मोटरबाटो पुग्यो, बिजुलीबत्ती पनि पुग्यो तर पनि विकटताको साङ्लोले अझै बेरिएकै छ जुम्ला । पूर्णरूपमा विकास हुन त मान्छेको मानसिकतामा नै आमूल परिवर्तन आउँनु पर्दोरहेछ । यस्तो जड समाज र विषम परिस्थितिमा कति कठिन छ होला जुम्लामा पत्रकारिता गर्न । त्यसभन्दा ज्यादा कठिन छ समाजसेवाको कर्म तर यी दुबै रथ एकैसाथ हाँकिरहेकी छिन् दिलमाया शाही । व्यापार व्यवशाय न्यून छ । अन्य आम्दानीका स्रोतहरू छैनन् । सरकारी विज्ञापन सिन्डिकेट जस्तै छन् । मनकारीहरू धनकारी छैनन् धनकारीहरू मनकारी छैनन् । खाली पेट केही गर्न सकिँदैन । एउटा उखान छ कर्णालीमा ‘भोका पेट सँगिनी औ आङै आउँदैन’ अवस्था अत्यन्त विकराल छ ।
जुम्लामा दिलमाया शाहीले चलाएको महिला जागरण डटकम अनलाइन पत्रिका छ । यो अनलाइन पत्रिका दिलमायाका लागि कर्णको रक्षाकवच जस्तै बलियो र सुरक्षित छ । अर्जुनको गाण्डिव जस्तै अपराजित छ । रावणको नाभी जस्तै अमर छ । यसै कारण हो जुम्लामा दिलमाया शाही भन्ने बित्तिकै समाजका कुकर्मीहरू तर्सिन्छन् ।
यद्यपि सहयोगको अपेक्षाभन्दा माथि हुटहुटी छ, जोश छ, जाँगर छ, आँट छ, साहस छ, त्यस कारण अविछिन्न चलिरहेको छ जीवनको सिनेमा दिलमायाको । मनोभावका ज्वारहरू यसरी उठेका छन् कि रोकिने छाँट कहिँ देखिँदैन । जुम्लामा दिलमायालाई धेरैले भन्छन् दिलदार र हिम्मतिली महिला । थोरैको जिब्रोले अमिलो रस चुहाउँदै भन्छ ‘नाममा दिलमाया काममा कठोरता’ । हो, उनी केही मान्छेका लागि साँच्चिकै निर्दयी छिन् साथै कठोर पनि । ती हुन् समाजका कलंक र घृणित पात्र ।
जुम्लामा दिलमाया शाहीले चलाएको महिला जागरण डटकम अनलाइन पत्रिका छ । यो अनलाइन पत्रिका दिलमायाका लागि कर्णको रक्षाकवच जस्तै बलियो र सुरक्षित छ । अर्जुनको गाण्डिव जस्तै अपराजित छ । रावणको नाभी जस्तै अमर छ । यसै कारण हो जुम्लामा दिलमाया शाही भन्ने बित्तिकै समाजका कुकर्मीहरू तर्सिन्छन् । पापिष्टहरू सतर्क हुन्छन् । दुष्टहरू दूर हुँदै जान्छन् । अपराधीहरू भाग्न खोज्छन् तर दिलमाया शाहीले यी कसैलाई उम्कन दिएकी छैनन् । कानुनको कठघरामा उभ्याएरै छोड्छिन् । यस्ता साहसिक र न्यायोचित कार्यले दिलमाया जुम्लामात्र होइन सिङ्गो कर्णालीको दिलमा बस्न सफल भएकी छिन् र कर्णालीको समग्र उत्पीडित समाज दिलमायाप्रति हृदयतः अनुगृहित छ । हरेक न्यायप्रेमी जनता र पीडितहरूले दिलमायालाई झाँसिकी रानीजस्तै एक वीराङ्गनाको संज्ञा दिएका छन् ।
सबैभन्दा बढी उनी महिलाको पक्षमा सतीसाल बनेर उभिएकी छिन् । समाजमा बढ्दो महिलामाथिको घरेलु, बाह्य हिंसा र बलात्कारका जघन्य घटना एवम् चेलिबेटी बेचबिखनका मुद्दाहरूमा उनी पत्रकार भएर मात्र होइन कतै न्यायाधीश त कतै सुरक्षाकर्मी भएर खटेकी छिन् । अहिले जुम्लामा दिलमाया शाहीको खबरदारी र सक्रियताका कारण यस्ता खाले सामाजिक अपराधहरू निकै घटेको कुरा जानकारहरू बताउँछन् । जिल्ला समन्वय समितिका संयोजक तथा राजनीतिज्ञ गौरिनन्द आचार्य भन्छन्, ‘यत्तिको साहसिक महिला अरू दुईजना हुने हो भने जुम्ला महिला हिंसामुक्त जिल्ला हुन टाइम नै लाग्ने थिएन तर दिलमाया अहिले एक्ली छन्, यिनलाई हामीले हौसला र साथ दिनैपर्छ उनको कामको सम्मान गर्नैपर्छ ।’
गौरिनन्द र दिलमाया विचारका हिसाबले भिन्न राजनीतिक पृष्ठभूमिका हुन् तर यी दुबैजनाको मिसन मिल्छ । हिजो गौरिनन्द पनि माओवादीले आस्थाका आधारमा सोझासाझा, निमुखा र गरिब किसान जनतालाई दुःख दिएको देख्दा आगो हुन्थे र कड्केर भन्थे पनि ‘कुट्ने भए सामन्तलाई कुट गरिबलाई कुट्ने ?’ दिलमाया पनि यिनै सर्वहाराको मुक्तिका लागि ज्यानलाई खुकुरीको धारमा राखेर हिडेकी हुन् क्रान्तिमा । लक्ष्यप्राप्तिका धेरै आयामहरू मध्ये नेपालमा गणतन्त्र आउँनुमा उनको पनि महत्त्वपूर्ण भूमिका छ । त्यस्तो परिवर्तनकारी चेत लिएर क्रान्तिको अग्रमोर्चामा उभिएकी निर्भीक महिला हिजो व्यवस्था परिवर्तनका लागि लडेकी थिइन् भने आज अवस्था परिवर्तनका लागि लड्दैछिन् ।
यो सुकामको मूल्याङ्कन भएरै होला दूरदराजकी एउटा महिलालाई काठमाडौंको एक अनलाइन ‘खबर डटकम’ मिडियाले छनोट गरेका नेपालका ५० प्रभावशाली महिलाको सूचीमा दिलमाया पनि परिन् । यो कर्णालीका लागि गर्वको विषय हो । कर्णाली जस्तो विकट ठाउँमा त्यो पनि एक सामान्य महिला आफ्नो आँट र पवित्र कर्मका कारण राष्ट्रिय व्यक्तित्वमा दरिनु चानचुने विषय थिएन ।
जब दिलमायाको नामले राष्ट्रिय चर्चा बटुल्यो अनि कर्णालीको हिरो बनिन् उनी । त्यसपछि उनका बारेमा चियाचौतारीसमेत बाफिलो बन्न थाल्यो । तत्पश्चात् मलाई पनि भेट्ने इच्छाले हरपल घचेटी रह्यो । समय जुर्न सकेको थिएन तर भेट्ने तलतलले यति उग्र रूप लियो कि थाम्नै गाह्रो भयो । बल्ल समय जुर्यो २०८१ भदौमा । व्यक्तिगत कामले जुम्ला पुग्यौँ हाम्रा साथी थिए दैलेखका एकेन्द्र पन्त । दुई दिन जति आफ्ना लागि खर्च गरेर दिलमायालाई भेट्ने समय छुट्याइयो । मेरा श्रद्वेय गुरु जुम्लाका चार थानीमध्ये एक थानीका बंशज जिल्ला समन्वय समिति जुम्लाका संयोजक गौरिनन्द आचार्यज्यूलाई यस निम्ति अनुरोध गरे ।
उहाँले पनि तुरुन्तै फोन गरेर बडो रोमान्टिक शैलीमा पत्रकारजी ! तपाईलाई भेट्न काठमाडौंबाट कालिकोटका मान्छे आउँनुभएको छ, टाइम मिलाउनु पर्योभन्दा उताबाट पनि साँझपख तपाईंको अफिसमा भेटघाट गर्ने भनेर स्वीकारोक्ति प्राप्त भयो । गौरी गुरु र म दिउँसो तातोपानीमा नुहाइधुवाइ गरी धारानजिकैको होटलमा गुरुको वचन शिरोधार्य गर्दै दुई प्याक चिसोपानी हाने मैले । त्यताबाट फर्किएर अफिसमा हामी पर्खिरहेका थियौँ उहाँ आएपछि कुरा अगाडि बढ्यो । गौरी गुरुलाई बीचमा साक्षी राखेर चिनापर्चीपछि केही व्यवहारिक कुरा गर्यौँ हामीले ।
