काठमाडौं । नेकपा एमालेको शनिबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । अध्यक्ष केपी शर्मा ओलीले शनिबार दिउँसो १ बजे आफ्नै निवास भक्तपुरको गुण्डुमा बस्नेगरी आह्वान गर्नुभएको उक्त बैठक दुई दिन पछाडि धकेलिएको हो । एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार आज (आइतबार) पर्ने मदन-आश्रित स्मृति दिवसको तयारीमा नेताहरू जुट्नुपर्ने भएकाले बैठक सोमबारका लागि सारिएको हो । बैठकमा सहभागी हुनुपर्ने कतिपय नेताहरू स्मृति दिवसको कार्यक्रमका लागि उपत्यका बाहिरसमेत जानुपर्ने भएका कारण अन्तिम समयमा आएर सचिवालय बैठक स्थगित गरिएको बताइएको छ । गत मंसिर २७ देखि पुस ३ गतेसम्म सम्पन्न ११औँ महाधिवेशनपछि एमालेको यो आठौँ सचिवालय बैठक हो ।
अध्यक्ष ओलीको स्वास्थ्य समस्या, गिरफ्तारी र राजनीतिक घटनाक्रमका कारण लामो समयदेखि पार्टीको औपचारिक र निर्णायक बैठक बस्न सकेको थिएन । ‘जेन–जी’ आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा प्रहरीले अध्यक्ष ओलीलाई चैत १४ गते पक्राउ गरेको थियो । पक्राउ परेको १२ दिनपछि अदालतको आदेशमा थुनामुक्त हुनुभएका ओलीको चैत ३० गते पत्थरीको शल्यक्रिया गरिएको थियो । वैशाख ५ गते अस्पतालबाट डिस्चार्ज भएपछि उहाँ घरमै स्वास्थ्य लाभ गरिरहनु भएको छ । स्वास्थ्य अवस्था पूर्ण रूपमा सुधार नभए पनि पार्टीभित्रको गतिरोध अन्त्य गर्न र तत्काल गर्नुपर्ने कामहरू टुंग्याउन अध्यक्ष ओली बैठक बोलाउन तयार हुनुभएको थियो । तर, अन्तिम समयमा बैठक स्थगित हुँदा पार्टीभित्र अनेकौँ राजनीतिक अड्कलबाजी सुरु भएका छन् ।
कार्यविभाजन कि निर्वाचनको निर्मम समीक्षा ?
पार्टीका सचिव महेश बस्नेतले सचिवालय बैठकले देशको समसामयिक राजनीतिक अवस्था, संगठन सुदृढीकरण, केन्द्रीय नेताहरूको कार्यविभाजन र सरकारका काम कारबाहीको गम्भीर समीक्षा गर्ने जानकारी दिनुभएको छ । ११औँ महाधिवेशन सम्पन्न भएको पाँच महिना बितिसक्दा पनि नेताहरूको कार्यविभाजन हुन सकेको छैन । निर्वाचनका बेला तदर्थ जिम्मेवारी पाएका नेताहरू अहिले भूमिकाविहीन अवस्थामा छन् । रमेश बडाल, मीनबहादुर शाही, भीष्म अधिकारी र भानुभक्त ढकालबाहेक अन्य पदाधिकारी र नेताहरूको ठोस जिम्मेवारी तोकिएको छैन ।
अध्यक्ष ओली पक्षका नेताहरू यही सचिवालय बैठकबाट नेताहरूको कार्यविभाजन टुंग्याएर सबैलाई गाउँ फर्काउने र सक्रिय बनाउने रणनीतिमा छन् । तर, पार्टीका असन्तुष्ट पदाधिकारीहरू भने कार्यविभाजनलाई प्रमुख एजेण्डा बनाएर निर्वाचनको हारको समीक्षा छल्ने प्रयास भइरहेको बताउँछन् । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमाले नराम्ररी पराजित भएको थियो । प्रत्यक्षतर्फ नौ र समानुपातिकतर्फ १६ गरी जम्मा २५ सिटमा खुम्चिएको एमालेका ४९ जना उम्मेदवारको त जमानत नै जफत भएको थियो । पञ्चायतपछिका कुनै पनि निर्वाचनमा एमाले यति धेरै कमजोर कहिल्यै भएको थिएन ।
यही शर्मनाक पराजयलाई लिएर एमालेभित्र नेतृत्व परिवर्तन र नीतिगत सुधारको बहस सुरु भएको छ । निर्वाचनको गम्भीर समीक्षा नगरी कार्यविभाजनको एजेण्डा मात्र अगाडि सार्दा मूल समस्या ओझेलमा पर्ने चिन्ता असन्तुष्ट पक्षको छ । सम्भावित विवाद छल्नकै लागि निर्वाचनको नतिजा समीक्षा गर्न एउटा कार्यदल बनाउने र त्यसैको प्रतिवेदनका आधारमा पछि छलफल गर्ने प्रस्ताव बैठकमा ल्याउने तयारी संस्थापन पक्षले गरेको बुझिएको छ ।
