बुटवल । लामो समयदेखि निर्माण ढिलाइका कारण यात्रु र स्थानीयवासीको आलोचनाको केन्द्र बनेको पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणघाट-बुटवल सडक विस्तार आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति ९१ प्रतिशत पुगेको सडक विभागले जनाएको छ । सडक विभागका महानिर्देशक डा. विजय जैसीले शनिबार नागढुंगा-नौबिसे तथा नारायणघाट-बुटवल सडकखण्डको स्थलगत अनुगमनपछि आयोजनाका अधिकांश मुख्य काम सम्पन्न भइसकेको जानकारी दिनुभएको हो ।
उहाँका अनुसार अब फिनिसिङ, ट्राफिक सेफ्टी, सर्भिस लेन तथा केही सहायक संरचनाको निर्माण मात्र बाँकी रहेको छ । महानिर्देशक जैसीले वर्षौंदेखि समस्याग्रस्त मानिएको नारायणघाट-बुटवल सडक अब सञ्चालनको हिसाबले सहज र सुरक्षित बन्दै गएको बताउनुभयो । उहाँले निर्माणको मुख्य चरण पूरा भइसकेकाले आगामी वर्षामा विगतजस्तो सास्ती नहुने दाबी गर्नुभयो । ‘नारायणघाट-बुटवल सडक लामो समयदेखि समस्याग्रस्त थियो । अहिले हामी निर्माणको अन्तिम चरणमा आइपुगेका छौँ । मुख्य संरचनात्मक कामहरू सकिएका छन् । अब फिनिसिङ, ट्राफिक सेफ्टी र सर्भिस लेन लगायतका काम भइरहेको छ’, उहाँले भन्नुभयो ।
दाउन्नेमा अब सास्ती खेप्नु नपर्ने
विशेषगरी वर्षायाममा अत्यधिक जोखिम र जामको समस्या झेल्दै आएको दाउन्ने क्षेत्र यसपटक भने सहज हुने विभागको दाबी छ । विभागका अनुसार दाउन्नेमा एकतर्फी दुई लेनको रिपेभमेन्ट कार्य सम्पन्न भइसकेको छ भने तेस्रो लेन निर्माण तीव्र गतिमा अघि बढिरहेको छ ।
महानिर्देशक जैसीले जेठ १५ गतेसम्म मुख्य निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो । ‘विगतका वर्षमा जस्तो वर्षायाममा सडक अवरुद्ध हुने अवस्था यसपटक दोहोरिने छैन । धेरैजसो काम सम्पन्न भइसकेका छन् । अब नेपाली जनताले दाउन्नेको कहर धेरै हदसम्म सहनु पर्दैन’, उहाँले भन्नुभयो ।
नारायणघाट-बुटवल सडकखण्ड विस्तारमा लामो समय ढिलाइ हुँदा यात्रुहरूले वर्षौंदेखि धुलो, हिलो, जाम र दुर्घटनाको जोखिम खेप्दै आएका थिए । देशकै अत्यधिक व्यस्त सडकखण्डमध्ये एक मानिने यस सडकको विस्तार कार्य सुस्त हुँदा सर्वसाधारणले निरन्तर सास्ती भोग्नुपरेको थियो । यसैबीच, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले शनिबार नागढुंगा-नौबिसे तथा नारायणघाट-बुटवल सडकखण्डको स्थलगत अनुगमन गरेको थियो । टोलीले नागढुंगा सुरुङमार्गको पनि निरीक्षण गरेको थियो ।
अनुगमनका क्रममा निर्माण व्यवसायीहरूले बिटुमिन अभावका कारण काममा चुनौती भइरहेको गुनासो गरेका थिए । उनीहरुले बिटुमिन आयातमा सहजीकरण गरिदिन सरकारसँग माग गरेका छन् । निर्माण सामग्रीको सहज आपूर्ति भए बाँकी काम निर्धारित समयमै सम्पन्न गर्न सकिने निर्माण व्यवसायीहरूको भनाइ थियो ।
यस्तै, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले शनिबारनै निर्माणधिण सिद्धवावा सुरुङमार्गको पनि स्थलगत अनुगमन गर्नुभएको छ । मन्त्री लम्सालले सुरुङमार्ग निर्माणमा भइरहेको प्रगति तथा निर्माणका क्रममा देखिएका समस्याका बारेमा जानकारी लिनुभएको थियो । उहाँले निर्माणलाई तीव्रता दिन निर्देशन पनि दिनुभयो । निर्माणका समयमा कुनै समस्या देखिएमा तत्काल मन्त्रालयमा जानकारी गराउन पनि आग्रह गर्नुभयो । मन्त्री लम्साल मन्त्रालयका कर्मचारी तथा सडकविभागका महानिर्देशकसहित सुरुङमार्गको स्थलगत अनुगमनको लागी पुग्नुभएको थियो । सिद्धार्थ राजमार्ग निर्माणाधिण सुरुङमार्ग सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको छ । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले २०८३ चैत्र भित्र निर्माण सक्नेगरी सुरुङमार्गको काम गरिरहेको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र