इलाम । इलाम नगरपालिका-१० गोदकस्थित राजदुवाली टप्पु पुग्दा लाग्छ यो कुनै खेल मैदान बन्दै गरेको ठाउँ होइन, सरकारी उदासीनता र बेथितिको जीवित सङ्ग्रहालय हो । सात वर्षअघि जब माइखोलाको काखमा अवस्थित यस टप्पुमा ‘माईभगवती रङ्गशाला’ को शिलान्यास गरियो, तब रैथाने खेलप्रेमी मात्र होइन, समग्र पूर्वी पहाडका खेलाडी र खेलप्रेमीहरूमा एउटा नयाँ तरङ्ग पैदा भएको थियो । सबैको एउटै सपना थियो “अब इलाममा क्रिकेटका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरू हुनेछन्, देश-विदेशका खेलाडीहरू यहीँको माटोमा दौडिनेछन् र सुदूर पूर्वको यो कन्दराले खेलकुदमार्फत राष्ट्रिय पहिचान बनाउनेछ ।”
तर, १ सय २० रोपनी क्षेत्रफलमा फैलिएको त्यो महत्त्वाकाङ्क्षी सपना अहिले झाडीले निलिसकेको छ । सात वर्षको लामो अवधि, ४ करोडभन्दा बढीको बालुवामा पानी सरह खर्च, तर उपलब्धि ? मात्र १० प्रतिशत काम र बाँकी संरचनामा उम्रिएको तीतो तीतेपाती ।
कुनै समय पूर्वी नेपालकै खेलकुदको हब बन्ने भनिएको यो रणनीतिक आयोजना विगत तीन आर्थिक वर्षदेखि अलपत्र जस्तै बनेको छ । सुरुवाती वर्षहरूमा कोशी प्रदेश सरकार र इलाम नगरपालिकाको समपूरक अनुदानमार्फत चार चरणमा बजेटको नपरेको भने होइन । आर्थिक वर्ष २०७६/०७७ मा १ करोड ३६ लाख रुपैयाँबाट सुरु भएको यो यात्रा, आव ०७७/०७८ मा ८४ लाख १९ हजार, आव ०७८/०७९ मा पुनः ८४ लाख १९ हजार र आव ०७९/०८० मा १ करोड २ लाख ९८ हजार रुपैयाँ विनियोजन हुँदै अघि बढेको थियो ।
ती पैसाले केही क्षेत्रमा जग खनिए, केही पर्खाल ठडिए, थोरै प्याराफिट बने र केही फलामे रेलिङहरू हालिए । तर, विडम्बना ! आर्थिक वर्ष २०८०/०८१ देखि यता यो रङ्गशालाका लागि विनियोजन हुने बजेटको मुहानमा एकाएक बिर्को लाग्यो ।
हालसम्म कुल ४ करोड ८ लाख २३ हजार रुपैयाँ खर्च भइसकेको छ । तर, निरन्तरताको अभावमा निर्माण भइसकेका ती सीमित संरचनाहरू पनि मर्मत सम्भार र रेखदेख नहुँदा अहिले जीर्ण बन्दै भत्किने अवस्थामा पुगेका छन् । पानी पर्दा ओत लाग्ने ठाउँ छैन, बरु बनेका प्याराफिटका चेपबाट पलाएका झारपातले कंक्रिटका संरचनालाई नै चर्क्याउन थालेका छन् । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार यो रङ्गशालालाई पूर्णता दिन करिब ५० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । अर्थात्, अहिलेसम्म भएको खर्च हात्तीको मुखमा जीरा जस्तै हो । झन्डै ४६ करोड रुपैयाँ अझै आवश्यक पर्ने यो महायोजना सुरु गर्दा जति उत्साह थियो, अहिले स्थानीय सरकार त्यति नै ’लाचार’ र अनुत्तरदायी देखिएको छ ।
इलाम नगरपालिकाका नगरप्रमुख केदार थापा प्रदेश सरकारले बजेट नदिएको भन्दै आफ्नो थाप्लोको जिम्मेवारी माथिल्लो सरकारतिर पन्छाउनुहुन्छ । “हामीले रङ्गशाला निर्माणका लागि प्रदेश सरकारसँग पटक-पटक बजेट माग्यौँ, डेलिगेसन गयौँ, तर कसैले सुनेनन्,“ नगरप्रमुख थापाले भन्नुभयो, “नगरपालिकाको एक्लो वित्तीय स्रोत र बुताले यति ठूलो योजना धान्न कदै सक्दैन । माथिल्लो सरकारले विशेष सहयोग नगरेसम्म यसलाई अघि बढाउने हामीसँग कुनै विकल्प छैन ।”
सुरुमै दीर्घकालीन स्रोतको सुनिश्चितता नगरिकन, केवल सस्तो लोकप्रियता र चुनावी नाराका लागि ठूला सपना बाँड्ने र पछि बजेट आएन भन्दै हात बाँधेर बस्ने शासकीय प्रवृत्तिका कारण इलामको खेलकुद दशकौँ पछि धकेलिएको इलामे खेलप्रेमी नागरीकहरुको बुझाइ छ ।
करोडौँ सरकारी रकम खर्चेर ठड्याइएका संरचनाहरू अहिले गाईभैँसी चराउने थलो र झाडीमा परिणत हुँदा पनि सरोकारवाला निकाय कानमा तेल हालेर बसेका छन् । समपूरक अनुदानको नाममा आर्थिक वर्षको अन्त्यमा थोरै बजेट छर्ने, अनुत्पादक क्षेत्रमा बजेट सकाउने र राष्ट्रिय गौरव बन्न सक्ने यस्ता ठूला आयोजनालाई बीचमै अलपत्र छोड्ने तीनै तहका सरकारको यो समन्वयहीनता राजदुवाली टप्पुको एउटा प्रतिनिधि उदाहरण मात्र हो ।
बजेट अभावको रेडिमेड बहाना बनाएर राज्यको सम्पत्ति यसरी झाडीमा सडाइँदा सम्म कतैबाट पनि जबाफदेहिता खोजिएको देखिँदैन । अब प्रश्न उठ्छ- बाँकी झन्डै ४६ करोड रुपैयाँ कहाँबाट र कहिले जुट्छ ? के राजदुवालीको यो टप्पु खेलकुदको अन्तर्राष्ट्रिय रङ्गशाला बन्नेछ कि सरकारी लाचारीको सधैँभरी रोइलो गरिरहने थलो ? यसको जबाफ न कोशी प्रदेश सरकारसँग छ, न सिंहदरबारसँग, न त इलाम नगरपालिकासँग नै ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि