काठमाडौं । इरानमा पक्राउ पर्नुभएका नेपाली युवा अमृत झा रिहा भएको भन्दै यसअघि सार्वजनिक गरिएको सूचना गलत भएको स्वीकार गर्दै परराष्ट्र मन्त्रालयले औपचारिक रूपमा माफी मागेको छ । सोमबार मन्त्रालयले जारी गरेको विस्तृत विज्ञप्तिमा उदयपुर गाईघाटका ३० वर्षीय झा अझै पनि इरानको बन्दर अब्बासस्थित कारागारमा पुर्पक्षका लागि थुनामा रहेको जनाएको हो । मन्त्रालयले झा रिहा भएको सूचना सार्वजनिक हुँदा उत्पन्न अन्योल र परिवारलाई परेको मानसिक असुविधाप्रति क्षमा प्रार्थी रहेको उल्लेख गरेको छ । साथै, उहाँको निष्पक्ष सुनुवाइ र रिहाइका लागि कूटनीतिक तथा कानुनी पहल निरन्तर जारी रहेको पनि स्पष्ट पारेको छ । यो घटनाले परराष्ट्र मन्त्रालयको सूचना प्रमाणीकरण प्रक्रिया, संवेदनशील विषयमा सरकारी संयमता तथा विदेशमा समस्यामा परेका नेपाली नागरिकका विषयमा सरकारको समन्वय क्षमतामाथि गम्भीर प्रश्न खडा गरेको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार इरानका लागि नेपाली अनररी कन्सल शाहराम शान्तियाईले गत १५ अप्रिल २०२६ मा कतारस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कुमार राईलाई इमेलमार्फत ‘अमृत झा रिहा भएको’ जानकारी पठाउनुभएको थियो । उक्त सन्देशमा ‘उहाँको रिहाइ पत्र जारी भइसकेको र उहाँ स्वतन्त्र हुनुहुन्छ’ भन्ने आशय उल्लेख थियो ।
सोही जानकारीका आधारमा मन्त्रालयका सम्बन्धित महाशाखाले परराष्ट्रमन्त्री र सचिवलाई ब्रिफिङ गरेको र त्यसपछि मन्त्रालयले झा रिहा भएको ‘अनौपचारिक जानकारी’ सार्वजनिक गरेको जनाएको छ । त्यसलगत्तै तत्कालीन परराष्ट्रमन्त्रीले पनि सामाजिक सञ्जालमार्फत झा रिहा भएको घोषणा गरेका थिए ।
तर, केही दिनपछि प्राप्त थप सूचनाले झा अझै हिरासतमै रहेको र मुद्दा अदालतमा विचाराधीन रहेको तथ्य खुलाएको मन्त्रालयले जनाएको छ । अदालतले घटनासम्बन्धी ‘एक्सपर्ट रिपोर्ट’ तयार गर्न आदेश दिएको र त्यसको प्रतिवेदन अदालतमा पेस हुने प्रक्रियामा रहेको उल्लेख गरिएको छ ।
जनवरीमै पक्राउ
मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार अमेरिका-इजरायल र इरानबीच तनाव चर्किनुअघि नै जनवरी २०२६ को सुरुआतमा अमृत झासहित अन्य ६ विदेशी नागरिकलाई इरानी सुरक्षाकर्मीले केशम द्वीप क्षेत्रबाट नियन्त्रणमा लिएका थिए । झामाथि ‘अवैध सामान तस्करी तथा ओसारपसार’ मा संलग्न रहेको आरोप लगाइएको छ । उहाँ हाल बन्दर अब्बासमा थुनामा हुनुहुन्छ ।
परिवारका सदस्यहरूका अनुसार झा दुबईस्थित एक पानी जहाज कम्पनीमा क्याप्टेनका रूपमा कार्यरत हुनुहुन्थ्यो । तेल ढुवानीका क्रममा होर्मुज जलडमरुमध्य क्षेत्र हुँदै जाँदा उहाँ पक्राउ पर्नुभएको थियो । दुई वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई पुगेका झा समुद्री मार्गमा अनुभव भएका नेपाली युवामध्ये एक मानिनुहुन्थ्यो ।
परिवारलाई ‘दोहोरो पीडा’
झा रिहा भएको सरकारी घोषणा सार्वजनिक भएपछि परिवारले राहत महसुस गरेको थियो । तर, केही समयपछि उहाँ अझै जेलमै रहेको तथ्य खुलेपछि परिवार पुनः मानसिक तनावमा परेको स्रोतले जनाएको छ । मन्त्रालयले विज्ञप्तिमा झाका परिवारलाई पछिल्लो वास्तविक अवस्था जानकारी गराइसकिएको उल्लेख गरेको छ ।
यद्यपि, एक महिनासम्म गलत सूचना सार्वजनिक रहनुले सरकारी संयन्त्रको विश्वसनीयतामाथि प्रश्न उठेको छ । विशेषगरी युद्ध र कूटनीतिक तनावको अवस्थामा रहेको मुलुकसँग सम्बन्धित संवेदनशील घटनामा आधिकारिक पुष्टि नगरी सार्वजनिक सूचना दिनु गम्भीर कमजोरी भएको टिप्पणी कूटनीतिक वृत्तमा गरिएको छ ।
अब के हुन्छ ?
परराष्ट्र मन्त्रालयका अनुसार इरानी अदालतमा मुद्दा विचाराधीन रहेकाले त्यसको निरूपण इरानको कानुनअनुसार हुनेछ । हाल अदालतले माग गरेको विशेषज्ञ प्रतिवेदन अन्तिम चरणमा पुगेको र त्यसपछि मुद्दाको सुनुवाइ अगाडि बढ्ने अपेक्षा गरिएको छ ।
नेपाल सरकारले भने उपलब्ध सबै कूटनीतिक माध्यम प्रयोग गरी झाको निष्पक्ष सुनुवाइ, कानुनी पहुँच तथा सम्भावित रिहाइका लागि पहल जारी राखिएको जनाएको छ । कतारस्थित नेपाली दूतावासमार्फत इरानी पक्षसँग नियमित सम्पर्क भइरहेको मन्त्रालयको दाबी छ ।
विदेशमा कानुनी समस्यामा परेका नेपाली नागरिकका हकमा यस्ता घटनाले दूतावास र मन्त्रालयबीचको सूचना समन्वय अझ विश्वसनीय बनाउनुपर्ने आवश्यकता पुनः उजागर गरेको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र