कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको आयोजना तथा अनेसास कोलोराडो च्याप्टरको संयोजनमा कोलोराडोमा मे महिनाको तेस्रो साता आयोजना हुन गइरहेको नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा अनेसास बोर्ड अफ ट्रष्टीका सभापति पदम विश्वकर्माले सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।
उहाँले नेपालसहित विश्वका विभिन्न मुलुकबाट १२५ जना साहित्यकार, लेखक तथा पत्रकारहरूको सहभागिता रहने बताउनुभयो । साथै, कोलोराडो राज्यका ५० भन्दा बढी स्रष्टा तथा साहित्यप्रेमीको उपस्थिति रहने उहाँको भनाइ थियो ।
बीओटी सभापति विश्वकर्माले सम्मेलनमा मदन पुरस्कार विजेता डा. नवराज लम्साल, नीलम कार्की निहारिका, वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशी, ख्यातिप्राप्त अंग्रेजी साहित्यकार डा. ज्याकलिन केरबेक, रेड ओ’लाफ्लिन, होमनाथ सुवेदी, राधेश्याम लेकाली, गोवर्द्धन पूजा, पुरु सुवेदी, मोहन सिटौला, भुटानी साहित्य परिषद्का अध्यक्ष खेम रिजाल ऊर्जा, पत्रकार तथा लेखक सुधीर शर्मा, बबिता बस्नेत, बसन्त बस्नेत, विपुल पोखरेल, नारायण श्रेष्ठ, प्रेम बाँनियाँ, सुरज भण्डारीलगायत १७५ जनाभन्दा बढीको सहभागिता रहने जानकारी दिनुभयो ।
उहाँले चार दिनसम्म सञ्चालन हुने सम्मेलनको अन्तिम दिन सहयोगी व्यक्ति तथा संघसंस्थाहरूलाई सम्मान गरिने जानकारी पनि दिनुभयो । अनेसासका महासचिव राजु सिटौलाले सम्मेलनका लागि कोलोराडोको वेस्टमिन्स्टरस्थित होटल ड्रुरी इनमा ५० भन्दा बढी कोठा बुक गरिएको जानकारी दिनुभयो ।
उहाँले २२ मेमा अतिथिहरूको स्वागतमा रात्रीभोज आयोजना गरिने तथा सम्मेलनको औपचारिक उद्घाटन २३ मेमा गरिने बताउनुभयो ।
महासचिव सिटौलाले २३ र २४ मेमा विभिन्न सत्रमार्फत ख्यातिप्राप्त साहित्यकार तथा लेखकहरूबीच साहित्यका विविध विधामा बहस तथा छलफल गरिने जानकारी दिनुभयो । उहाँले सम्मेलनका दुई दिन बिहान योगा तथा साँझ काव्य उत्सव आयोजना गरिने पनि बताउनुभयो ।
सिटौलाका अनुसार सम्मेलनको पहिलो दिन ‘इतिहासमा आख्यान र आख्यानमा इतिहास’ शीर्षकमा मदन पुरस्कार विजेता नीलम कार्की निहारिका, पत्रकार तथा लेखकद्वय सुधीर शर्मा र बसन्त बस्नेतबीच बहस कार्यक्रम सञ्चालन हुनेछ । उक्त सत्रको सहजीकरण पत्रकार नारायण श्रेष्ठले गर्नुहुनेछ ।
उहाँले सम्मेलनको चौथो तथा अन्तिम दिन अतिथिहरूलाई कोलोराडोका ऐतिहासिक तथा पर्यटकीय गन्तव्यहरूको भ्रमण गराइने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
अनेसासकी केन्द्रीय कोषाध्यक्ष तारा अधिकारीले सम्मेलनमा ५३ हजार अमेरिकी डलर खर्च हुने अनुमान गरिएको बताउँदै हालसम्म ३५ हजार डलर संकलन भइसकेको र बाँकी रकम पनि चाँडै संकलन हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले सम्मेलनलाई भव्यतापूर्वक सम्पन्न गर्न स्वस्फूर्त रूपमा विभिन्न मनकारी व्यक्ति तथा संघसंस्थाबाट सहयोग प्राप्त भइरहेको जानकारी दिनुभयो । साथै, सहयोग गर्ने सम्पूर्ण दाता तथा संघसंस्थाप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष तथा सम्मेलन संयोजक किरण अधिकारीले सम्मेलनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । उहाँले सम्मेलनलाई भव्य रूपमा सम्पन्न गर्न कोलोराडोका विभिन्न संघसंस्था तथा व्यक्तिहरूबाट उत्साहजनक सहयोग प्राप्त भएको बताउनुभयो ।
सम्मेलन संयोजक अधिकारीले अतिथिहरूका लागि आवास, भोजन तथा भ्रमणको उचित व्यवस्थापन मिलाइएको जानकारी दिनुभयो । उहाँले विश्वका विभिन्न मुलुकबाट आउने अतिथिहरूलाई ‘कलरफुल कोलोराडो’मा स्वागत गर्न आफूहरू आतुर रहेको बताउनुभयो ।
सम्मेलनमा फुड पार्टनरका रूपमा आबद्ध कोलोराडोस्थित नेपाली रेस्टुरेन्टहरूले अतिथिहरूका लागि स्वादिष्ट नेपाली परिकारको व्यवस्था गर्ने जानकारी पनि उहाँले दिनुभयो । सांस्कृतिक समितिका संयोजक विजयदेव अधिकारीले सम्मेलनमा विभिन्न जातजाति तथा समुदायका झाँकीसहित सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने जानकारी दिनुभयो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र