत खर्च भएको हो ।
आयातमा कमी, आर्थिक गतिविधिमा सुस्तता तथा उपभोग घटेकाले राजस्व प्रभावित भएको अर्थविद्हरूको विश्लेषण छ ।
सरकारी तथ्यांकअनुसार सबैभन्दा धेरै खर्च चालु शीर्षकमा भएको छ । चालुतर्फ विनियोजित ११ खर्ब ८० अर्ब ९८ करोडमध्ये वैशाख मसान्तसम्म आठ खर्ब १४ अर्ब ६५ करोड खर्च भएको छ, जुन कुल विनियोजनको ६८ दशमलब ९८ प्रतिशत हो । तलब, भत्ता, सामाजिक सुरक्षा, प्रशासनिक सञ्चालन र नियमित सरकारी दायित्वका कारण चालु खर्च उच्च देखिएको हो ।
तर, विकास आयोजना कार्यान्वयनको सूचक मानिने पुँजीगत खर्च भने निराशाजनक अवस्थामै छ । चालु आवका लागि पुँजीगततर्फ चार खर्ब सात अर्ब ८८ करोड ८० लाख विनियोजन गरिएकामा हालसम्म एक खर्ब १३ अर्ब ८४ करोडमात्रै खर्च भएको छ । यो कुल विनियोजनको २७ दशमलब ९१ प्रतिशत हो । आर्थिक वर्ष सकिन अब दुई महिना बाँकी रहँदा पनि पुँजीगत खर्च एक तिहाइसमेत नपुग्नुले विकास आयोजनाको कार्यान्वयन क्षमता कमजोर रहेको संकेत गरेको छ ।
वित्तीय व्यवस्थातर्फ भने खर्च अपेक्षाकृत उच्च देखिएको छ । यो शीर्षकमा विनियोजित तीन खर्ब ७५ अर्ब २४ करोड रुपैयाँमध्ये हालसम्म दुई खर्ब ४५ अर्ब एक करोड खर्च भएको छ, जुन ६५ दशमलब ३० प्रतिशत हो ।
उता आम्दानीतर्फ पनि सरकार लक्ष्यभन्दा पछाडि परेको छ । चालु आर्थिक वर्षका लागि सरकारले कुल १५ खर्ब ३३ अर्ब ४४ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको थियो । तर, वैशाख मसान्तसम्म जम्मा १० खर्ब १२ अर्ब पाँच करोडमात्रै संकलन भएको छ, जुन वार्षिक लक्ष्यको ६६ प्रतिशत हो ।
राजस्व संकलनमा पनि अपेक्षित सुधार आउन सकेको छैन । सरकारले चालु आवमा १४ खर्ब ८० अर्ब राजस्व उठाउने लक्ष्य राखे पनि पछिल्ला दस महिनामा नौ खर्ब ८८ अर्ब ५५ करोडमात्रै असुली भएको छ । यो वार्षिक लक्ष्यको ६६ दशमलब ६९ प्रतिशतमात्र हो । आयातमा कमी, आर्थिक गतिविधिमा सुस्तता तथा उपभोग घटेकाले राजस्व प्रभावित भएको अर्थविद्हरूको विश्लेषण छ ।
वैदेशिक अनुदान प्राप्ति झन् कमजोर देखिएको छ । सरकारले चालु आवमा ५३ अर्ब ४४ करोड वैदेशिक अनुदान प्राप्त गर्ने लक्ष्य राखेको थियो । तर, वैशाख मसान्तसम्म १७ अर्ब ७८ करोडमात्रै अनुदान प्राप्त भएको छ, जुन लक्ष्यको ३३ दशमलब २८ प्रतिशत हो ।
आर्थिक वर्ष समाप्त हुन दुई महिनामात्रै बाँकी रहँदा खर्च बढाउने चाप सरकारमाथि बढेको छ । विशेषगरी पुँजीगत खर्च अन्तिम समयमा हतारमा गर्ने पुरानै प्रवृत्ति दोहोरिने चिन्ता पनि बढेको छ । अर्थविद्हरूले बजेट कार्यान्वयन क्षमता सुधार नगरेसम्म आर्थिक वृद्धिदर र विकास लक्ष्य प्रभावित भइरहने बताएका छन् ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर