काठमाडौं । नयाँ सरकार बनेको दुई महिना नपुग्दै सर्वोच्च अदालतले सरकारका काममा प्रश्न उठाएको छ । सर्वोच्चले सुकुम्बासी बस्ती नहटाउन सरकारलाई अन्तरिम आदेश दिएको चार दिन पनि नबित्दै गत सोमबार विद्यार्थी संघ संगठन तथा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) र कर्मचारी ट्रेड युनियन खारेजी गर्ने निर्णयमा प्रश्न उठाएको छ । त्यस्तै, नेपाल-भारत सीमा नाकाबाट दैनिक उपभोग्य सामानमा उठाउँदै आएको भन्सार शुल्कमा समेत सर्वोच्च अदालतले रोक लगाएको हो ।
भारतीय सीमा नाकाबाट सय रुपैयाँभन्दा बढी मूल्यको दैनिक उपभोग्य सामान ल्याउँदा भन्सार शुल्क लगाउने कार्य व्यापार सन्धिका प्रावधानविरुद्ध रहेको दाबी गर्दै अधिवक्ता अमितेश पण्डित लगायतले रिट दायर गरेका थिए । सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले सय रुपैयाँभन्दा माथिका वस्तुमा भन्सार लिने अर्थ मन्त्रालयको निर्णयमा रोक लगाउँदै अन्तरिम आदेश जारी गरेको हो ।
त्यस्तै, कर्मचारीका ट्रेड युनियन खारेजी रोक्न र विश्वविद्यालयमा विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले गत सोमबार अल्पकालीन अन्तरिम आदेश दिएको हो । अनेरास्ववियुका अध्यक्ष दीपक धामीसहित विभिन्न विद्यार्थी संगठनले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले तत्काल सो निर्णय कार्यान्वयन नगर्न भनेको हो । न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले अन्तरिम आदेश दिनुपर्ने वा नपर्ने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई झिकाउन आदेश दिएको छ ।
कर्मचारीका हकमा भने संवैधानिक इजलासमा मत बाझिएको छ । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिप्रसाद फुँयालले सरकारले अध्यादेशअनुरूप कानुन संशोधनमार्फत गरेको खारेजी निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गर्नुभएको हो । न्यायाधीश विनोद शर्मा र शारंगा सुवेदीले भने आदेशमा फरक मत राख्नुभएको हो ।
अध्यादेशमार्फत ऐन संशोधनपछि गरिएको खारेजीविरुद्ध नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय कार्यसमितिका तर्फबाट अध्यक्ष भवानी दाहालसमेतले रिट दायर गर्नुभएको थियो । उक्त रिटमा सुनुवाइ गर्दै संवैधानिक इजलासले सात दिनभित्र विपक्षीलाई लिखित जवाफ पेस गर्न आदेश दिएको छ । वैशाख २० गते जारी भएको अध्यादेश र सोहीमार्फत वैशाख २२ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट ट्रेड युनियनका कार्यालय बन्द गर्न निर्देशन दिइएको सूचना जारी भएको थियो ।
संवैधानिक हकको सुनिश्चितता गर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतमा दायर भएका रिटहरूमा नागरिकको मौलिक हकको संरक्षणको जिकिर लिइएका छन् । संविधानले संरक्षण गरेका हकहरूको हस्तक्षेप हुने गरी सरकारले निर्णय लिन थालेपछि नागरिकहरू आफ्नो हक संरक्षणका लागि अदालत गुहारेका हुन् । संवैधानिक हकलाई संरक्षण गर्न सर्वोच्चले सरकारका एकपछि अर्को निर्णयमा रोक लगाएको हो ।
निजामती कर्मचारी ऐनमा आधिकारिक ट्रेड युनियनका तर्फबाट गरिने प्रतिनिधित्वलाई सुनिश्चित गरिएको छ । ऐनको दफा ५३ ले निजामती कर्मचारीहरूको ट्रेड युनियनसम्बन्धी व्यवस्था गरेको छ । ‘उक्त व्यवस्था नेपालको संविधानको धारा १७ को स्वतन्त्रताको हकअन्तर्गत उपधारा (२) को खण्ड (घ) मा रहेको ‘संघसंस्था खोल्ने स्वतन्त्रता र ऐ धारा ३४ को उपधारा (३) को ट्रेड युनियन खोल्ने, त्यसमा सहभागी हुने तथा सामूहिक सौदाबाजी गर्ने हकको संवैधानिक प्रत्याभूतिसँग जोडिएको भन्ने निवेदक मागदाबी तथा विद्वान् कानुन व्यवसायीहरूको जिकिर रहेको सन्दर्भलाई विचार गर्दा हाललाई केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ को दफा १० कार्यान्वयन नगर्नू नगराउनू भनी सर्वोच्च अदालत (संवैधानिक इजलास सञ्चालन) नियमावली, २०७२ को नियम १९ को उपनियम (४) बमोजिम विपक्षीहरूका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ’, बहुमतको आदेशमा भनिएको छ ।
