काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले अमेरिकामाथि सानदार जित निकालेको छ । नेपालले नौ विकेटको प्रभावशाली जित दर्ता गरेको हो । ओपनर कुशल भुर्तेलको अविजित शतकीय पाली र आसिफ शेखसँगको उत्कृष्ट साझेदारीमा नेपालले १९६ रनको लक्ष्य केवल ३६.४ ओभरमा एक विकेट गुमाएर पूरा गरेको हो ।
टस जितेर पहिले ब्याटिङ रोजेको अमेरिकाले ४३.३ ओभरमा सबै विकेट गुमाउँदै १९५ रन बनाएको थियो । जवाफमा नेपालले आक्रामक र संयमित ब्याटिङ प्रदर्शन गर्दै सहज जित हात पार्यो । नेपालको जितका नायक बन्नुभएका कुशल भुर्तेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो दोस्रो शतक प्रहार गर्नुभयो । २९ वर्षीय कुशलले ११८ बलमा चार छक्का र १३ चौकाको मद्दतले अविजित १२० रन बनाउनुभयो । उहाँले १०४ बलमै शतक पूरा गर्नुभएको थियो । यो उहाँको ओडिआई करियरकै उच्च स्कोर पनि हो ।
कुशल र आसिफ शेखले पहिलो विकेटका लागि १४५ रनको उत्कृष्ट साझेदारी गर्दै नेपालको जितको आधार तयार पार्नुभयो । आसिफले ७२ बलमा आठ चौकासहित ५८ रन बनाउनुभयो । उहाँले ओडिआई करियरको १५औँ अर्धशतक पूरा गर्नुभयो । तेस्रो नम्बरमा आउनुभएका इशान पाण्डे २० रनमा अविजित रहनुभयो ।
कीर्तिपुर मैदानमा अमेरिकाविरुद्ध नेपालको अपराजित यात्राले पनि निरन्तरता पाएको छ । यस मैदानमा नेपाल र अमेरिकाबीच भएको तीनवटै ओडिआई खेलमा नेपाल विजयी भएको छ ।
यसअघि बलिङतर्फ पनि नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो । दीपेन्द्रसिंह ऐरीले घातक बलिङ गर्दै ७.३ ओभरमा मात्र २४ रन खर्चेर चार विकेट लिनुभएको थियो । सोमपाल कामीले दुई विकेट हात पार्दा सन्दीप लामिछाने र गुलशन झाले समान एक-एक विकेट लिनुभयो ।
अमेरिकाका लागि ओपनर स्मित पटेलले सर्वाधिक ८३ रन बनाउनुभयो । उहाँले ८९ बलमा तीन छक्का र आठ चौका प्रहार गर्नुभएको थियो । शेहान जहाँगिरले ५२ रन जोड्नुभयो भने मिलिन्द कुमारले २८ रन बनाउनुभयो । तर, अन्य ब्याट्सम्यान नेपाली बलरसमक्ष टिक्न सकेनन् ।
सोमपाल कामीले ३१औँ ओभरमा स्मित पटेललाई आउट गरेपछि अमेरिकाको इनिङ्स धराशायी बनेको थियो । त्यसपछि अमेरिकी टोलीले लगातार विकेट गुमाएको थियो ।
यो जितसँगै नेपालले लिग-२ अंकतालिकामा महत्त्वपूर्ण दुई अंक थपेको छ । २६ खेलबाट २० अंक जोडेको नेपाल सातौँ स्थानमा रहे पनि शीर्ष चारमा पुग्ने सम्भावना कायम राखेको छ । प्रतियोगिताको शीर्ष चार टोलीले सन् २०२७ को एकदिवसीय विश्वकप छनोट चरणमा प्रत्यक्ष स्थान बनाउनेछन् ।
हाल स्कटल्याण्ड ३८ अंकसहित शीर्ष स्थानमा छ भने अमेरिका ३६ अंकका साथ दोस्रो स्थानमा छ । ओमान, नेदरल्याण्ड्स, नामिबिया र क्यानडा क्रमशः तेस्रोदेखि छैटौँ स्थानमा छन् ।
नेपालका लागि यो जित केवल अंकको हिसाबले मात्र महत्त्वपूर्ण छैन, विश्व क्रिकेटमा आफ्नो उपस्थिति थप बलियो बनाउने संकेत पनि हो । टी-२० विश्वकपमा लगातार सहभागिता जनाइसकेको नेपाल अब पहिलोपटक एकदिवसीय विश्वकप खेल्ने ऐतिहासिक लक्ष्यतर्फ अग्रसर देखिएको छ ।
शीर्ष ब्याटरले रन बटुल्दा भने धेरै खुसी छु : भुर्तेल
आइसिसी विश्वकप लिग-२ को शृंखलामा अमेरिकामाथि फराकिलो जितपछि नेपालका शतकधारी कुशल भुर्तेलले आफ्नो शतकभन्दा पनि शीर्ष ब्याटरले रन बनाउन सक्दा खुसी भएको बताउनुभएको छ । ओपनर कुशलले शतक पूरा हुँदा त्यसबारे व्यक्त गर्ने आफूसँग शब्द नभएको र शीर्ष ब्याटरले रन बटुल्दा भने धेरै खुसी रहेको प्रतिक्रिया दिनुभयो ।
जितपछि पत्रकार सम्मेलनमा कुशलले शीर्ष ब्याटरबाट राम्रो सुरुवात नभएको लामो समय भएकाले आज राम्रो हुँदा खुसी रहेको बताउनुभएको हो । आफ्नो शतकभन्दा पनि टोलीको जित महत्त्वपूर्ण रहेको उहाँको भनाइ छ । ओमानसँग आफूले खराब सट खेले पनि टी-२० मा आफूले राम्रो ब्याटिङ गरेको उहाँ बताउनुहुन्छ । ओमानसँग राम्रो सुरुवात पाएर पनि खराब सट खेल्दा तीन म्याच बाहिर बस्नुपरेको उहाँको भनाइ छ ।
समग्रमा नेटमा आफूले राम्रो ब्याटिङ गरे पनि खेलमा त्यसलाई लागू गर्न नसकेको उहाँको भनाइ थियो । उहाँले शीर्ष ब्याटरका रूपमा आफू र आशिफ शेखले राम्रो गर्न सक्यौं भने जित निकाल्न सक्छौं भन्ने विश्वास रहेको बताउनुभयो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र