लघुकथा आयाममा छोटो हुन्छ । त्यसैले एकझमट बसाईमै पढिसकिन्छ । आख्यान विधाको एक शक्तिशाली रूप हो यो । लघुकथाको भावप्रवाह बेजोडको हुन्छ । नेपाली साहित्यमा वर्तमान समयमा कवितापछि सबैभन्दा बढी लेखिने स्वतन्त्र अस्तित्व र पहिचान भएको आख्यानको एक भेद हो– लघुकथा । यसमा समाजवोध गर्न सकिन्छ । लघुकथामा दिन खोजेको कुरा प्रतिकात्मक रूपमा तर अमिट प्रभाव पार्नेगरी दिन सकिन्छ । यो समय मान्छे यन्त्रवत चल्छ, यही चलाईलाई सम्बोधन गर्न लघुकथा पनि तीव्रतर रूपमा विकास भएर आएको छ ।
डा.शेखरकुमार श्रेष्ठ साहित्यमा अत्यन्तै सक्रिय पात्रको नाम हो । कहिल्यै चर्चामा आउन नरुचाउने तर निरन्तर लागिरहने उनको स्वभावको फ्यान हुँ म । शिक्षण पेशामा संलग्न रहेर अक्षरको खेतीमा रमाउने डा.श्रेष्ठ सरल छन् । शालीन उस्तै छन् । हार्दिक छन् । सहयोगी भावनाका धनी छन् । कविता, लघुकथा, बालकथा, बालकविता र समालोचना गरी एक दर्जनजति कृतिहरू नेपाली भाषा साहित्यमा सङ्ग्रहका रूपमा योगदान गरिसकेका छन् ।
कथाकारले समाजशास्त्रीय दृष्टिकोणले समाजको विहंगम अध्ययन गरी कथाका विषयवस्तु टिपेर कथा सिर्जना गरेका छन् । समाजको यथार्थलाई आफ्नो विवेकको धरातलमा मस्तिष्क खडागरी कथा गुथ्ने उनको खुबी छ । उनले समाजका सबै वर्ग, तह र तप्काका दैनिकीहरू बुझेका छन् । र, तिनलाई पर्गेलेर कथानक बुनेका छन् ।
उनको मौन अक्षरका सुस्केरा उनको चौथो लघुकथासङ्ग्रह हो । यसकृति भित्र विसं २०७८-२०८१ सम्मको समयावधीमा लेखिएका विभिन्न शीर्षकमा शिर्षकृत एकसठ्ठी थान लघुकथाहरु समावेश भएका छन् । वरदानबाट सुरु भएर मुसाको दुलोमा सङ्ग्रह अन्त्य हुन्छ ।
वरदान कथाले हाम्रो वर्तमान समयको राजनीतिको प्रदुषणलाई प्रतिकात्मक रूपमा व्यङ्ग्य प्रहार गरेको छ । यसले हाम्रो देशमा मौलाउँदै गएको चाकडी प्रथालाई औल्याएको छ । र त्यसको विरुद्ध प्रहार गरेको छ । यस्ता प्रवृत्तिका अन्य कथाहरू–चट्याङ, आन्दोलन, नेता, भोट बेचेपछि, चुनावी कार्यक्रम आदि पर्छन् । कथाहरुमा राजनीतिभित्रको विकृति मज्जैले उजागर भएका छन् । यस्ता कथाहरू हाम्रो युगको राजनीतिको वास्तविकतातर्फ उन्मुख भएका छन् । राजनीतिमा देखिएको नातावाद,कृपावाद र नेतृत्वले गरेको बेइमानी अनि खिचातानीलाई कथाहरुमा विषयवस्तु बनाएका छन् ।
दोस्रो पुस्ताले मानवीय संवेदना गुम्दै गएको अवस्थाप्रति चिन्ता जाहेर गरेको छ । स्वार्थ नै खाएर स्वार्थ डकार्नेहरुले मानवीय भावना मार्दै गएका छन् भन्ने कुरालाई उद्बोध गर्न यो कथा सक्षम देखिन्छ । प्रविधि र विभिन्न विज्ञानका आविस्कारका कारण मान्छे एकांकी र स्वार्थीपनामा रम्दै जान थालेको संकेत कथाले गरेको छ ।
मेरो बुबा, बुबा, सम्मानको मूल्य जस्ता कथाहरूले अग्रज पुस्ताको सुख सुविधा र अप्ठ्याराहरूप्रति नयाँ पुस्ताको अन्देखा चित्रण गरेका छन् । यो आजको यथार्थ हो । यसमा अग्रजको सम्मान गर्न र कर्तव्यबोध गर्न नयाँ पुस्तालाई सकारात्मक सन्देश दिएको छ । मरेपछि सम्मान गर्नुको कुनै अर्थ नहुने भन्ने कथाकारको धारणा छ–अग्रज पुस्ताको निम्ति जे गर्न सक्छौ अहिल्यै गर ।
कानुन सवुद प्रमाण र तथ्यमा चल्नु पर्नेमा त्यस्तो हुन नसकेको भाव प्रतित गर्छ । सबैले होस्टेमा हैंसे गर्ने हो भने देशले काँचुली फेर्न बेर नलाग्ने कुरालाई लिएर कथाकारले सकारात्मक सन्देश दिन खोजेका छन् ।
