काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक गर्दै विद्यमान अधिकांश व्यवस्थालाई यथावत् राखेको छ । अर्थतन्त्रमा बाह्य क्षेत्र सुदृढ, मुद्रास्फीति नियन्त्रणमा तथा आर्थिक वृद्धि अपेक्षाकृत कमजोर रहेको अवस्थालाई मध्यनजर गर्दै राष्ट्र बैंकले लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिएको जनाएको छ ।
राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन तथा ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइने स्थायी निक्षेप सुविधासम्बन्धी व्यवस्थाको पुनरवलोकन गर्ने घोषणा गरेको छ । यद्यपि, बैंकदर, अनिवार्य नगद मौज्दात (सिआरआर), वैधानिक तरलता अनुपात (एसएलआर) तथा ब्याजदर करिडोरसम्बन्धी विद्यमान व्यवस्थामा भने कुनै उल्लेखनीय परिवर्तन गरिएको छैन ।
बाह्य क्षेत्र सहज तर पश्चिम एसियाको तनाव चुनौती
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको नौ महिनासम्म विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको छ । विप्रेषण वृद्धिसँगै चालु खाता, शोधनान्तर स्थिति तथा विदेशी मुद्रा सञ्चितिसमेत मजबुत बनेको छ । यसले बाह्य क्षेत्रलाई सहज अवस्थामा राखेको राष्ट्र बैंकको निष्कर्ष छ ।
तर, नेपालमा करिब ४० प्रतिशत विप्रेषण पश्चिम एसियाली मुलुकबाट आउने भएकाले उक्त क्षेत्रमा जारी युद्ध र तनावले भविष्यमा विप्रेषण आप्रवाह प्रभावित हुन सक्ने जोखिम औंल्याइएको छ । त्यस्तै, पेट्रोलियम पदार्थ तथा आयातित वस्तुको मूल्यवृद्धिका कारण व्यापार घाटा बढ्ने र विदेशी विनिमय सञ्चितिमा दबाब पर्न सक्ने सम्भावनातर्फ पनि राष्ट्र बैंकले सचेत गराएको छ । यद्यपि, हालको विदेशी मुद्रा सञ्चितिले आयात धान्ने क्षमता राष्ट्र बैंकले तय गरेको न्यूनतम लक्ष्यभन्दा माथि रहने प्रक्षेपण गरिएको छ ।
मुद्रास्फीति लक्ष्यभित्रै रहने अनुमान
राष्ट्र बैंकले उपभोक्ता मुद्रास्फीति लक्ष्यभन्दा न्यून रहेको जनाएको छ । विश्वव्यापी भूराजनीतिक तनावका कारण आपूर्ति प्रणालीमा अवरोध आउन सक्ने तथा त्यसले मुद्रास्फीतिमा दबाब सिर्जना गर्न सक्ने जोखिम रहेको उल्लेख गरिएको छ । विशेषगरी पश्चिम एसियामा युद्ध सुरु भएयता पेट्रोलियम पदार्थ, उद्योगका कच्चा पदार्थ तथा केही उपभोग्य वस्तुको आपूर्ति शृंखला प्रभावित भएको राष्ट्र बैंकको भनाइ छ । यद्यपि, हालको अवस्था हेर्दा उपभोक्ता मुद्रास्फीति लक्षित सीमाभित्रै रहने प्रक्षेपण गरिएको छ ।
निष्क्रिय कर्जा केही बढ्यो, सुधारको अपेक्षा
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा सामान्य रूपमा बढेको छ । तर, आर्थिक गतिविधिमा क्रमशः सुधार आउँदै गएकाले आगामी दिनमा खराब कर्जा घट्दै जाने अपेक्षा गरिएको छ । २०८२ चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको प्राथमिक पुँजी तथा पुँजीकोषको जोखिम भारित सम्पत्तिसँगको अनुपात नियामकीय मापदण्डभित्रै रहेको राष्ट्र बैंकले जनाएको छ । यसले वित्तीय प्रणाली समग्रमा स्थिर रहेको संकेत गर्ने राष्ट्र बैंकको ठहर छ ।
दीर्घकालीन अधिक तरलताप्रति राष्ट्र बैंक सचेत
राष्ट्र बैंकले विगत तीन वर्षदेखि वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था कायम रहेको उल्लेख गर्दै त्यसबाट समष्टिगत आर्थिक परिसूचकमा पर्न सक्ने प्रभावप्रति आफू सजग रहेको जनाएको छ । लगातारको अधिक तरलताले कर्जा प्रवाह, सम्पत्ति बजार तथा मुद्रास्फीतिमा दीर्घकालीन असर पार्न सक्ने भएकाले आवश्यक परे थप व्यवस्थापकीय कदम चाल्न तयार रहेको राष्ट्र बैंकको संकेत छ । समग्रमा तेस्रो समीक्षामार्फत् राष्ट्र बैंकले अहिलेको प्राथमिकता आर्थिक गतिविधि चलायमान बनाउने, मुद्रास्फीति नियन्त्रणमा राख्ने तथा वित्तीय स्थायित्व कायम राख्ने रहेको स्पष्ट पारेको छ ।





निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…