काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस विभाजनको डिलमा उभिएको छ । तर, पार्टी संकटको अन्तिम घडीमा पनि नेताहरू एक-अर्कालाई तर्साउने र गलाउने दाउपेचमा लागेका छन् । संस्थापन इतर समूह समानान्तर गतिविधि गर्दै नेतृत्वलाई विभाजनको धम्की दिइरहेको छ । अर्कोतर्फ पार्टी सभापति गगन थापा भने असन्तुष्ट पक्षलाई गलाउने रणनीतिमा हुनुहुन्छ । यो गम्भीर संकट समाधान गर्नुको साटो दुवै पक्ष एक–अर्कालाई गलाउने रणनीतिमा लागेका हुन् । विशेष महाधिवेशनपछि पूर्व–कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको समूहले यतिखेर धम्कीको राजनीतिलाई आफ्नो प्रमुख हतियार बनाएको छ ।
आफ्नै गृहजिल्ला सुर्खेतमा कर्णाली प्रदेशस्तरीय भेला आयोजना गरेर खड्काले पार्टी विभाजनको डिलमा पुगेको उद्घोष गर्दै नेतृत्वलाई दबाबमा राख्ने रणनीति अख्तियार गर्नुभएको छ । स्थानीय तहदेखि केन्द्रसम्म समानान्तर गतिविधि सञ्चालन गरिरहेको समूहले आफूहरूको सम्मानजनक व्यवस्थापन नभए पार्टी कुनै पनि बेला फुट्नसक्ने ‘अल्टिमेटम’ दिइसकेको छ । खड्काले सार्वजनिक मञ्चबाटै पार्टी मिलाउने कि फुटाउने भन्ने सम्पूर्ण जिम्मा सभापति थापाको हातमा रहेको चेतावनी दिइसक्नु भएको छ ।
खड्का समूहले निरन्तर विभाजनको धम्की दिइरहँदा पार्टी सभापति थापाले भने रक्षात्मक हुनुभएको छ । असन्तुष्ट पक्षका नेताहरूलाई समेट्ने नाममा उहाँले विभिन्न पद र सम्मानको आश्वासन बाँड्न थाल्नुभएको छ । १४औँ महाधिवेशनबाट निर्वाचित तर, हाल केन्द्रीय समितिबाट बाहिर रहेका सबै अग्रज नेताहरूलाई स–सम्मान केन्द्रीय समितिमा ल्याउने घोषणा गरेर उहाँले इतर पक्षलाई फकाउने प्रयास गरिरहनु भएको छ ।
फकाउने रणनीतिअन्तर्गत इतर समूहका १९ जनालाई हालै केन्द्रीय सदस्यमा मनोनीत गरिएको थियो । यद्यपि, बिनापरामर्श गरिएको भन्दै यो कदमले असन्तुष्ट पक्षलाई फकाउनुको सट्टा झन् चिढ्याउने काम गर्यो ।
चेपुवामा कार्यकर्ता
नेताहरूको धम्क्याउने र फकाउने जुहारीको प्रत्यक्ष असर भने पार्टीको आधारभूत तहमा परेको छ । विशेष गरी महाधिवेशनको मुखमा भइरहेको क्रियाशील सदस्यता अद्यावधिक प्रक्रिया विवादको सिकार बनेको छ । संस्थापन पक्षले ‘जरा अभियान’मार्फत सदस्यता नवीकरणलाई तीव्रता दिन खोजिरहेको छ भने इतर पक्षले यसलाई आफ्नो बार्गेनिङको हतियार बनाउँदै कार्यकर्तालाई सदस्यता अद्यावधिक नगर्न उर्दी जारी गरेको छ । एकथरी नेताहरू फोन र म्यासेन्जरमार्फत सदस्यता नवीकरण गर्न फकाइरहेका छन् भने अर्काथरी नेताहरू अद्यावधिक गरे कांग्रेस सकिन्छ भन्दै धम्क्याइरहेका छन् । विभाजनको यो डिलमा उभिएर नेताहरूले खेलिरहेको दाउपेचले कांग्रेसको ऐतिहासिक विरासत र सैद्धान्तिक धरातल भने ओझेलमा परेको टिप्पणी भइरहेको छ ।
मध्यमार्गी रणनीति
खड्का समूहको तीव्र दबाब र चेतावनीबीच सभापति गगन थापाले भने अत्यन्तै लचिलो र समन्वयकारी नीति अख्तियार गर्नुभएको छ । पार्टीमा देखिएको विवाद समाधानका लागि आफूले निरन्तर कोसिस गरिरहेको बताउँदै थापाले १४औँ महाधिवेशनबाट निर्वाचित तर हाल केन्द्रीय समितिबाट बाहिर रहेका सबै अग्रज नेताहरूलाई उचित सम्मानका साथ पुनः जिम्मेवारीमा ल्याउन आफू तयार रहेको सार्वजनिक प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सभापति थापाले विशेष महाधिवेशनमा सहभागी भएको वा नभएको आधारमा कसैलाई पनि प्रादेशिक सरकार, संसदीय दल वा भ्रातृ संस्थामा विभेद नगरिने प्रष्ट पार्नुभयो । आगामी महाधिवेशनलाई पारदर्शी बनाउन निर्वाचन र सदस्यता छानविन समितिमा समेत इतर पक्षलाई समेट्न आफू तयार रहेको उहाँले बताउनुभयो । सभापति थापाले सदस्यता अद्यावधिक नगर्न उक्साउने कार्यले सिंगो कांग्रेसलाई नै सकाउने दिशामा लैजाने चेतावनी दिनुभएको छ ।