कथाकारमा देशप्रेम घनिभूत छ । म, मेरो देश, धर्ती, देशको माया जस्ता शीर्षकका कथाहरुमा देशप्र्रेम, राष्ट्रिय भाव, माटोको माया ओतप्रोत भएको देखिन्छ । यस्ता कथाहरूले नेपाली हुनुमा गर्व गर्न सिकाउँछन् । हाम्रो आफ्नो मौलिक कला, संस्कृति बैभवशाली र समृद्ध छ भन्ने कुरालाई पृष्ठपोषण गर्छन् । विदेशिएका नेपालीहरूको हृदयमा झल्केको देशप्रेमलाई पनि उजागर गरेको छ ।
भौतिक दुनियाँ शास्वत सत्यको सन्निकट रहेर लेखिएको कथा हो । ईश्वर कथामा भगवानलाई प्रतिक बनाइएको छ । सोही भगवानको डर देखाएर मान्छेलाई लोभ,मोह र क्रोध जस्ता कुराहरु भन्दा पृथक पनि जीवन बाँच्न प्रेरित गर्छन् कथाकार । डा.श्रेष्ठ सर्वे भवन्तु सुखिनको पक्षधर हुन भन्ने कथाले पुष्टि गरेको छ । उनी सदैव सन्मार्गमा हिँड्न अनुरोध गर्छन् ।
पर्या मानव जीवनको अपरिहार्य विषय हो । मानिस र पर्यावरण एकअर्कासङ्ग परिपूरक छन् भन्ने भावमा छ–चेतनाको खोज । उनले प्रकृतिप्रेम गर्न सिकाएका छन् । त्यसलाई जतन गर्न भनेका छन् । यसैगरी संघर्ष, अपजसको भाँडो जस्ता कथाले हाम्रै समाजको विद्रुप रुपको चित्रण गरेका छन् । यथार्थजनित छन् यी कथाहरु । यस्ता अरु कथाहरूमा–खाना, हाम्रो बस्ती, प्रेरणा, प्रतिनिधि मान्छे, हतियार, सडकको समृद्धि आदि रहेका छन् । यी कथाहरू मेरै कथा हुन् । तपाईंकै जीवनका दैनिकी हुन् । निष्कर्षमा भनुँम-भूइँमान्छेका कथा हुन् । जहाँ अभावको घट्टमा पिसिनु परेको छ । यी कथाहरु हाम्रा समाजका गम्भीर समस्यातर्फ लक्षित देखिएका छन् ।
कथाकारले समाजशास्त्रीय दृष्टिकोणले समाजको विहंगम अध्ययन गरी कथाका विषयवस्तु टिपेर कथा सिर्जना गरेका छन् । समाजको यथार्थलाई आफ्नो विवेकको धरातलमा मस्तिष्क खडा गरि कथा गुथ्ने उनको खुबी छ । उनले समाजका सबै वर्ग, तह र तप्काका दैनिकीहरू बुझेका छन् । र तिनलाई पर्गेलेर कथानक बुनेका छन् । नुनको सोझो, गुरुको शिक्षा, पैसा, सहयोग, सद्भाव, चित्र, भाग्यको खेल, वर्तमान प्रेम, माया, गुरु, चाहाना, उत्तर, भीष्मप्रतिज्ञा, स्वमूल्याङ्कन जस्ता कथाहरू यस्तै कोटीका पर्छन् । जहाँ हाम्रो समाजको साङ्गोपाङ्गो तस्वीर उतारिएको छ । मानवीय संवेदनाले लछप्पै भिजेका कथाकारले समाजको प्रतिबिम्ब मज्जैले उतार्न सफल नहुने कुरै थिएन । निष्कर्ष निकाल्न सकियो–कथाहरुमा हाम्रै जीवनको उहापोहको शसक्त चित्रण गरिएको छ ।
कथाहरु प्रतिकात्मक पनि छन् । व्यङ्ग्यचेतले भरिएका उस्तै । कथानक व्यवस्थित ढाँचामै देखिएको छ । लक्षणा र व्यञ्जनाको गुञ्जायस छ । सुलोलित भाषा प्रयुक्तिले पाठक सहज पढ्नसक्ने कथा छन् । छोटा सम्बाद, वाक्य छोटा, प्रतिकको आवश्यकतानुसारको प्रयोग, सरल शिर्षकृत कथाहरू छन् । कल्पनाशीलताको घुलनमा घोलिएका, कतै धार्मिक मिथकको प्रयोग गरिएका पनि छन् । डा.श्रेष्ठ आफैंले लेख्न मन लाग्योमा स्वीकार गरेका छन्-जीवनका गहिरा अनुभवहरुबाट कथाहरू आएका छन् । समाजमा आमरुपमा भोगिएका यथार्थताको कसीमा घोटेर लेख्नसक्ने कथाकारको कथाकारको खुबी मान्नैपर्छ । मौन अक्षरका सुस्केरामा पाठकको मन छुने शक्तिका लघुकथा छन् ।
उनको लघुकथाको दृष्टिचेत भनेकै यहि समाज हो । यति भएपछि भन्न सकियो समाजको ऐना भएर आएका छन्-कथाहरू । डा.श्रेष्ठ कुशल लघुकथाकार हुन भन्ने कुरामा शंका गरिरहनु परेन ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र