नेपालगञ्ज । अन्तर्राष्ट्रिय दौड संस्था एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) ले नेपालको धारा नेपालगञ्ज म्याराथनलाई यस वर्षको प्रतिष्ठित ‘एम्स सोसल अवार्ड’ प्रदान गर्ने घोषणा गरेको छ । विश्वभरका दौड आयोजकमध्ये छनोट हुने यो पुरस्कारलाई दौड जगत्को सम्मानित अवार्ड मानिन्छ ।
उक्त अवार्ड नर्वेको ट्रम्सोमा जुन १८ देखि २० सम्म हुने एम्सको २५औँ वर्ल्ड कंग्रेसमा प्रदान गरिनेछ । छनोट समिति संयोजक तथा एम्स उपाध्यक्ष मार्था मोरालेसले नेपालगञ्ज म्याराथनका संस्थापक टिएस ठकुरीलाई पत्रमार्फत् अवार्डबारे जानकारी दिँदै बधाई व्यक्त गर्नुभएको छ ।
मार्थाले पत्रमा नेपालगञ्ज म्याराथनलाई खेलकुदको दिगो विकास, सामाजिक उत्तरदायित्व र उत्कृष्ट व्यवस्थापन अभ्यासका आधारमा छनोट गरिएको उल्लेख गर्नुभएको छ । उहाँका अनुसार यो पुरस्कारले नेपालगञ्ज म्याराथनले समाजमा सञ्चालन गरेका सामाजिक अभियान र सकारात्मक पहलको सम्मान गरेको हो । यसअघि ग्रेट इथोपियन रन (इथोपिया), टोकियो म्याराथन (जापान), म्युनिख म्याराथन (जर्मनी), बेलग्रेड म्याराथन (सर्बिया) लगायत प्रतिष्ठित प्रतियोगिताले यो अवार्ड प्राप्त गरिसकेका छन् ।
नेपालगञ्ज म्याराथन २०७२ सालदेखि सञ्चालन हुँदै आएको छ । विस्तृत शान्ति सम्झौताको स्मरणमा सुरु गरिएको म्याराथनले शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश फैलाउने उद्देश्य लिएको छ । म्याराथनसँगै गौघाट ग्रिन रन, राप्तीसोनारी नेचर रन, नेपालगञ्ज १० के नाइट रन, काठमाडौं २५ किलोमिटर हेरिटेज रेस तथा कर्णाली हाफ म्याराथनजस्ता कार्यक्रम पनि सञ्चालन हुँदै आएका छन् ।
संस्थापक टिएस ठकुरीले अन्तर्राष्ट्रिय अवार्डले नेपाली दौड संस्कृतिलाई विश्वमाझ चिनाउन थप ऊर्जा मिल्ने बताउनुभयो । उहाँका अनुसार नेपालगञ्ज म्याराथनले दौडलाई खेलमात्र नभई सामाजिक अभियानका रूपमा अघि बढाइरहेको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र