काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा ‘कमब्याक’ गर्नुभएको छ । गत वर्ष पार्टी सदस्यता ‘पेण्डिङ’मा राखिएपछि भण्डारीको एमालेसँगको सम्बन्ध चिसिएको थियो । तर, केही दिनअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको लामो संवादपछि एमालेले भण्डारीलाई औपचारिक निम्तो दिएको हो । पार्टी सदस्यता रोकिएयता पहिलो पटक आइतबार पूर्वराष्ट्रपति भण्डारी नेकपा एमालेको औपचारिक कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभएको छ । मदन भण्डारीको ३३औँ स्मृति दिवसमा एमालेले भण्डारीलाई प्रमुख अतिथिका रूपमा बोलाएको हो ।
२०७९ फागुन २८ मा राष्ट्रपतिको कार्यकाल सकिएपछि भण्डारीले सक्रिय राजनीतिमा फर्किएको घोषणा गर्दै पुरानो पार्टी एमालेमा आफ्नो सदस्यता नवीकरण गराउनुभएको थियो । तर, पार्टीको नेतृत्व खोसिने जोखिम बढेपछि अध्यक्ष ओलीले साउन ६ गते भण्डारीको पार्टी सदस्यता रोक्ने निर्णय गर्नुभएको थियो । जसले गर्दा भण्डारी २०८२ मंसिर २७ देखि पुस ३ सम्म भएको ११औँ महाधिवेशनमा सहभागी हुन पाउनुभएन । यसपछि उहाँकै समर्थनमा एमालेका तत्कालीन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानलै बनाएर ओलीलाई अध्यक्ष पदमा टक्कर दिए पनि सफल हुन सक्नुभएन ।
गत वर्ष साउनमा सदस्यता ‘पेण्डिङ’ मा राखेपछि ओली र भण्डारीबीच विवाद बढेको थियो । वैशाख २८ गते गुण्डुमा भण्डारी र ओलीबीचको संवादपछि एमालेले औपचारिक रूपमा प्रमुख अतिथिका रूपमा बल्खुमा बोलाएको हो । मदन आश्रित स्मृति कार्यक्रममा प्रमख अतिथि रहनुभएकी भण्डारीले नेताकै हैसियतले सम्बोधन गर्दै भन्नुभयो, ‘जनताको बहुदलीय जनवादको मूल मर्मलाई आत्मसात गर्दै लोकतन्त्र, राष्ट्रिय एकता, सुशासन र समृद्ध नेपालको लक्ष्य प्राप्तिका लागि हामी सबै एकताबद्ध भएर अघि बढौँ ।’ कार्यक्रममा एमाले अध्यक्ष ओली भने सहभागी हुनुभएन । पत्थरी र हर्नियाको शल्यक्रिया गरेर हाल स्वास्थ्य लाभ गरिरहनु भएका ओलीले आइतबारको कार्यक्रममा आफू उपस्थित नहुने बरु विद्या भण्डारीलाई प्रमुख अतिथि बनाउन उपयुक्त हुने सुझाव दिनुभएको थियो । ओली पछिल्लो समय सार्वजनिक कार्यक्रममा निस्किनुभएको छैन ।
पार्टी सदस्यतासमेत खोसिएकी भण्डारी नेकपा एमालेको कार्यक्रममा प्रमुख अतिथि बनेपछि अध्यक्ष ओलीसँगको फाटो अन्त्य भएको विश्लेषण हुन थालेको छ । केही समययता पार्टी अध्यक्ष ओली र भण्डारीबीच राजनीतिक दूरी बढेको भए पनि भण्डारीलाई आइतबार प्रमुख अतिथि बनाउने निर्णय ओलीकै चाहनाअनुसार भएको एकजना ओलीनिकट नेताको दाबी छ । उपाध्यक्ष रामबहादुर थापा बादलले अध्यक्षता गरेको कार्यक्रममा उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायत नेताहरू मञ्चमा थिए । उनीहरू पनि यसअघि भण्डारीको सदस्यता खारेज गर्ने पक्षमै उभिएका नेता हुन् । यसरी सदस्यतासमेत खोसिनुभएकी पूर्वराष्ट्रपति भण्डारी एकाएक एमाले कार्यक्रमको प्रमुख अतिथि बन्नुमा ओलीको स्वास्थ्य मात्र कारण नभएको नेकपा एमालेकै नेताहरूको जिकिर छ । नेकपा एमालेका कतिपय नेताहरूले भने ओली र भण्डारीको सम्बन्ध सुध्रिएको भन्दै खुसीसमेत व्यक्त गरेका छन् ।
तर, अध्यक्ष ओलीप्रति असन्तुष्ट नेताहरूले भने ओलीले बाध्यतावश भण्डारीसँग नजिकिएर सम्बन्ध सुधारको प्रयास थालेको दाबी गरेका छन् । कुनै बेला नेकपा एमालेमा सर्वेसर्वा रहनुभएका ओली अहिले जीवनकै ठूलो राजनीतिक संकटमा हुनुहुन्छ । ‘जेन-जी’ आन्दोलनमा सत्ताच्युत भएपछि ओली नेतृत्वको एमाले इतिहासकै सबैभन्दा कमजोर बनेको छ । गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ नौ सिट मात्र जित्न सक्यो । समानुपातिकतर्फ १६ सिट पाएकाले अहिले २५ सांसद प्रतिनिधिसभामा प्रतिनिधित्व गर्छन् ।
अध्यक्ष ओलीकै नेतृत्वमा पार्टी आन्दोलन उठाउन नसकिने निष्कर्षमा पुगेका संस्थापन पक्षकै कतिपय नेताहरू ओलीको विकल्प खोज्न थालेका छन् । उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त, महासचिव शंकर पोखरेलहरू नै ओलीको विकल्प खोज्न लागेपछि ओली राजनीतिक र नैतिक संकटमा पर्नुभएको छ । गत मंसिरमा भएको ११औँ महाधिवेशनमा ओलीलाई नेतृत्वमा दोहोर्याउन लाग्नेहरूले नै पछिल्लो समय नेतृत्व छोड्न दबाब दिन थालेका छन् । आफूमाथिको संकट मोचनका लागि ओलीले भण्डारीको सहारा खोजेको कतिपयको विश्लेषण छ ।
आन्तरिक एकता गरी जनविश्वास जगाउनु आवश्यक : पूर्वराष्ट्रपति भण्डारी
अध्यक्ष ओलीसँग सम्बन्ध सुध्रिएको संकेत भण्डारीले आइतबारको अभिव्यक्तिमा पनि दिनुभएको छ । उहाँ पार्टीभित्र उठिराखेको नेतृत्व र पार्टी आन्दोलन पुनर्गठनको विषयमा प्रवेश नै गर्नुभएन । उहाँले वैचारिक पुनर्जागरणको खाँचो मात्रै महसुस गर्नुभयो । पूर्वराष्ट्रपति भण्डारीले नेताहरूले आत्मसमीक्षा, आन्तरिक एकता गरी जनविश्वास जगाउनुपर्ने उल्लेख गर्दै भन्नुभयो, ‘अब पार्टीले पुनः जनविश्वासलाई अझ सुदृढ बनाउन जनमुखी कार्यशैली, आत्मअनुशासन र सेवा भावलाई व्यवहारमा उतार्नुपर्दछ । कार्यकर्ताहरू जनताको बीचमा पुग्नुपर्दछ, जनताको दुःख–सुखमा सहभागी हुनुपर्दछ र समाजमा सकारात्मक राजनीतिक संस्कार निर्माणमा सक्रिय बन्नुपर्दछ ।’ एमालेकी तत्कालीन उपाध्यक्ष विद्या पहिलो पटक २०७२ कात्तिक ११ मा राष्ट्रपति बन्नुभएको थियो । त्यसपछि लगातार दोस्रो कार्यकालका लागि फेरि २०७४ फागुन २९ गते राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो ।
विद्या नेतृत्वमै वाम एकताको पहल