ओलीलाई छाड्दै विश्वासपात्र
निर्वाचन परिणामपछि एमालेभित्र संस्थापन र इतर समूहबीचको दूरी ह्वात्तै बढेको छ । हिजोका दिनमा अध्यक्ष ओलीका अत्यन्तै विश्वासपात्र मानिने उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेल अहिले नेतृत्व परिवर्तनको पक्षमा उभिनुभएको छ । उहाँहरूले ओलीलाई भेटेरै नेतृत्व हस्तान्तरणको विधि र प्रक्रिया सुझाउन आग्रह गरिसक्नु भएको छ ।
केही समयअघि गुण्डु पुगेर उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले अध्यक्ष ओलीलाई पार्टी नेतृत्व छाड्न सहज वातावरण बनाउने उपायहरूबारे छलफल गर्नुभएको थियो । नेताहरूको प्रस्तावमा ओलीले ठोस जवाफ नदिए पनि पार्टी नफुटाउन आग्रह गर्नुभएको एमाले स्रोतले जनाएको छ । उपाध्यक्ष पौडेल र महासचिव पोखरेललाई उपाध्यक्ष गोकर्ण विष्ट, रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई लगायतका नेताहरूले साथ दिनुभएको छ । अहिले रामबहादुर थापा बाहेकका अधिकांश पदाधिकारी ओलीको विकल्प खोज्ने पक्षमा उभिएका छन् ।
कार्यवाहक अध्यक्षको जिम्मेवारी पाउनुभएका रामबहादुर थापा ‘बादल’का अभिव्यक्तिहरूले पनि पार्टीभित्र असन्तुष्टि बढाएको छ । संसद् र पार्टी भेलाहरूमा बादलले दिएका विवादित अभिव्यक्ति र नेपाली सेनासम्बन्धी टिप्पणी पार्टी बैठक बसेरै सच्याउनुपरेको थियो । माओवादी पृष्ठभूमिबाट आएका नेतालाई ओलीले काखी च्यापेको भन्दै पुराना एमाले नेताहरू रुष्ट बनेका छन् ।
युवा विद्रोह र विद्या भण्डारीको प्रवेश
एमालेमा नेतृत्व फेर्नका लागि युवा नेताहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान नै चलाएका छन् । युवा नेता कमल जोशीका अनुसार दुई हजार तीन सय महाधिवेशन प्रतिनिधिमध्ये करिब सात सय प्रतिनिधिले विशेष महाधिवेशन आह्वान गर्दै हस्ताक्षर गरिसकेका छन् । महाधिवेशनमा ७५ प्रतिशत वर्चस्व राख्ने ओली पक्ष अहिले नेताहरूले कित्ता फेरेसँगै अल्पमतमा पर्ने खतरा बढेको छ ।
यसैबीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियताले पनि एमाले वृत्तमा तरंग ल्याएको छ । अध्यक्ष ओलीलाई भेट्न उहाँ गुण्डु नै पुग्नुभएको थियो । करिब दुई घण्टा लामो उक्त भेटघाट सामान्य शिष्टाचार मात्र नभई पार्टीको वर्तमान संकट, असन्तुष्टि र पार्टी पुनर्गठनको विषयमा केन्द्रित रहेको बताइन्छ । एमालेलाई नयाँ ढंगले अघि बढाउन वैकल्पिक नेतृत्वका रूपमा भण्डारीलाई अगाडि सार्ने विषयमा पनि केही नेताहरूले आन्तरिक छलफल चलाइरहेका छन् ।
कम्युनिष्ट एकताको कार्ड र नेताहरूको आशंका
आफूविरुद्ध तीव्र आक्रोश पोख्ने र नेतृत्वबाट हटाउन गतिविधि गर्ने नेताहरूप्रति अध्यक्ष ओली निकै रुष्ट हुनुहुन्छ । उहाँले असन्तुष्ट नेताहरूमाथि कारबाहीको डण्डा चलाउन सक्ने अनुमान पनि गरिएको छ । यसका साथै ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको पार्टीसँग एकताको प्रयास अगाडि बढाएको भन्दै एमालेका धेरै नेताहरू सशंकित बनेका छन् । पछिल्लो समय एमाले र नेकपाका नेताहरूबीच बाक्लो भेटघाट भइरहेको छ । यो विषयले सोमबार बस्ने सचिवालय बैठकमा पनि प्रवेश पाउन सक्ने आँकलन गरिएको छ । पद जोगाउनकै लागि दुवै दलका शीर्ष नेताहरूले एकताको कार्ड फालेको र यसले नेतृत्व पुनर्गठनको आन्तरिक दबाबलाई निस्तेज पार्ने रणनीति लिएको बुझाइ एमालेका असन्तुष्ट नेताहरूको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र