सर्वोच्चको मान्यतापछि आगामी १६-१९ असोजका लागि १५औँ महाधिवेशनको मिति तोकिएको छ । संस्थापन पक्षले सदस्यता अद्यावधिक नगरे महाधिवेशनमा सहभागी हुन नपाउने स्पष्ट पार्दै समयसीमा आगामी २१ जेठसम्म थप गरेको छ । वैशाख मसान्तभित्रै काम सक्ने लक्ष्य राखिए पनि आन्तरिक किचलोका कारण अझै सदस्यता अद्यावधिकको काम सम्पन्न हुन सकेको छैन ।
कांग्रेस मिलाउने कि फुटाउने सभापतिको हातमा छ : खड्का
कांग्रेस पूर्व-कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनको अवस्थामा पुगेको बताउनुभएको छ । कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले आयोजना गरेको ‘नेपाली कांग्रेस बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार गोष्ठीमा उनले पार्टी विभाजनको अवस्थामा पुगेको बताउनुभएको हो । ‘पार्टी विभाजनको डिलमा छ, त्यो बाटोमा जान हुन्न, तर पार्टी मिलाउने कि फुटाउने भन्ने जिम्मा दुईजनाको हातमा छ मैले भनेको छु,’ उहाँले भन्नुभयो, ‘गगन थापा सिंगो कांग्रेसको नेता बन्न सक्नुपर्छ । सानेपाको मात्रै सभापति देखिएर भएन ।’ कांग्रेसभित्र देखिएको आन्तरिक विवाद समाधान गरी पार्टी विभाजन रोक्न कर्णालीका जिल्ला सभापतिहरूले दबाब दिएका थिए ।
सबैलाई साथमा लिएर काम गर्न तयार छु : थापा
कांग्रेसका सभापति गगन थापाले पार्टीमा देखिएको विवाद समाधानको लागि आफूले कोसिस गरिरहेको बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाज, नेपालको साधारणसभामा बोल्दै उहाँले पार्टीभित्र देखिएको समस्या समाधान गर्न लचिलो हुन तयार रहेको बताउनुभएको हो । १४औँ महाधिवेशनबाट केन्द्रीय समितिमा निर्वाचित नेताहरूलाई पुनः जिम्मेवारीमा ल्याउन तयार रहेको उहाँले बताउनुयो । ‘पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित हुनुभएको नेताहरूको ठूलो पंक्ति हाल केन्द्रीय समितिबाट बाहिर छ । म त्यो प्रत्येक नेता जो चाहनुहुन्छ, अहिलेको केन्द्रीय समितिभित्र ल्याएर मानका साथ वरिष्ठ नेता बनाउनुपर्नेलाई वरिष्ठ नेता, जसलाई जे ठाउँमा हुन्छ, त्यही राखेर उहाँलाई सँगै लिएर काम गर्न चाहन्छु,’ उहाँले भन्नुभयो ।
सभापति थापाले पार्टीको विवाद समाधान गर्न पटक-पटक छलफल गरिरहे पनि सदस्यता अध्यावधिक प्रक्रियालाई लिएर पार्टीभित्रै विरोधको लहर चलाइएको प्रति असन्तुष्टि जनाउनुभयो । ‘कांग्रेसको देशभर भएको सदस्यलाई फोन, मेसेन्जर, कम्प्युटर वा फिजिकल रूपमा वडा कार्यालय गएर म नेपाली कांग्रेसको सदस्यता निरन्तर गर्न चाहन्छु, यति भनेर भन्दिनुस् भनेर भन्दै गर्दा पनि ल त ? भन्लास् त ? कांग्रेसको सदस्य हुँ भन्लास् त ? कांग्रेस सकाउने ? भनेर नेताहरूको अभिव्यक्ति सुनिरहेको छु । अध्यावधिक नगर्न भनेर आह्वान गर्ने लहर चलेको छ ।’ सबै नेताहरूलाई सदस्यता अध्यावधिक गर्ने कार्यमा सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र