विष्णु भगवान्का अनेकौ नाममध्ये एक पुरुषोत्तम पनि हो । अधिकमास परेको महिनामा पुरुषोत्तम भगवान्को व्रत गर्ने, कथा श्रवणका साथै मालपुवा दान गर्ने विशेष विधि शास्त्रमा उल्लेख पाइन्छ । विशेषतः अधिक मासलाई पुरुषोत्तममासका रूपमा लिइन्छ । सौरमहिनको अपेक्षामा एक चान्द्रमहिना धेरै हुने पञ्चाङ्ग गणनाको अवस्थिति नै अधिमासको हो । जुन चान्द्रमासमा एउटा पनि सूर्यको सङ्क्रान्ति पर्दैन त्यो चान्द्रमहिनालाई अशुद्ध वा मल मानिन्छ । यसरी सङ्क्रान्ति रहितको महिना नै मलमा, अधिकमा, अधिमास वा पुरुषोत्तम मास हो । जुन समयमा पुरुषोत्तम भगवान्को व्रत धारण गर्ने, मालपुवा दान गर्ने पनि विशेष विधि र पद्धति पाइन्छन् ।
व्रत महिमा
‘वृञ् वरणे’ धातुमा ‘अतच्’प्रत्यय लागेर व्रत शब्दको निर्माण हुन्छ (शब्दकल्पद्रुम) । जसको अर्थ उपवासादि पुण्यकर्म भन्ने हुन्छ । कुनै कर्तव्य विशेषका निम्ति सङ्कल्पपूर्वक गरिने कार्य नै व्रत हो भनी व्रतराजमा परिभाषा गरिएको छ । पूजा आदिको कर्म विशेष नै व्रत हो भनी धर्मसिन्धुमा बताइएको छ । यसैगरी प्रातःकालीन आहार नखाई स्नानपूर्वक शुद्ध भई भगवद् भक्तिमा लाग्ने कार्यलाई निर्णयसिन्धुले व्रत भनेको छ । विशेष विधि र नियमपूर्व आफ्नो अभीष्ट सिद्धिका निम्ति संकल्पपूर्वक गरिने कार्य विशेष नै व्रत हो ।
तेल नहाली पकाएका पदार्थलाई पनि हविष्यान्न भनिन्छ । आमिष वस्तु मासु, मह, बयर, भटमास, मादक पदार्थ त्याज्य मानिएको छ । यसैगरी तिलको तेल, बासी अन्न, देख्दा फोहोर हुने वस्तु उयोग गर्नु हुँदैन (पुरुषोत्तममासमाहात्म्य, २२।८-१०) । अर्काको अन्न, परस्त्रीगमन, परदेशी हुने कार्य व्रतीले नर्गू भनिएको छ । तीर्थ यात्रा भने गर्नु हुन्छ (पुरुषोत्तममासमाहात्म्य, २२।११) । यसैगरी अरूको निन्दा गर्नुहुँदैन । तामाका भाँडामा, छालाका थैलामा राखिएको दूध पनि अशुद्ध मानिन्छ । व्रतीले ब्रहर्चयामा रहनुपर्दछ
अधिकमासमा लिइने पुरुषोत्तममासको व्रतधारणसम्बन्धी उल्लेख बृहन्नारदीयपुरणमा पाइन्छ । व्रत विधिका साथै मालपुवा दान एवं फलश्रुति पनि उक्त पुराणमा उल्लेख छन् । पुरुषोत्तममास पुरुषोत्तम भगवान्को उपासना गर्ने उत्तम समय हो ः
‘न वेदैः सर्वशास्त्राणि पुण्यकालस्तथाऽखिलाः ।
पुरुषोत्तममासेन समो मासो न कर्हिचित् ।।’ (पुरुषोत्तममासमाहात्म्य, २०।७३)
यसैले पुरुषोत्तम मासमा भगवान् पुरुषोत्तमको पूजा गर्नु भनी निर्देशन गरिएको छ :
‘पुरुषोत्तममासस्य दैवतं पुरुषोत्तमः ।
तस्मात् सम्पूजयेद् भक्त्या श्रद्धया पुरुषोत्तमम् ।।’ (पुरुषोत्तममासमाहात्म्य, २०।७४)
पुरुषोत्तम माहात्म्य श्रवण गर्नाले दारिद्र्य, वैधव्य हरण गर्ने, यश कीर्ति बढाउने, सन्तति प्रदान गर्ने र अन्त्यमा मोक्ष प्रदान गर्ने महिमा बताइएको छ :
‘तथापि वक्षे पुरुषोत्तमस्य, माहात्म्यमत्यद्भुतमादरेण ।
दारिद्र्यवैधव्यहरं यशस्यं, सत्पुत्रदं मोक्षदमासु सेव्यम् ।।’ (पुरुषोत्तममासमाहात्म्य, २।२२)
