मुगु । मुगुम कार्मारोङ गाउँपालिकाको आयोजना तथा अल नेपाल स्पोर्ट्स फाउण्डेसनको सहकार्यमा आयोजित ‘प्रथम छायाँनाथ अल्ट्रा रेस’मा पुरुषतर्फ धिरबहादुर बुढा र महिलातर्फ सुनमाया बुढा प्रथम हुनुभएको छ । आइतबार बिहान ६ः४० बजे किम्रीबाट सुरु भएको ३३ किलोमिटर दूरीको प्रतियोगितामा १२ महिला र ४६ पुरुष गरी कुल ५८ जना धावक सहभागी भएका थिए । धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको रेस किम्रीबाट सुरु भई छायाँनाथ, चिताइकुना हुँदै पुलुमा पुगेर सम्पन्न भएको थियो ।
पुरुषतर्फ धिरबहादुर बुढाले तीन घण्टा ५७ मिनेट २५ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै पहिलो स्थान हासिल गर्नुभयो । दलबहादुर कुँवर चार घण्टा दुई मिनेट १० सेकेण्डमा दोस्रो तथा चन्द्रबहादुर रावत चार घण्टा पाँच मिनेटमा तेस्रो हुनुभयो । अर्जुन कुलुङ राई चार घण्टा २४ मिनेटमा चौथो र रमेश लिम्बू चार घण्टा ३० मिनेट १० सेकेण्डमा पाँचौँ स्थानमा रहनुभयो ।
गाउँपालिकाका सूचना अधिकारी सोबिन्द्र मल्लका अनुसार महिलातर्फ सुनमाया बुढाले पाँच घण्टा २५ मिनेट ५० सेकेण्डमा दौड पूरा गर्दै पहिलो स्थान हासिल गर्नुभयो । राममाया बुढा पाँच घण्टा २६ मिनेट ४० सेकेण्डमा दोस्रो तथा कल्पना बुढा पाँच घण्टा ३५ मिनेट २० सेकेण्डमा तेस्रो हुनुभयो । सम्जेदा बुढा पाँच घण्टा ४० मिनेट १० सेकेण्डमा चौथो र निर्मला राई पाँच घण्टा ४८ मिनेटमा पाँचौँ स्थानमा रहनुभयो ।
आयोजकका अनुसार प्रतियोगितामा सहभागीमध्ये २३ जना अन्तर्राष्ट्रिय मापदण्डका खेलाडी थिए । प्रतियोगितामा दुई जना एलिट, पाँच जना इन्टरमिडिएट, नौ जना एड्भान्स तथा सात जना एक्सप्लोर वर्गका धावकको सहभागिता रहेको थियो । अल नेपाल स्पोर्ट्स फाउण्डेसनका सञ्जय अधिकारीका अनुसार एभरेस्ट, मञ्जुश्री, चाँगुनारायण, जुम्ला-रारा तथा रारा ट्रेल रनलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिसकेका चर्चित धावकहरूको सहभागिताले प्रतियोगिता थप रोमाञ्चक बनेको थियो ।
प्रतियोगिताको प्राविधिक सहयोग नेपाल एड्भेन्चर रनिङ महासंघले गरेको थियो । मुख्य अल्ट्रा रेससँगै स्थानीयस्तरमा पाँच किलोमिटर दूरीको ‘फन रन’ पनि सोमबार बिहान सञ्चालन गरिने आयोजकले जनाएको छ । सोमबार विजेताहरूलाई नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । महिला तथा पुरुषतर्फ प्रथम हुनेले जनही दुई लाख रुपैयाँ, दोस्रो हुनेले एक लाख ५० हजार, तेस्रो हुनेले एक लाख, चौथो हुनेले ७५ हजार तथा पाँचौँ हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसैगरी पाँच किलोमिटर ‘फन रन’तर्फ प्रथम हुनेलाई ३० हजार, दोस्रोलाई २० हजार र तेस्रोलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले छायाँनाथ क्षेत्रलाई धार्मिक तथा साहसिक खेल पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार यस्ता कार्यक्रमले स्थानीय संस्कृति, प्राकृतिक सम्पदा तथा हिमाली जीवनशैलीलाई विश्वसामु चिनाउन मद्दत पुग्नेछ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र