अत्यन्त सरल हृदयकी महिलाको छातीमा त्यति ठूलो साहसको बास रहेछ अनुभूत भयो मलाई । उनले भनिन् मेरो पहिलो प्राथमिकतामा पीडित महिला भए पनि पीडित पुरुषको पक्षमा पनि म उभिएकी छु । उनको निडरता र निष्पक्षताको राँको आफैँ बल्न थाल्यो । महिला जागरण डटकम अनलाइन मिडियाबाट सचेतना फैलाउने र खबरदारी गर्ने अनि दिमा आमाघरबाट पीडित महिलाको उद्धार र सेवा प्रवाह गर्ने दुबै हितोपकारी काम हुन् उनका । उनका हरेक शब्दावलीहरूमा सेवाभावको अतुल्य रुझान थियो ।
मैले सोधे सकिन्छ त ? अटुट विश्वासका साथ बोलिन् उनी । म सक्छु त्यो मसँग आँट छ । अत्यन्त गम्भीर मुद्रामा हाम्रो अन्तरसंवाद सुनिरहेका अग्रज गौरिनन्द आचार्यले पनि उत्साहित हुँदै थपिहाले दुई शब्द । बिल्कुल उहाँ पछाडि हट्नुहुँदैन ? आँटिली र आँनिली महिला हुन् यिनी । चोर औंलाले आफ्नै अफिसको पल्लो कोठा देखाउँदै फेरि भने-एमालेले अहिले भूमि आयोगको जिल्ला अध्यक्ष बनाए पनि यिनै महिलाका कारण ऊ जेल जाँदैछ । नभन्दै केही समयपछि उसले बलात्कारसम्बन्धी मुद्दा हारेको खबर पत्रिकामा आयो ।
उनले यसरी बलात्कार पीडित, घरेलु हिंसा पीडित र अन्य कारणले पीडित महिला र बालबालिकाको सेवाका लागि भनेर आफ्नै नाममा दिमा आमाघर स्थापना गरेर चलाएकी छिन् । स्थापना गरेको एक वर्षमै ३५ जना पीडितले सेवा प्राप्त गरेर घर फर्किसकेका छन् । केही पीडित दिमा घरमै छन् । एउटा महिला एक्लैले यति ठूलो जोखिम मोलेर सञ्चालनमा ल्याएको परोपकारी संस्था दिमा आमाघरलाई हालसम्म दातृ निकाय, संघसंस्था, व्यक्ति विशेषबाट कुनै प्रकारको आर्थिक, भौतिक र बौद्धिक सहयोग प्राप्त भएको छैन । आफ्नै कमाइबाट जोहो गरेकी रहिछन् । उनले अति विशुद्ध ढङ्गले अति विशिष्ट कार्य गरे पनि जुम्लामा दिलमायालाई हेर्ने नजरिया अलि फरक छ ।
उनी विचारले वामपन्थी हुन्, कर्मले अब्बल समाजसेवी । उनी निम्न वर्गको पक्षमा लड्छिन भिड्छिन र वकालत गर्छिन् । जुन समाजको पक्षमा उनको आवाज बुलन्द हुन्छ त्यो समाज न्यून आय भएको छ । जुन समाज सम्पन्न छ त्यो दिलमायाको खेदो खन्छ अनि कसरी जुट्छ सहयोग ? अप्ठ्यारै अप्ठ्यारोको चेपुवामा छिन् उनी । हिजो भगवान नै छैनन् त्यो बकवास हो भन्ने क्रान्तिमा होमिइन् जानिनजानी । आज भगवान भरोसामा चलाइरहेकी छिन् जिन्दगी । पत्रकारितामा सङ्गठित उनको जुन समूह छ त्यो पनि त्यति सहयोगी देखिँदैन । उनीसँग दामको अभाव छ तर नामको चुली भने झनझन अग्लिँदै गएको देखिन्छ ।
काठमाडौंमा यस्तै सेवामा सेवारत धेरै दिलमायाहरू कोही युरोप, कोही बेलायत, कोही अमेरिकामा छन् । उताको सहयोगले यताको फुर्तिफार्ती चलाइरहन्छन् । जुम्लाकी दिलमायाका बारे काठमाडौंबाट प्रकाशित हुने ठूला मिडिया हाउस बेखबर छन्, नसुनेझै नदेखेझै गर्छन् । वास्तवमा निःस्वार्थ सेवामा लागिपरेकी जुम्ला जस्तो ठाउँकी चेलीलाई सुपरिचित कलमहरूले प्रोत्साहित गर्नुपर्ने हो ।