यसरी व्रत धारण गर्नाले पुरुषोत्तम भगवान् प्रसन्न हुनुहुन्छ । (पुरुषोत्तममासमाहात्म्य, २।२६) पुरुषोत्तम मासमा जसले स्नान दान गर्दछन् त्यस्ता व्यक्तिले सौभग्य, सम्पत्ति र सुख प्राप्त गर्दछन् । (पुरुषोत्तममासमाहात्म्य, ७।३६-३७) यसैले शक्तिअनुसार दान गर्नुपर्दछ । (पुरुषोत्तममासमाहात्म्य, ७।३९)
व्रत विधि
पुरुषोत्तम मासमासमा व्रतीले ब्रह्ममुहूर्तमा उठ्नुपर्छ । परब्रह्मको चिन्तन गर्नुपर्छ । नित्य कर्म सक्नुपर्दछ । पूजास्थमालाई गाईको गोवरले लिप्नुपर्दछ । अष्टदलमाथि कलश थाप्नुपर्दछ । तामाको थाली कलशमाथि राखी त्यहाँ सुनको राधासहति पुरुषोत्तम भगवान्को प्रतिमा प्राणप्रतिष्ठापूर्वक स्थापना गर्नुपर्दछ । यसपछि आसन, पाद्य, अर्घ, आचमनीय, पञ्चामृत, शुद्धजल, वस्त्र, चन्दन, पुष्प, अक्षता, अर्पणका साथै भगवान्का अङ्ग पूजा धूप, दीप, फल नैवद्य पान सुपारी आदि अर्पण गर्नुपर्दछ । यसपछि विशेष मन्त्र उच्चारणपूर्वक प्रार्थना गर्नुपर्दछ । यसैगरी पुरुषोत्तम मासमाहात्म्य श्रवण, श्रीमद्भागवतको पाठ श्रवण पनि गर्नुपर्दछ ।
पुरुषोत्तम महिनामा सकेसम्म हविष्यन्न भोजन गर्नुपर्दछ । जसमा गहुँ, चामल, सखर, मिश्री, मुँग, तिल, केराउ, कागुनो, वेथे, अदुवा, काल साग, तरुल, आलु, काँक्रो, केरा, सिन्धा नुन, दही, घ्यू, दूध, कटहर, आँप, हर्रो, पिप्ला, जिरा, सुठो, तित्री, सुपारी आदि पर्दछन् । हविष्य भोजन उपवासकै बराबर हुन्छ (पुरुषोत्तममासमाहात्म्य, २२।४-८) । यसैगरी तेल नहाली पकाएका पदार्थलाई पनि हविष्यान्न भनिन्छ । आमिष वस्तु मासु, मह, बयर, भटमास, मादक पदार्थ त्याज्य मानिएको छ । यसैगरी तिलको तेल, बासी अन्न, देख्दा फोहोर हुने वस्तु उयोग गर्नु हुँदैन (पुरुषोत्तममासमाहात्म्य, २२।८–१०) । अर्काको अन्न, परस्त्रीगमन, परदेशी हुने कार्य व्रतीले नर्गू भनिएको छ । तीर्थ यात्रा भने गर्नु हुन्छ (पुरुषोत्तममासमाहात्म्य, २२।११) । यसैगरी अरूको निन्दा गर्नुहुँदैन । तामाका भाँडामा, छालाका थैलामा राखिएको दूध पनि अशुद्ध मानिन्छ । व्रतीले ब्रहर्चयामा रहनुपर्दछ (पुरुषोत्तममासमाहात्म्य, २२।१६) । अन्य व्रतमा जस्तै शुद्ध आहार ग्रहण गर्नुपर्दछ । पुरुषोत्तम महिनाभरि जे–जे कुरा बारिएका छन् ती वस्तु व्रतसमापनमा दान गर्नुपर्दछ (पुरुषोत्तममासमाहात्म्य, २२।२४) । व्रतको नियम पालना भएन भने त्यसको फल पनि प्राप्त हुँदैन । यसैगरी पुरुषोत्तम महिनाभरि श्रीमद्भागवतको कथा पनि सुन्ने गर्नुपर्दछ :
‘श्रीमद्भागवतं भक्त्या श्रोतव्यं पुरुषोत्तमे ।
तत्पुण्यं वचसा वक्तुं विधाताऽपि न शक्नुयात् ।।’ (पुरुषोत्तममासमाहात्म्य, २२।३०)
यसैगरी शालग्रामको सेवा पनि उत्तम मानिएको छ । एक लाख तुलसीपत्रले शालाग्राको पूजा अक्षयय पुण्यदायी रहन्छ । यसरी व्रत धारण गर्नाले दुस्स्वप्न, दारिद्रय, दृष्कृत सबै नष्ट भएर जान्छन् भूत प्रेतको भय पनि रहँदैन भनिएको छ । (पुरुषोत्तममासमाहात्म्य, २२।३७) यसैगरी पुरुषोत्तममासमा अतिथिको सत्कार पनि विशेष पुण्यदायी रहन्छ भनी माहात्म्यको तेइसौ अध्यायमा बताइएको छ । यसैगरी नित्य दीपदान गर्नाले उत्तम फल प्राप्त हुने कथा माहात्म्यको चौबिसौ अध्यायमा उल्लेख छ ।
व्रतोद्यापन विधि
