काठमाडौं । संसद्प्रति अनुत्तरदायी बनेको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहको अहिले आलोचना भइरहेको छ । वैशाख २८ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस गरिरहेको बेला संसद् बैठकबाट प्रधानमन्त्री शाह एकाएक बाहिरिएको विषयलाई लिएर विपक्षी दलले ठूलो मुद्दा बनाए । उक्त विषयमा विपक्षी दलहरूले उठाएको प्रश्नबारे बहस भइरहेको समयमा प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गर्ने नेपालको संसदीय व्यवस्थाको परम्परा नै तोडिदिनु भएको छ । सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा संसद्मा सांसदहरूले उठाएका सवालको प्रधानमन्त्रीले जवाफ दिने परम्परा पनि तोड्नुभएको छ । प्रधानमन्त्री सदनमा उपस्थित नभएको भन्दै बुधबार विपक्षी दलहरूले प्रतिनिधिसभा बैठक अवरुद्ध गरे । बिहीबार भने विपक्षी दलको बहिष्कार र विरोधबीच सभामुख डिपी अर्यालले सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गराउनुभएको थियो ।
प्रधानमन्त्री शाह संसद्प्रति अनुत्तरदायी बनेको भन्दै प्रमुख प्रतिपक्षी दल, संसदीय परम्पराका जानकार र नागरिक समाजका अगुवा लगायतले चर्को आलोचना गरिरहेका छन् । संसद्मा उठाइएका सार्वजनिक महत्त्वका विषयमा प्रधानमन्त्रीले स्पष्ट धारणा नदिएको तथा पटक-पटक संसद् बैठकमा अनुपस्थित रहने गरेको भन्दै विपक्षी दलहरू आक्रामक रूपले प्रस्तुत भइरहेका छन् । प्रतिपक्षी सांसदहरूले सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै प्रधानमन्त्री संसद्प्रति जिम्मेवार हुनुपर्ने संवैधानिक व्यवस्थाको स्मरण गराइरहेका छन् । महँगी, बेरोजगारी, विकास आयोजना ढिलाइ तथा सुशासनसँग सम्बन्धित विषयमा प्रधानमन्त्री मौन बसेको उनीहरूको आरोप छ ।
तर, सरकारको नेतृत्व गरिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’का नेताहरूले भने प्रधानमन्त्रीमाथि लगाइएका आरोप राजनीतिक प्रेरित भएको जिकिर गर्ने गरेका छन् । संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुनुपर्छ । राजनीतिक विश्लेषकहरूले संसद्सँगको प्रधानमन्त्रीको संवाद कमजोर हुँदा लोकतान्त्रिक अभ्यासमा असर पर्ने चेतावनी दिएका छन् । सदनमा उपस्थित नभएको भन्दै विपक्षी दलले आलोचना गरिरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह सामाजिक सञ्जाल फेसबुकमा भने सक्रिय देखिनुभएको छ । विपक्षी दलका नेताहरूले प्रधानमन्त्री संसद्मा निष्क्रिय र फेसबुकमा सक्रिय भएको आरोप लगाएका छन् । उनीहरूले संसद्मा उठेका प्रश्नका जवाफ फेसबुकबाट नभई संसद्मै आएर दिनुपर्ने बताएका छन् । आलोचनाकैबीच प्रधानमन्त्री शाह शनिबार डिडिसीको पनिर खाँदै फेसबुकमा झुल्किनुभएको छ ।
डिडिसी चिजको प्रचार
प्रधानमन्त्री बालेन्द्र शाहले शनिबार पुनः आफ्नो नयाँ फोटो सार्वजनिक गर्नुभएको छ । गत शनिबार सेतो सर्ट लगाएको फोटो सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा निकै चर्चा पाएको थियो । उहाँले शनिबार पुनः फोटो सार्वजनिक गर्नुभएको हो । तर, यसपटक प्रधानमन्त्रीले स्वदेशी उत्पादन याक चिजको प्रमोसन पनि गर्नुभएको छ । डिडिसीले उत्पादन गर्दै आएको याक चिज खाँदै गरेको फोटो उहाँले आफ्नो फेसबुकबाट सार्वजनिक गर्नुभएको हो । डिडिसीद्वारा उत्पादित चिज खाइरहेको तस्वीरसँगै उहाँले क्याप्सन लेख्नुभएको छ, ‘से चिज, डिडिसीको चिज ।’
दुग्ध विकास संस्थान (डिडिसी) ले मुख्यतया उच्च पहाडी क्षेत्रमा पालिने चौँरीको दूधबाट उच्च गुणस्तरको याक चिज उत्पादन गर्छ । डिडिसी मातहतका केन्द्रहरूबाट वार्षिक रूपमा करिब ३६ हजार केजी याक चिज उत्पादन गरिँदै आएको छ । प्रायः कालो कोटमा देखिने प्रधानमन्त्री बालेन्द्रले फेसबुकमा सेतो पहिरन लगाएको तस्वीर शनिबार दोस्रो पटक राख्नुभएको हो ।
हुन त र्यापर गायकसमेत रहनुभएका प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत प्रचार गर्ने कुनै पनि चिजवस्तु होस् वा स्टाटस विगतदेखि नै भाइरल हुने गरेका छन् । काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएर प्रचारपसार गर्नेक्रममा बालेन्द्र शाहले लगाएको चस्मा निकै भाइरल बनेको थियो । स्थानीय बजारमा बालेन्द्रले प्रयोग गर्ने चस्माको माग थेगिनसक्नु भएको थियो । यस्तै, गत शनिबार लगाएको सेता सर्ट, पाइन्ट र जुत्ताको पनि बजारमा निकै माग बढिरहेको छ । प्रधानमन्त्री बालेन्द्रले गत शनिबार फेसबुकमा सार्वजनिक गरेको फोटोमा देखिएको पहिरनको अहिले निकै माग रहेको भइरहेको व्यापारीहरूले बताएका छन् । बालेन्द्रका कतिपय स्टाटस पनि निकै भाइरल हुने गरेका छन् ।
प्रधानमन्त्री शाहमा जिम्मेवारीबोध देखिएन : आङ्देम्बे
प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैली र प्रवृत्तिको आलोचना गर्नुभएको छ । प्रतिपक्षी दलहरूले संसद्मा प्रधानमन्त्री खोज्दासमेत नभेटिने अवस्था बनेको टिप्पणी गर्नुभएका आङ्देम्बेले प्रधानमन्त्री शाहको जिम्मेवारीबोध कमजोर भएको आरोप लगाउँदै भन्नुभयो, ‘प्रतिपक्षीले संसद्भित्र खोज्दाखेरी प्रधानमन्त्री नभेटिने अवस्था छ । नीति तथा कार्यक्रमजस्तो महत्त्वपूर्ण विषयमा समेत नेतृत्वले स्वामित्व ग्रहण गर्न सक्दैन भने उहाँहरू आफ्नै भूमिकामा स्पष्ट हुनुहुन्न जस्तो देखिन्छ ।’ प्रमुख विपक्षी कांग्रेसले सरकारसँग परिणाम खोजेको उहाँको भनाइ छ ।
प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग नगर्न चेतावनी
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो नाम, प्रधानमन्त्रीको नाम तथा कार्यालयको लोगो दुरुपयोग गरी धम्की, प्रभाव वा दबाब सिर्जना गर्ने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जाल तथा विभिन्न माध्यममार्फत प्रधानमन्त्री वा कार्यालयको नाम प्रयोग गरेर अनुचित प्रभाव पार्ने, धम्की दिने तथा व्यक्तिलाई भ्रममा पार्ने कार्य भइरहेको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न चेतावनी दिएको हो । विज्ञप्तिमा कानुन र स्थापित प्रशासनिक प्रक्रियाअनुसार आफ्नो जिम्मेवारी पूरा गरिरहेका राष्ट्रसेवक कर्मचारीलाई पदीय मर्यादाविपरीत भय र त्रास सिर्जना गर्ने, अपमानित गर्ने तथा गलत सूचना फैलाउने कार्य निन्दनीय भएको उल्लेख गरिएको छ । यस्ता गतिविधिमा संलग्न जो–कोहीमाथि प्रचलित कानुनअनुसार कडा कारबाही गरिने स्पष्ट पारिएको छ ।
प्रधानमन्त्रीको नाम लिएर धाकधम्की दिने व्यक्तिबारे खबर गर्न अपिल
यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाहको नाम लिएर स्वार्थपूर्ति गराउने खोज्ने जुनसुकै व्यक्तिबारे पनि तत्काल सुरक्षा निकायका खबर गर्न अपिल गरेको छ । शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालले प्रेस विज्ञप्ति जारी गरी जुनसुकै व्यक्ति भए पनि तत्काल जानकारी गराउन अपिल गर्दै भन्नुभएको छ, ‘कुनै पनि व्यक्तिले आफ्नो निजी स्वार्थपूर्तिका लागि सम्माननीय प्रधानमन्त्रीज्यू, उहाँको सचिवालय वा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम लिँदै फोनमार्फत वा भेटमा धाकधम्की दिने, बार्गेनिङ गर्ने वा नाजायज दबाब सिर्जना गर्ने कार्य गरेमा त्यस्ता भ्रममा नपर्न र सोको जानकारी तत्काल नजिकको सुरक्षा निकाय वा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गराउन कार्यालय सम्पूर्णमा हार्दिक अपिल गर्दछ ।’
प्रधानमन्त्रीको नाम दुरुपयोग गर्दै धम्की दिने खड्का पक्राउ
प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गर्दै दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १३ का वडा सचिव कमल भण्डारीलाई गालीगलौज र धम्की दिएको घटना सार्वजनिक भएसँगै धम्की दिने कार्यमा संलग्न व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ वीरेन्द्रचोक टोल घर भई काठमाडौंको शंखमूल बस्ने २२ वर्षीय प्रकाश खड्का छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले शनिबार नियन्त्रणमा लिएको हो । आफूलाई जेन-जीको रूपमा समेत चिनाउने खड्का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्तासमेत रहेको खुलेको छ । उनले शुक्रबार दिउँसो वडासचिव भण्डारीलाई फोन गरी आफू प्रधानमन्त्री कार्यालयबाट बोलेको भन्दै तल्लो स्तरको गालीगलौज गरेका थिए । खड्काले आफ्ना चिनजानका व्यक्तिको सिफारिशको काम लाइन नबसी तुरुन्तै गरिदिन दबाब दिँदै प्रधानमन्त्री कार्यालयसहित जेन-जी पुस्ताको नाममा धम्क्याएका थिए । वडासचिव भण्डारीले यसअघि नै खड्काविरुद्ध प्रहरीमा उजुरी दर्ता गराएका थिए । खड्कालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले जानकारी दिनुभएको छ । घटना सार्वजनिक भएलगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शनिबार विज्ञप्ति जारी गर्दै दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन सुरक्षा निकायलाई निर्देशन दिएको थियो । प्रधानमन्त्री कार्यालयले आफ्नो नाम दुरुपयोग गरी कर्मचारीलाई धम्क्याउनु अक्षम्य अपराध भएको र यस्ता गतिविधिमा संलग्न जो-कोहीलाई पनि नछाडिने प्रतिबद्धता जनाएको छ ।







Good opportunity