काठमाडौं । एसएस ग्रुप अफ कम्पनीका प्रबन्ध निर्देशक राजीव जैनले नेपालको प्रसिद्ध ट्रेकिङ शिखर ‘मेरा पिक’ सफलतापूर्वक आरोहण गर्नुभएको छ । उहाँले ११ वैशाखमा समुद्री सतहबाट ६ हजार ४७६ मिटर उचाइमा रहेको मेरा पिकको शिखरमा पुगेर आरोहण सम्पन्न गर्नुभएको हो ।
सोलुखुम्बु जिल्लास्थित एभरेस्ट क्षेत्रको महालंगुर हिमशृंखलामा पर्ने मेरा पिक विश्वका चर्चित तथा लोकप्रिय ट्रेकिङ शिखरमध्ये एक मानिन्छ । हिमाल आरोहणका लागि अनुकूल भू-दृश्य, आकर्षक हिमशृंखला र साहसिक यात्राको अनुभवका कारण यो शिखर विदेशी तथा स्वदेशी पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
५० वर्षीय जैनले अनुभवी पर्वतीय मार्गदर्शक तथा ‘लामा वाक्स’का प्रमुख राजेश लामाको नेतृत्वमा आरोहण सम्पन्न गर्नुभएको हो । चुनौतीपूर्ण मौसम र हिमाली भूगोलका बीच गरिएको यो आरोहण सफलतापूर्वक सम्पन्न भएपछि उहाँले आफू अत्यन्त उत्साहित भएको प्रतिक्रिया दिनुभएको छ ।
आरोहणपछि जैनले नेपालको हिमाली पर्यटन विश्वमै अद्वितीय रहेको उल्लेख गर्दै यस्ता अभियानले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो । उहाँका अनुसार यो यात्रा केवल व्यक्तिगत साहस र उपलब्धिमा सीमित नभई नेपालको प्राकृतिक सौन्दर्य, साहसिक पर्यटन तथा पर्वतारोहण सम्भावनालाई अन्तर्राष्ट्रियस्तरमा थप चिनाउने अवसरसमेत बनेको छ ।
उहाँले नेपाललाई विश्वकै उत्कृष्ट ट्रेकिङ तथा पर्वतारोहण गन्तव्यका रूपमा स्थापित गर्न निजी क्षेत्र, पर्यटन व्यवसायी र राज्य पक्षबीच थप सहकार्य आवश्यक रहेको धारणा पनि व्यक्त गर्नुभयो ।
पर्यटन व्यवसायीहरूका अनुसार पछिल्ला वर्षहरूमा मेरा पिकलगायतका ट्रेकिङ शिखरमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । यसले हिमाली पर्यटनमार्फत् स्थानीय अर्थतन्त्र चलायमान बनाउन सहयोग पुगिरहेको विश्वास गरिएको छ ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर