काठमाडौं । नेपाल चलचित्र कलाकार संघको २१औं साधारणसभा तथा चुनावी अधिवेशन नजिकिँदै गर्दा अध्यक्ष पदका उम्मेदवार उत्तम केसी नेतृत्वको टिमले कलाकारको हक-हित, श्रम अधिकार र चलचित्र क्षेत्रको संस्थागत सुधारलाई केन्द्रमा राख्दै विस्तृत प्रतिबद्धता-पत्र सार्वजनिक गरेको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमगर्दै टिमले प्रतिबद्धता–पत्र सार्वजनिक गरेको हो । ‘एकता, सम्मान र अधिकार-कलाकारको भविष्य, हाम्रो जिम्मेवारी !’ भन्ने मूल नारासहित सार्वजनिक गरिएको घोषणापत्रले नेपाली चलचित्र उद्योगमा दीर्घकालीन सुधारको स्पष्ट खाका प्रस्तुत गरेको दाबी गरिएको छ ।
उत्तम केसी नेतृत्वको प्यानलमा उपाध्यक्षमा शिवहरि बैरागी र पुजना प्रधान, महासचिवमा सुनिल कटुवाल, सचिवमा गोपाल ढकाल तथा कोषाध्यक्षमा तेजुला खतिवडा रहनुभएको छ ।
टिमले नेपाली चलचित्र उद्योगलाई केवल मनोरञ्जनको माध्यम नभई कलाकार, प्राविधिक, निर्माता, निर्देशक, पत्रकार, वितरक तथा सांस्कृतिक संरचनाको साझा आधारका रूपमा व्याख्या गर्दै चलचित्र क्षेत्रको समग्र विकासका लागि संस्थागत सुशासन, पारदर्शिता र श्रमको सम्मान आवश्यक रहेको जनाएको छ ।
प्रतिबद्धता-पत्रमा हरेक कलाकारका लागि न्यूनतम् पारिश्रमिक मापदण्ड निर्धारण, लिखित करार प्रणाली अनिवार्य कार्यान्वयन तथा श्रम शोषण अन्त्य गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ । साथै सुरक्षित कार्य वातावरण, स्वास्थ्य बीमा, दुर्घटना सहायता, राहत कोष तथा ज्येष्ठ कलाकारका लागि मासिक सहयोग कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गरिने उल्लेख गरिएको छ ।
टिमले नयाँ पुस्ताका कलाकारलाई लक्षित गर्दै अभिनय तालिम, कार्यशाला, अडिसन प्लेटफर्म तथा छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ । महिला, आदिवासी, जनजाति, दलित, मधेसीलगायत सबै समुदायका कलाकारको समान र सम्मानजनक सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा समेटिएको छ ।
सदस्यता प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउन डिजिटल प्रणाली लागू गरिने, वास्तविक कलाकारको पहिचान सुनिश्चित गरिने तथा संघको आर्थिक गतिविधिलाई नियमित अडिट र सार्वजनिक प्रतिवेदनमार्फत पारदर्शी बनाइने टिमको भनाइ छ । साथै संघलाई कुनै पनि स्वार्थ समूह वा सिण्डिकेटको प्रभावबाट मुक्त राख्दै कलाकारको साझा संस्था बनाइने दाबी गरिएको छ ।
घोषणापत्रमा कलाकारहरूको बौद्धिक सम्पत्ति अधिकार संरक्षण, ओटीटी तथा डिजिटल प्लेटफर्ममा अवसर विस्तार, अन्तर्राष्ट्रिय चलचित्र संस्थासँग सहकार्य तथा चलचित्र इतिहास संरक्षणका विषयलाई पनि विशेष प्राथमिकता दिइएको छ । यससँगै कलाकारहरूको डिजिटल डेटा बैंक निर्माण, कानुनी परामर्श सेवा, मानसिक स्वास्थ्य परामर्श, आपतकालीन राहत संयन्त्र तथा प्रदेशदेखि स्थानीय तहसम्म संघको संरचना विस्तार गर्ने योजना सार्वजनिक गरिएको छ ।
टिमले ‘हामी घोषणा होइन, कार्यान्वयनमा विश्वास गर्छौं’ भन्ने सन्देश दिँदै कलाकारको सम्मान, अधिकार र भविष्य सुरक्षित गर्ने दिशामा आफूहरू पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाएको छ । नेपाल चलचित्र कलाकार संघको २१औं साधारणसभा तथा चुनावी अधिवेशन आज (आइतबार) काठमाडौंमा हुँदैछ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र