व्रत परिपूर्णतका निम्ति उद्यापन गर्नुपर्दछ । यसरी उद्यापन गर्ने दिनमा कृष्णपक्षको चतुर्दशी, नवमी, अष्टमी उत्तम मानिएको छ (पुरुषोत्तममासमाहात्म्य, २५।३) । पत्नीसहित भएका सदाचारी सकेसम्म तीसजना ब्राह्मणलाई निमन्त्रण गर्नुपर्दछ । यदि अनुकूल हुँदैन भने यथाशक्ति जति सकिन्छ पाँच, सात सपत्नीक ब्राह्मणलाई निमन्त्रणा गर्नु भनिएको छ (पुरुषोत्तममासमाहात्म्य, २२।५) । सर्वतोभद्र मण्डल बनाई चारवटा कलश स्थापना गर्नुपर्दछ । चार कोणमा कलश राखी तिनमाथि श्रीफल वा बेल फल राखी वस्त्रले वेष्टित गरी वासुदेव, हलधर, प्रद्युम्न र अनिरुद्ध भगवान्लाई स्थापना गर्नुपर्दछ । व्रत आरम्भगर्दा स्थापना गरिएका राधासहितका पुरुषोत्तम भगवान्लाई सर्वतोभद्रमण्डलको बीचमा राख्नुपर्दछ । चार ब्राह्मणलाई वरण गरी चारै व्यूह देवताको जप पनि गराउनुपर्दछ । यसरी स्थापना गरिएका देवतालाई विशेष पूजासहित अर्घप्र्रदान गर्नुपर्दछ । यसैगरी भगवान्का नाम मन्त्रले तर्पण र मार्जन पनि गर्नुपर्दछ । ब्राह्मण दम्पतीपूजन, आचार्य दक्षिण पूर्णपात्रका कार्य पनि गर्नुपर्दछ । यसैगरी गाई पनि ब्राह्मणलाई दान गर्नुपर्दछ । घ्यू पूर्ण भएको भाँडो, तिल पूर्ण भएको भाँडो पनि ब्राह्मणलाई दान गर्नुपर्दछ । वैष्णव ब्राह्मणलाई श्रीमद्भागवत्को पुस्तक पनि दान गर्नुपर्दछ । यसरी गरिएको भागवतको पुस्तक दानले करोडौँ कुलको उद्धार हुन्छ । (पुरुषोत्तममासमाहात्म्य, २५।३४)
मालपुवा दान विधि
यसपछि बीचमा तीस-तीससवटा मालपुवाले ढाकिएका काँसका थाल दान गर्नुपर्दछ । यदि यस्तो साध्य नभए सामर्थ्यअनुसार सम्पुट थालीमा ३० मालपुवा दान गर्नुपर्दछ । यसैगरी मीठा सर्वरसयुक्त वस्तुको ब्राह्मण भोजन पनि गराउनुपर्दछ । ब्राह्मण ब्राह्मणीलाई पूजा गरी सुन्दर बनाई प्रसन्न गराई हातमा बाँसुरी पनि राखिदिनू भनी माहात्म्यमा बताइएको छ । औसीका दिन जाग्राम रही राधासहित पुरुषोत्तम भगवान्को पूजा गर्नुपर्दछ । यसरी विधिपूर्वक व्रतधारण एवं उद्यापन गर्नाले अक्षय पुण्य प्राप्त हुने विधिसहितको फल वर्णन पुरुषोत्तममासमाहात्म्यको पच्चीसौं अध्यायमा बताइएको छ ।
फलमात्र खाने नियमा रहेका व्रतीले उद्यापनमा फल दान गर्नुपर्दछ । तेल नखाई व्रत गर्नेले तेल दान गर्नुपर्दछ । खाटमा नसुती भूइँमा सुती व्रत लिइएको छ भने रुई दान गर्नुपर्दछ । यसैगरी शैय्या दान पनि गर्नुपर्दछ । नबोल्ने नियम गरेको भए सुन सहित घण्ट र तिल दान गर्नुपर्दछ । व्रतमा जे कुरा बारिएका छन् ती दान गर्नुपर्दछ भनी माहात्म्यको छब्बीसौं अध्यायमा बताइएको छ । यसैगरी महिनाको अन्त्यमा छाता जुत्तालेसहित तीसवटा लड्डु पनि दान गर्नुपर्दछ । ब्राह्मणबाट आशीर्वाद लिनुपर्दछ । यसरी गरिएको व्रत मोक्षदायी हुन्छ (पुरुषोत्तममासमाहात्म्य, २६ ) ।
अन्य कार्यमा अधकिमास मल रहे पनि पुरुषोत्तम भगवान्को आराधनाका निम्ति उत्तम मानिएको छ । प्रत्येक बत्तीस महिनामा पुरुषोत्तम मास पर्ने गर्दछ । विधिपूर्वक पुरुषोत्तममासको व्रत धारण गर्नाले यो लोकको भुक्तिका साथै परलोकपश्चात् पनि मुक्ति मिल्छ भनी माहात्म्यमा फल वर्णन गरिएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र