काठमाडौं । केही समयदेखि सुस्त बनेको घरजग्गा बजारमा पुनः चलायमान अवस्था देखिन थालेको छ । पछिल्ला महिनाका कारोबार र राजस्व संकलनको विवरणले घरजग्गा कारोबार क्रमशः बढ्दै गएको संकेत गरेको छ । विशेषगरी गत चैतको तुलनामा वैशाख महिनामा राजस्व संकलन वृद्धि भएपछि बजारमा सुधारको संकेत देखिएको हो ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत वैशाख महिनामा घरजग्गा कारोबारबाट कुल छ अर्ब २६ करोड ३८ लाख २९ हजार ८७३ बराबरको राजस्व संकलन भएको छ । यो रकम चैत महिनाको तुलनामा करिब १० करोड रुपैयाँ बढी हो । विभागको तथ्यांकअनुसार चैतमा कुल छ अर्ब १६ करोड ५७ लाख ५० हजार एक सय १७ राजस्व संकलन भएको थियो ।
वैशाख महिनामा संकलित राजस्वमध्ये सबैभन्दा ठूलो हिस्सा रजिष्ट्रेसन दस्तुरबाट आएको छ । विभागका अनुसार रजिष्ट्रेसन दस्तुरमार्फत् तीन अर्ब ३१ करोड ९५ लाख ५० हजार ११७ रुपैयाँ संकलन भएको छ । त्यस्तै, पुँजीगत लाभकरबाट दुई अर्ब ५५ करोड २४ लाख ६४ हजार २२ रुपैयाँ राजस्व उठेको छ । यस्तै, सेवा करबाट ३४ करोड ४० लाख ६३ हजार ४०२ रुपैयाँ संकलन भएको विभागले जनाएको छ । मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्क शीर्षकमा चार करोड ४८ लाख ७८ हजार तीन सय १८ रुपैयाँ संकलन भएको छ ।
यसअघि चैत महिनामा सेवा करबाट ३६ करोड एक लाख ५५ हजार ५७१ रुपैयाँ राजस्व उठेको थियो भने रजिष्ट्रेसन दस्तुरबाट तीन अर्ब २२ करोड ८४ लाख ६० हजार ५६२ रुपैयाँ संकलन भएको थियो । सोही अवधिमा पुँजीगत लाभकरबाट दुई अर्ब ५२ करोड ७४ लाख ७० हजार ७३ रुपैयाँ राजस्व प्राप्त भएको थियो । मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कअन्तर्गत चार करोड ६२ लाख ९९ हजार ७८० रुपैयाँ संकलन भएको विभागले जनाएको छ ।
पछिल्ला महिनाको तुलना गर्दा घरजग्गा कारोबारमा क्रमिक सुधार देखिएको विभागको तथ्यांकले पुष्टि गरेको छ । गत फागुन महिनामा घरजग्गा कारोबारबाट चार अर्ब १४ करोड ९५ लाख ४८ हजार ९३२ रुपैयाँ राजस्व संकलन भएको थियो । त्यस्तै, माघ महिनामा भने पाँच अर्ब ९९ करोड २४ हजार ५३६ रुपैयाँ बराबरको राजस्व उठेको थियो ।
विशेषज्ञहरूका अनुसार बैंक ब्याजदर घट्दो क्रममा जानु, आर्थिक गतिविधि विस्तारै चलायमान हुनु तथा लगानीकर्तामा बढ्दो आत्मविश्वासका कारण घरजग्गा बजारमा सुधारको संकेत देखिएको हो । यद्यपि बजार अझै पूर्ण रूपमा पुरानै लयमा फर्किन बाँकी रहेको व्यवसायीहरूको भनाइ छ ।
घरजग्गा क्षेत्र नेपालको अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको क्षेत्र भएकाले यस क्षेत्रमा देखिएको सुधारले निर्माण, बैंकिङ तथा अन्य सहायक व्यवसायमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि