काठमाडौं । आगामी साउन १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘गौँथली’को दुईवटा आकर्षक पोष्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षलेसार्वजनिक गरेका पोष्टरहरूले चलचित्रको कथावस्तु, पात्रको मनोदशा र ग्रामीण जीवनको यथार्थलाई गहिरो रूपमा प्रस्तुत गरेका छन् ।
सार्वजनिक पहिलो पोष्टरमा चलचित्रका मुख्य कलाकार अरुण क्षेत्री र सिम्रन खड्का बेहुला-बेहुलीको भेषमा देखिनुभएको छ । दौरा-सुरुवाल, कोट, ढाका टोपी र दुबोको मालासहितको पारम्परिक पहिरनमा रहेका अरुणको पटुकीमा सिउरिएको गुलेली र हातका असामान्य देखिने औंलाले उहाँको पात्रमा शारीरिक चुनौती रहेको संकेत गर्छ । तर, अनुहारमा झल्किएको आत्मविश्वासले संघर्षबीच बाँच्न खोज्ने पात्रको मनोबल उजागर गरेको छ ।
यता बेहुलीको पहिरनमा रहनुभएकी सिम्रनको अनुहारमा भने तनाव र अन्योल झल्किन्छ । पोष्टरको पृष्ठभूमिमा देखिएको खरले छाएको झुपडी, गाउँघरको आँगन र परिवेशले चलचित्रले पहाडी ग्रामीण समाजको गरिब परिवारको कथा भन्ने स्पष्ट संकेत गरेको छ ।
दोस्रो पोष्टरले भने चलचित्रको भावनात्मक पक्षलाई अझ गहिराइमा उजागर गरेको छ । खाली खुट्टा डोकोमा स्याउला बोकेर हिँडिरहनुभएकी सिम्रन हातमा किताब लिएर पढ्दै गरेको दृश्यमा देखिन्छिन् । यसले विवाहपछि पनि शिक्षाप्रतिको उनको चाहना र संघर्षलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेको छ । घरायसी जिम्मेवारी र पढाइबीच सन्तुलन खोजिरहेकी युवतीको कथा पोष्टरले सशक्त ढंगले बोलेको छ । टाढा देखिएको हिमाली भू–दृश्यले उच्च पहाडी परिवेशमा आधारित कथालाई थप जीवन्त बनाएको छ ।
निर्देशक डा.कपिल रिजालले निर्माण गरिरहेको ‘गौँथली’मा अरुण क्षेत्री र सिम्रन खड्कासँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय छ । बालकलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपाली देखिनेछन् ।
डा.भोला रिजालको कथामा बनेको चलचित्रको पटकथा तथा संवाद निर्देशक डा.कपिल रिजाल, निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले तयार पार्नुएको हो । निर्माण पक्षका अनुसार ‘गौँथली’ले घर, परिवार, माया र आपसी सामीप्यताको प्रतीकात्मक कथा प्रस्तुत गर्नेछ ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुति रहेको चलचित्रमा सरला रिजाल कार्यकारी निर्माता हुनुहुन्छ । सुमन गिरी र डा.कपिल रिजाल निर्माता रहेको चलचित्रमा इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह-निर्माताका रूपमा रहनुभएको छ ।
चलचित्रमा शम्भुजित बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको छ भने एलिस कार्कीले पार्श्व संगीत दिनुभएको छ । हरि हुमागाईंको छायांकन, मिलन श्रेष्ठको सम्पादन, मुकेश शाहको ध्वनि मिश्रण तथा राजेन्द्र मोक्तानको रङ संयोजन रहेको चलचित्रमा रामजी लामिछाने र मौसम हिमालीको कोरियोग्राफी छ ।
रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी.कम्पनीले वितरण गर्ने चलचित्रको डिजिटल पार्टनर ‘ओएसआर डिजिटल’ रहेको छ । विशेष कुरा के भने, ‘गौँथली’ नाममा दुई दशकअघि निर्देशक डा.भोला रिजालले निर्माण गरेको चलचित्रलाई नेपालको पहिलो ‘गीति फिल्म’का रूपमा चिनिन्छ । प्रदर्शनको ५१औं दिन मनाएको उक्त चलचित्रको विरासतलाई अहिले उहाँका छोरा डा.कपिल रिजालले नयाँ शैलीमा पुनर्जीवित गरिरहनुभएको छ । सार्वजनिक पोष्टिरहरूले ‘गौँथली’लाई केवल प्रेमकथा वा पारिवारिक कथामा सीमित नराखी ग्रामीण समाज, गरिबी, शिक्षा, संघर्ष र मानवीय सम्बन्धको संवेदनशील दस्तावेजका रूपमा प्रस्तुत गर्ने संकेत गरेका छन् ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र