मेक्सिको सिटी । फिफा विश्वकप २०२६ ले फुटबल इतिहासमा पहिलोपटक धेरै नयाँ आयाम र रोमाञ्चक खेलहरूको लहर ल्याउने निश्चित छ । भर्खरै विस्तार गरिएको ४८ टोलीको भव्य प्रतियोगितालाई अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दैछन् । ऐतिहासिक संस्करणमार्फत् कुराकाओ, जोर्डन, उज्वेकिस्तान र केप भर्डेजस्ता चारवटा नयाँ देशहरूले विश्वकपको प्रतिष्ठित मञ्चमा पहिलोपटक डेब्यु गर्दैछन् ।
यी डेब्यु गर्ने टोलीहरूमध्ये अफ्रिकी महाद्वीपको एउटा सानो टापु राष्ट्र केप भर्डेको यात्रा विशेष र लोभलाग्दो छ । जम्मा आधा मिलियन (पाँच लाख)भन्दा केही बढीमात्र जनसंख्या भएको यो देश फुटबलको सबैभन्दा ठूलो महाकुम्भमा छनोट हुने इतिहासकै तेस्रो सबैभन्दा सानो राष्ट्र बनेको छ । यसअघि कुराकाओ र आइसल्याण्डले मात्र योभन्दा सानो जनसंख्या भएर पनि विश्वकप खेल्ने गौरव प्राप्त गरेका थिए ।
केप भर्डेको यो यात्रा निकै संघर्षपूर्ण र प्रभावशाली रहेको थियो । छनोट चरणमा ‘ब्लु शार्क’ उपनामले चिनिने केप भर्डेको टोलीले अफ्रिकी फुटबलको परम्परागत पावरहाउस मानिने क्यामरुनलाई स्तब्ध पार्दै आफ्नो समूहको शीर्ष स्थान कब्जा गरेको थियो । टोलीले क्यामरुनभन्दा स्पष्ट चार अंकको अग्रता बनाउँदै विश्वकपको टिकट काटेको हो । ऐतिहासिक छनोट अभियानमा केप भर्डेले लगातार पाँच खेल जित्दै उत्कृष्ट प्रदर्शन गरेको थियो, जसमा सेप्टेम्बर २०२५ मा क्यामरुनमाथि हात पारेको अविस्मरणीय १-० को जित मुख्य आकर्षण बन्यो । अन्ततः अक्टोबर १३, २०२५ मा इस्वातिनीलाई ३-० को फराकिलो अन्तरले पराजित गर्दै केप भर्डेले विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्यो, जसले देशको राजधानी प्रियालगायत विश्वभर छरिएका केप भर्डेका नागरिकहरूमा खुसीको अभूतपूर्व लहर ल्याइदियो ।
टोलीका मुख्य प्रशिक्षक पेड्रो लेइटाओ ब्रिटो, जो बुबिस्टा नामले चर्चित हुनुहुन्छ, हालै अमेरिकाको एटलान्टास्थित मर्सिडिज-बेन्ज स्टेडियमको भ्रमणका क्रममा निकै उत्साहित र गर्वले गद्गद् देखिनुहुन्थ्यो । केप भर्डेले आगामी जुन १५ मा सोही रंगशालामा २०१० को विश्वकप विजेता तथा वर्तमान युरोपेली च्याम्पियन स्पेनविरुद्ध खेल्दै आफ्नो विश्वकप अभियानको सुरुवात गर्नेछ ।
स्पेनजस्तो बलियो टोलीविरुद्धको पहिलो खेल निकै कठिन हुने स्वीकार गर्दै प्रशिक्षक बुबिस्टाले विपक्षी टोली र तिनका खेलाडीको सम्मान गर्ने तर आफूहरू मैदानमा डराएर नबस्ने स्पष्ट पार्नुभयो । फुटबलको मैदानमा जे पनि सम्भव हुने विश्वास राख्दै उहाँले आफूहरूसँग बलियो हृदय, उच्च टोली भावना र अटुट एकता रहेको दाबी गर्नुभयो । एकता नै आफ्नो टोलीको मुख्य शक्ति भएको बताउँदै उहाँले आफूहरू सानो देश भए पनि ठूला टोलीहरूविरुद्ध बराबर टक्कर दिन सक्छौं र संसारमा केही पनि असम्भव छैन भन्ने कुरा प्रमाणित गर्न दृढ संकल्पित रहेको सन्देश दिनुभयो ।
पछिल्लो समय सन् २०१३ मा अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनल पुगेको र त्यसको एक दशकपछि पनि लगातार राम्रो प्रदर्शन गरिरहेको केप भर्डेको टोली अनुभवी र युवा खेलाडीहरूको उत्कृष्ट मिश्रण हो । टोलीमा भिल्लारियलका रक्षापंक्तिका खेलाडी लोगान कोस्टा र पेरिस सेन्ट-जर्मेनका १८ वर्षीय उदीयमान प्रतिभा फाबियो डोमिंगोस सामेल हुनुहुन्छ । त्यस्तै, टोलीको नेतृत्व ३६ वर्षीय भेट्रान खेलाडी रायन मेन्डेसले गरिरहनुभएको छ, जो राष्ट्रिय टोलीका लागि ९० भन्दा बढी खेल खेल्ने सबैभन्दा अनुभवी र इतिहासकै धेरै गोल गर्ने खेलाडी हुनुहुन्छ ।
फिफा विश्वकप २०२६ को समूह चरणमा केप भर्डेले स्पेनका अतिरिक्त दक्षिण अमेरिकी पावरहाउस उरुग्वे र २०३४ को विश्वकप आयोजक साउदी अरेबियाजस्ता बलिया टोलीहरूको सामना गर्नेछ । कागजमा कमजोर देखिए पनि यो टोली गुमाउनु केही नभएको र इतिहास रच्ने उद्देश्यका साथ मैदान उत्रनेछ । विगत केही महिनादेखि हरेक पाइलामा नयाँ इतिहास लेख्दै आएको पश्चिम अफ्रिकी टापु राष्ट्र केप भर्डेलाई केवल संख्या थप्न आएको टोलीका रूपमा बुझ्ने गल्ती विपक्षीहरूका लागि भारी पर्न सक्ने खेल विश्लेषकहरूको अनुमान छ । एजेन्सी







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र