विद्यार्थी संगठन तथा स्ववियु र कर्मचारी संगठन खारेजीको निर्णय हाललाई कार्यान्वयन नगर्न आदेश दिएपछि प्रधानमन्त्री बालेन्द्र शाहको निर्णयमा प्रश्न उठेको छ । सरकारको नेतृत्व गरेको एक महिना नपुग्दै सुकुम्बासीहरूलाई डोजर लगाएर उठीबास गरेका शाहलाई सर्वोच्चले सुकुम्बासी बस्ती नहटाउन अन्तरिम आदेश यसअघि नै दिएको थियो ।
नैतिक संकटमा सरकार
अदालतले काठमाडौंका विभिन्न नदीकिनार र सार्वजनिक स्थानमा बनाइएका बस्ती नहटाउन अन्तरिम आदेश जारी गरेसँगै सरकारलाई निर्णय लिँदा सोच्न बाध्य बनाएको छ । सुकुम्बासीका परिवारहरूलाई बनेपा, इचंगुनारायण, बोडे, नगरकोट, सल्लाघारीलगायत सार्वजनिक आश्रममा लगेर राखिएको छ । जसले गर्दा उनीहरूको रोजगारी, औषोधोपचार, शिक्षा, गाँस, बाँसको अवस्था अन्योलमा परेको छ । यस्तो अवस्थामा सर्वोच्च अदालतले उचित व्यवस्थापन नगरी बस्ती हटाइएको भन्दै त्यसमा रोक लगाएको हो । सुकुम्बासी बस्ती नहटाउन भन्दै सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको हो । गोपाल रनपहलीसमेत ११ जनाले वैशाख ११ गते रिट निवेदन दर्ता गरेका थिए । रेग्मी तिनै न्यायाधीश हुन् जो प्रधानन्यायाधीशको रोलक्रममा हुनुहुन्थ्यो ।
तर, बालेन्द्र सरकारले रोलक्रम मिचेर चौथो नम्बरका न्यायाधीश मनोज शर्मालाई प्रधानन्यायधीशमा नियुक्तिका लागि सिफारिश गर्यो । यसको असर सुकुम्बासीहरूको रिट सुनुवाइका क्रममा देखिएको अनुमान गरिएको छ । सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई बसोबास गरिरहेको स्थानबाट विस्थापन गरी अन्यन्त्र व्यवस्थापन गर्ने सम्बन्धमा कानुनको उचित प्रक्रिया अवलम्बन नगरी निजहरूको बासस्थानबाट हटाउँदा, शिक्षा, स्वास्थ्य, आवास लगायतका हकमा अपूरणीय क्षति हुने सर्वोच्चको ठहर थियो ।
‘सुकुम्बासी र अव्यवस्थित बसोबासीको दीर्घकालीन व्यवस्थापन गर्न लागिएको र सबै उठाएका सुकुम्बासीहरूलाई मानवोचित व्यवहार एवं आधारभूत आवश्यकता उपलब्ध गराइएको भनी इजलाससमक्ष जानकारी गराए पनि बस्तीबाट उठाइएका सबै सुकुम्बासीहरूलाई आधारभूत आवश्यकता परिपूर्ति नभएको भन्ने निवेदक एवं राष्ट्रिय मानव अधिकार आयोगका तर्फबाट समेत समस्या औँल्याइएको सन्दर्भमा विस्थापित सुकुम्बासी वा अव्यवस्थित बसोबासीहरूका हकमा निजहरूको आवास, शिक्षा, स्वास्थ्य, खाद्यान्न समेतको आधारभूत आवश्यकता उपलब्ध गर्ने गराउने थप प्रभावकारी कार्य गर्नू गराउनू भनी सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ बमोजिम प्रस्तुत निवेदनको टुंगो नलागेसम्म विपक्षीहरूका नाममा अन्तरिम आदेश जारी गरिदिएको छ’, आदेशमा भनिएको छ ।
त्यस्तै, प्रस्तुत रिट निवेदनमा सुकुम्बासी र अव्यवस्थित बसोबासीको समुचित व्यवस्थापनसम्बन्धी गम्भीर प्रश्न निहित रहेकाले चाँडो निरूपण हुनुपर्ने प्रकृतिको देखिँदा विपक्षीबाट लिखित जवाफ परे वा पर्ने अवधि व्यतीत भएपछि १५ दिनभित्र पूर्ण सुनुवाइका लागि सर्वोच्च अदालत नियमावली २०७४ नियम ७६ बमोजिम अग्राधिकार प्रदान गरिएको सर्वोच्चले जनाएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र