काठमाडौं । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त निमित्त शिक्षाध्यक्ष तथा विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा.डा. शंकरप्रसाद खनालले डिजिटल सीप, सिर्जनशीलता, नवप्रवर्तन र व्यावहारिक क्षमताले मात्रै विद्यार्थीको भविष्य सुरक्षित हुने बताउनुभएको छ ।
विश्वविद्यालय अनुदान आयोगको सहयोगमा काठमाडौँ शिक्षा क्याम्पसले आयोजना गरेको पाँचदिने डिजिटल मार्केटिङ तालिमको उद्घाटन गर्दै उहाँले ‘डिजिटल सीपमार्फत आत्मनिर्भर शिक्षा आजको आवश्यकता’ भएको उल्लेख गर्नुभयो । केवल किताबी ज्ञानले मात्र आजको प्रतिस्पर्धी युगमा सफलता प्राप्त गर्न नसकिने उहाँको भनाइ थियो ।
प्रमुख अतिथि खनालले डिजिटल मार्केटिङ अहिलेको शिक्षा क्षेत्रको अपरिहार्य आवश्यकता बनेको भन्दै ‘सिक्दै कमाउँदै’ अवधारणालाई व्यवहारमा उतार्न यस्ता तालिम प्रभावकारी हुने बताउनुभयो । उहाँले विज्ञान तथा प्रविधि अध्ययन संस्थान समयको मागअनुसार पाठ्यक्रम परिमार्जन गर्दै डिजिटलाइजेशनतर्फ अघि बढिरहेको र विद्यार्थीहरूले डिजिटल क्षेत्रमा उत्कृष्ट काम गरिरहेको दाबी गर्नुभयो ।
उहाँले सामुदायिक क्याम्पसहरूले भोग्दै आएका विषय तथा कार्यक्रम थप, क्याम्पस नवीकरण, शिक्षक स्तरोन्नति र वर्गीकरणजस्ता समस्या समाधानको अन्तिम चरणमा पुगेको जानकारी दिँदै ती विषय त्रिभुवन विश्वविद्यालयको प्राथमिकतामा रहेको बताउनुभयो ।
कार्यक्रमका विशेष अतिथि तथा विश्वविद्यालय अनुदान आयोगका कार्यवाहक सदस्य-सचिव डा. केदार प्रसाद आचार्यले नेपालभरका करिब ४०० कलेजमा यस्ता सीपमूलक तथा नवप्रवर्तनमुखी कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो । उहाँले यस्ता कार्यक्रमले अनुसन्धान, नवप्रवर्तन, रोजगार सिर्जना तथा उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी, चन्द्रागिरि नगरपालिका-१० का वडाध्यक्ष शिवकुमार महर्जनले काठमाडौँ शिक्षा क्याम्पसलाई नगरपालिकाको गौरवको रूपमा चित्रण गर्दै प्रस्तावित होटल म्यानेजमेन्ट र बीएससी सीएसआईटी कार्यक्रम सञ्चालनका लागि आवश्यक पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अमृत साइन्स क्याम्पसका सह-प्राध्यापक तथा आईटी विज्ञ डा. जनकरत्न मल्लले डिजिटल मार्केटिङले शिक्षण, अनुसन्धान तथा संस्थागत प्रचार-प्रसारमा नयाँ सम्भावना सिर्जना गर्ने बताउनुभयो । उहाँले यस्ता तालिमले विद्यार्थीलाई प्रमाणपत्रमुखीभन्दा सीपमुखी शिक्षातर्फ उन्मुख गराउने धारणा राख्नुभयो ।
काठमाडौँ शिक्षा क्याम्पसका क्याम्पस प्रमुख शत्रुघ्नप्रसाद गुप्ताको सभापतित्वमा सम्पन्न कार्यक्रममा श्वेता शेरचन, सनिर महर्जन, डा. दीपा अधिकारी, इन्जिनियर युवराज देवकोटा, ओमप्रकाश जोशी, सुरजकुमार विष्ट, किसन आले मगर, डिल्लीराज बेल्बासेलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा सामुदायिक क्याम्पस तथा विद्यालयका शिक्षक-कर्मचारीसहित स्नातक र स्नातकोत्तर तहका १३० भन्दा बढी विद्यार्थी सहभागी रहेको क्याम्पसका सहायक क्याम्पस प्रमुख तथा जनसम्पर्क अधिकारी वसन्तकुमार बरालले जानकारी दिनुभयो ।
तालिममा सामाजिक सञ्जाल, सर्च इन्जिन अप्टिमाइजेसन, कन्टेन्ट क्रिएसन, ब्रान्डिङ, अनलाइन प्रमोशनलगायतका सीपमार्फत विद्यार्थीलाई स्वरोजगार र उद्यमशीलतातर्फ अग्रसर गराउने अपेक्षा गरिएको कार्यक्रम संयोजक युवराज देवकोटाले बताउनुभयो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र