हुन त पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नेतृत्वमा वाम एकताको प्रयास जारी छ । मुख्यगरी नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेताहरू पूर्वराष्ट्रपति भण्डारीको नेतृत्वमा वाम एकताको पहल गरिरहेका छन् । ‘जेन-जी’ आन्दोलनपछि रक्षात्मक बनेका वाम दलहरू फागुन २१ गते भएको प्रतिनिधिसभा चुनावबाट थप कमजोर बनेका छन् । कुनै बेला सदनमा ६० प्रतिशत मत रहेका वाम दलहरू अहिले प्रमुख प्रतिपक्षको हैसियतमा समेत छैनन् । आफूहरूप्रति नागरिकमा देखिएको बढ्दो असन्तुष्टिले अस्तित्वको लडाइँमा रहेका वाम दलहरू एकता गरेर शक्ति आर्जन गर्ने प्रयासमा छन् । तर, वाम दलहरू मुख्य गरी एमाले र नेकपाबीच नेतृत्वको विषयमा आकार देखिन सकेको छैन । सानो आकारमा खम्चिए पनि वाम घटकका नेताहरू एक-अर्काको नेतृत्व स्वीकार गर्ने अवस्थामा अझै पुगेका छैनन् । त्यसकारण पनि पूर्वराष्ट्रपति भण्डारीको नेतृत्व सर्वस्वीकार्य हुनसक्ने भन्दै मूलतः तेस्रो तहका नेताहरूले प्रयास जारी राखेका छन् । दुवै दलका कतिपय नेताहरूले त भण्डारीको नेतृत्वमा वाम एकता गर्नुपर्ने धारणा सार्वजनिक गरिसकेका छन् ।
आजको आवश्यकता एमालेसहितको वाम एकता : संयोजक दाहाल
पछिल्लो समय नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम एकताको कुरा अगाडि बढाइरहनु भएको छ । यसअघि एक दर्जन कम्युनिष्ट घटकसँग एकता गर्दा पनि कमजोर नतिजा ल्याउनुभएका प्रचण्ड अहिले एमालेसहितको वाम एकता गर्नुपर्ने पक्षमा वकालत गरिरहनु भएको हो । आइतबार सुर्खेतको वीरेन्द्रनगरमा संयोजक प्रचण्डले आजको आवश्यकता कम्युनिष्ट आन्दोलनको एकता गर्नु भएको जिकिर गर्दै भन्नुभयो, ‘विभिन्न वामपन्थी समूह र नेताहरूसँग औपचारिक–अनौपचारिक छलफल भइराखेको पनि छ । सहकार्य गर्दै गएर, समझदारी बनाउँदै गएर, विश्वास बढाउँदै लगेर एउटा बिन्दुमा गएर ध्रुवीकरण हुनुपर्छ भन्ने हो । अहिलेको अवस्थामा देशको परिस्थितिमा अर्थपूर्ण र परिणाममुखी एकता भनेको एमालेसँगै हो ।’
भदौ २३-२४ पनि दासढुंगा घटनाकै निरन्तरता : उपाध्यक्ष बादल
नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले दासढुंगा घटना सामान्य सडक दुर्घटना या देशी-विदेशी शक्तिहरूको एउटा गम्भीर राजनीतिक षड्यन्त्र थियो भन्ने आजसम्म अनुत्तरित र रहस्यमय रहेको बताउनुभएको छ । देशी-विदेशी शक्तिका लागि कुनै राजनीतिक दल, त्यसको नेता वा कुनै व्यक्ति गम्भीर चुनौती र खतराको रूपमा उपस्थित हुने देखिएमा भौतिक रूपमै समाप्त अभ्यास देखिएको टिप्पणी गर्दै उपाध्यक्ष बादलले भन्नुभयो, ‘हामीले भर्खरै भदौ २३-२४ गते पनि हामी दासढुंगा प्रकरण देख्छौँ । राजनीतिक दलहरूलाई सिंगै जलाउने प्रयत्न गरियो, षड्यन्त्र गरियो । वास्तवमा यसको अन्तर्यमा यो दासढुंगा घटनाकै निरन्तरता नै थियो ।’





राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र