काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको निलम्बन अन्ततः बिनाशर्त फुकुवा गरेको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, राखेपका सदस्य-सचिव रामचरित्र मेहता, मन्त्रीका खेलकुद सल्लाहकार सिद्धि व्यञ्जनकार तथा एन्फाका महासचिव किरण राई, कोषाध्यक्ष रवीन्द्र जोशी र प्रवक्ता सुरेश शाहबीच भएको उच्चस्तरीय बैठकको आपसी सहमतिपश्चात् यो निर्णय लिइएको हो । गत चैत ११ गते प्रचलित ऐन कानुनको उल्लंघन गर्दै जबरजस्ती अर्ली इलेक्सन गर्न खोजेको आरोप लगाउँदै राखेपले एन्फामाथि तीन महिनाको प्रतिबन्ध घोषणा गरेको थियो ।
राखेपको उक्त कदमलगत्तै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले तत्काल बिनाशर्त निलम्बन फुकुवा नभए नेपालको अन्तर्राष्ट्रिय सदस्यता खारेज हुन सक्ने कडा चेतावनीपूर्ण पत्र पठाएको थियो । राखेपले सुरुमा फिफासँग भौतिक रूपमा बैठक बसेर निकास खोज्ने प्रस्ताव अघि सारे पनि फिफाको कडा अडान र निरन्तरको पत्राचारपछि नेपाल सरकार पछि हट्न बाध्य भएको हो ।
राखेपले बिनाशर्त निलम्बन फुकुवा गरेको दाबी गरे पनि राखेपका उच्च अधिकारीहरूले भने एन्फा तहगत निर्वाचन गर्न मौखिक रूपमा सहमत भएपछि मात्र यो निकास निकालिएको बताएका छन् । यो फुकुवासँगै नेपाली फुटबलमाथि आइलागेको अन्तर्राष्ट्रिय संकट तत्कालका लागि टरेको छ ।





निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…