काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टीभित्र देखिएको विवाद समाधानका लागि आफू सक्रिय रूपमा प्रयासरत रहेको बताउनुभएको छ ।
प्रजातान्त्रिक विचार समाज, नेपालको साधारणसभामा बोल्दै उहाँले पार्टीभित्र देखिएको समस्या समाधानका लागि आफू लचिलो हुन तयार रहेको उल्लेख गर्नुभयो । १४ औँ महाधिवेशनबाट निर्वाचित नेताहरूलाई पुनः पार्टी संरचनामा जिम्मेवारी दिन आफू तयार रहेको उहाँको भनाइ थियो ।
उहाँले महाधिवेशनबाट निर्वाचित धेरै नेता अहिले केन्द्रीय समितिबाट बाहिर रहेको भन्दै सबैलाई सम्मानपूर्वक समेटेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । साथै विशेष महाधिवेशन पक्ष र विपक्षका आधारमा विभेद नगरी सबैलाई समान अवसर दिनुपर्ने प्रस्ताव आफूले अघि सारेको पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, “पार्टीको १४ औँ महाधिवेशनबाट निर्वाचित नेताहरूलाई सम्मानका साथ पुनः जिम्मेवारीमा ल्याएर सँगै काम गर्न चाहन्छु । सदस्यता, निर्वाचन समिति र अनुशासन समितिमा सबैलाई समेटेर अघि बढौँ ।”
उहाँले सदस्यता अध्यावधिक प्रक्रियालाई लिएर पार्टीभित्र अनावश्यक विरोध भइरहेको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो । देशभरका सदस्यहरूलाई सदस्यता नवीकरणमा सहभागी हुन आग्रह गरिए पनि केही नेताहरूले त्यसमा अवरोध गर्न खोजिरहेको उहाँको आरोप थियो ।
उहाँले सबै नेताहरूलाई पार्टी सदस्यता अध्यावधिक प्रक्रियामा सहयोग गर्न आग्रह गर्दै काँग्रेसलाई पुनः सुदृढ र एकताबद्ध बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
त्यसैगरी उहाँले नागरिकको आत्मसम्मान र मौलिक अधिकारका विषयमा कुनै सम्झौता नहुने स्पष्ट पार्नुभयो । नागरिक अधिकार कुण्ठित हुने गरी कुनै पनि कदम स्वीकार्य नहुने उहाँको भनाइ थियो ।
सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएको विषयप्रति आपत्ति जनाउँदै उहाँले राज्य नागरिक अधिकारभन्दा माथि हुन नसक्ने बताउनुभयो । सुशासनका नाममा नागरिक अधिकार कमजोर बनाउने अभ्यास स्वीकार्य नहुने भन्दै लोकतान्त्रिक राज्यमा संविधान र कानुनको परिधिभित्र मात्र सरकार चल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले सुशासन, शिक्षा, स्वास्थ्य, रोजगारी तथा कृषि क्षेत्रमा सकारात्मक काम भएमा काँग्रेसको समर्थन रहने तर नागरिक अधिकार कुण्ठित हुने कदमको विरोध निरन्तर रहने स्पष्ट पार्नुभयो ।
लोकतन्त्र, संविधान र नागरिक अधिकारको रक्षाका लागि काँग्रेसले सदन र सडक दुवै माध्यमबाट संघर्ष जारी राख्ने उहाँको भनाइ छ ।
राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र