स्वभाव हो कि स्वाभिमान हो खोइ कुन्नि ! दिलमायाले दिमा आमाघरको सहयोगका लागि हात पसारेको कतै सुनिएन । एक प्रश्नमा उनले भावुक हुँदै सत्यार्थ ओकलिन् जुम्लामा मलाई केही केही व्यक्तिहरू ठिक मान्दैनन् । काठमाडौं जान मेरा आफ्नै कठिनाइ छन् । काठमाडौं गएर पनि के गर्ने कसैले नचिनेपछि बाटामा कटौरा थापेर बस्नु भएन । यो मर्मस्पर्शी जवाफले अत्यन्त भावुक बनायो मलाई । सहानुभूति, शान्त्वना र थोरै आश्वासनबाहेक अरू के थियो र मसँग । छोराछोरीलाई हुर्काउनु, पढाउनु, लेखाउनु, दिमा आमाघरलाई धान्नु, पत्रकारितालाई निरन्तरता दिनु दिलमायाको दैनिकी बनिसक्यो जुम्लामा । उनले पछ्याएको सङ्घर्षको बाटो सङ्घर्षमै समर्पित छ ।
काठमाडौंमा यस्तै सेवामा सेवारत धेरै दिलमायाहरू कोही युरोप, कोही बेलायत, कोही अमेरिकामा छन् । उताको सहयोगले यताको फुर्तिफार्ती चलाइरहन्छन् । जुम्लाकी दिलमायाका बारे काठमाडौंबाट प्रकाशित हुने ठूला मिडिया हाउस बेखबर छन्, नसुनेझै नदेखेझै गर्छन् । वास्तवमा निःस्वार्थ सेवामा लागिपरेकी जुम्ला जस्तो ठाउँकी चेलीलाई सुपरिचित कलमहरूले प्रोत्साहित गर्नुपर्ने हो । मल्हमहरू जुट्नु पर्ने हो तर त्यो गुन्जायस कतै सुनिँदैन । कर्णालीको नाम राख्न र सामाजिक अपराध न्यूनीकरण गर्न अरू जस्तै यिनको पनि ठूलो योगदान छ ।
हिजो उनी कहाँ थिइन् ? के गर्दै थिइन ? त्यो ठूलो कुरा होइन आज के गर्दै छिन् ? त्यो सोचनीय र महत्वपूर्ण कुरा हो । सक्रिय राजनीतिबाट विश्राम लिएर सक्रिय समाजसेवामा दुःख उठाइरहेकी छिन् उनी । जनताको भलाइकै लागि रोजिएको क्रान्तिको मार्गभन्दा माथि उठेर जनताको हितकै लागि रोजिएको हो समाजसेवा । कसैलाई लाग्छ होला उनी अब सहज बाटोमा छिन् तर यो सतही बुझाइ मात्र हो । उनले हिजोको भन्दा कठिन बाटो बल्ल रोजिन् । आजको बाटो निकै दुरुह छ उनका लागि तर दिलमाया हारेकी छैनन् । उनको निजी डिक्स्नेरीमा हार शब्द भेटिँदैन तथापि कतिकतिखेर चिन्ता भने लाग्दोरहेछ । बोल्दै जाँदा निकै उद्वेलित हुन्छिन् ।
यो उनको बखान होइन सम्पूर्ण कर्णालीको कथाब्यथा समेटिएको महाकाव्य हो । दिलमाया दिलदार छिन्, सङ्घर्ष उनको जीवन हो । यस्तै जुम्ला र जुम्ला आसपासका दुःखीपीडित, असहाय र अन्यायमा परेका महिला र बालबालिकाका लागि टेको बनेर उभिरहने प्रण छ उनको । ज्ञानले योग र कर्मले मात्र मान्छे महान् बन्छ । त्यस मार्गकी एक्लो यात्री हुन दिलमाया । अन्त्यमा दिलमायाको सुकर्मलाई राजधानीले चिनोस् । सिंहदरबारले नजर लगावस् र जुम्लाले मात्र होइन सिङ्गो कर्णालीले गर्वको अनुभूत गरोस् । दिलदार दिलमायाको अमृतसरि लक्ष्यलाई मेरो पनि साथ र शुभकामना ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र