अकल्पनीय राजनीतिक परिवर्तनपछि पुराना पार्टीहरूका सोच परिवर्तन हुँदै गएका छन् । यसरी उनीहरूले आफ्नो सोच परिवर्तन गर्नु उनीहरूको बाध्यता हो र आवश्यकता पनि हो । नेपाली कांग्रेस पार्टीमा एउटा पक्षले आधिकारिकता पाए पनि अर्को पक्षले त्यसमा अझै चित्त बुझाएको छैन र आधिकारिक भनिएको पार्टीसँग समाहित हुन मानिरहेको छैन । समानान्तर भेटघाट र भेला बैठकहरू भइरहेका छन् । एकले अर्काको अस्तित्व अस्वीकार गर्ने अथवा निषेधको राजनीति गर्ने परम्पराले गर्दा यस्तो अवस्था सिर्जना भएको हो । असन्तुष्ट पक्षमा स्थापित नेताहरू हुनुहुन्छ । गगन थापाले नेतृत्व गरेको पक्षमा भने युवाहरूको वर्चस्व छ । एकले अर्काको अस्तित्वलाई अस्वीकार गर्दागर्दै कांग्रेस फुटको संघारमा पुगिसकेको छ । उता कम्युनिष्ट पार्टीहरू भने एकताका एजेण्डाहरू लिएर अगाडि आइरहेका छन् ।
केही साना पार्टीहरूलाई संगठित गरेर माओवादीका नेता पुष्पकमल दाहालले आफू नेपाली कम्युनिष्ट पार्टी गठन गरी त्यसको संयोजक हुनुभएको छ र केही महिना अगाडि भएको आमनिर्वाचनबाट पार्टी जेजस्तो अवस्थामा पुगे पनि आफू र केही आफ्ना निकटका शुभचिन्तकसहित भने विजयी बन्न सफल हुनुभएको छ । यसैगरी अर्को प्रमुख पार्टीका रूपमा रहेको नेकपा एमाले पनि आन्तरिक कलहले धराशायी बनिसकेको अवस्थामा निर्वाचनमा गएको हो । ‘जेन–जी’ विद्रोहका बेला प्रधानमन्त्री रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्यही कारण सत्ताबाट बहिर्गमित हुनुपरेको थियो । उक्त पार्टीमा आन्तरिक रूपमा मतभेदका अनेकौं पक्ष देखिए ओलीका निकटका मान्छेहरू उहाँबाट टाढिए ।
विद्या भण्डारी र केपी शर्मा ओलीको राजनीतिक सहकार्य निकै लामो समयदेखि हुँदै आएको भए पनि राष्ट्रपतिबाट हटेपछि विद्यादेवी भण्डारीले एमालेमा फर्किएर सक्रिय राजनीतिक गर्ने मनसाय राखेका कारण अध्यक्ष केपी शर्मा ओलीसँग उहाँको ठूलो मनमुटाब भयो । एमालेमा ओलीको हैकमवादसँग अरूको केही नलाग्ने स्थिति पहिलेदेखि नै स्थापित भइसकेको थियो यही क्रममा उहाँको विरुद्धमा बोल्ने पार्टीका अधिवेशनहरूमा ओलीका विरुद्धमा उम्मेदवारी दिनेहरूलाई पार्टीबाट निकाल्ने र पार्टी छोड्न बाध्य बनाउने जस्ता कार्यहरू हुँदै आएका थिए । यसले गर्दा कोही पनि एमालेका अध्यक्षका विरुद्धमा चुइक्क बोल्न सक्दैनथे । यस्तो अवस्थामा ओलीका विरुद्धमा अध्यक्षको उम्मेदवारी दिएका भीमबहादुर रावल सक्षम र कुशल नेता हुँदाहुँदै पनि पार्टीबाट एक्लिनुभयो र पार्टीमा बस्नसक्ने अवस्था रहेन ।
उहाँले बहिरगमनको बाटो रोज्नुभयो र पछि प्रचण्डको संयोजकत्वमा स्थापित नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुनुभयो । वामदेव गौतमका साथै ओलीका विरुद्धमा बोल्ने भरपर्दा र आशालाग्दा युवानेताहरू गोकुल बास्कोटा, योगेश भट्टराई, बिन्दा पाण्डे, उषकिरण तिमिल्सिनालगायत नेताहरूको अवस्था पनि यस्तै भयो । कतिसम्म भने आमनिर्वाचनमा उहाँहरूलाई पार्टीले टिकटसमेत दिएन । अहिले आएर उहाँहरूले निर्वाचनमा प्रतिस्पर्धा नगरेकै र टिकट नपाएकै स्थिति चाहिँ उचित हुने देखियो । किनभने उहाँहरूले टिकट पाएको भए पनि अहिलेको राष्ट्रिय स्वतन्त्र पार्टीको होहोरेमा उहाँहरू पनि पराजित हुने कुराको प्रबल सम्भावना थियो ।
एमालेको गत महाधिवेशनका बेला अध्यक्षको उम्मेदवारी दिनुभएका र खुलेर विद्यादेवी भण्डारीका पक्षमा लाग्नुभएका प्रभावशाली नेता ईश्वर पोखरेललाई लाजगाल टिकट त दिइयो तर उहाँ पनि पराजित हुनुभयो । स्वयं पार्टीका अध्यक्ष केपी शर्मा ओली झापाको आफ्नै क्षेत्रबाट ठूलो मतान्तरले पराजित भएको वर्तमान परिप्रेक्ष्यमा अरूको पराजयलाई सामान्य नै भन्नुपर्ने हुन्छ । विद्यादेवी भण्डारीले पार्टीको राजनीतिमा फर्किएर सक्रिय हुने चाहना राखेपछि उहाँलाई सदस्यता नवीकरणसमेत नगरेर पन्साइयो । एमालेभित्र यही कारणले ठूलो अन्तरद्वन्द्व पैदा भएको थियो । विद्या भण्डारी सदस्यता नवीकरण नभएको कारण पार्टीमा सक्रिय हुन सक्नुभएन ।
एमालेभित्र अग्रपंक्तिमा रहेका ओली निकटका नेताहरू शंकर पोखरेल, विष्णु पौडेलहरूले पनि ओलीलाई काँध हाल्नुभयो र विद्यादेवी भण्डारीको पाहिलोखेदो गर्नुभयो तर गत फागुन २१ गतेको निर्वाचनपछि राष्ट्रिय राजनीतिको माहोल जसरी परिवर्तन भयो त्यसैगरी एमालेभित्र पनि परिवर्तनका लहरहरू पैदा भइरहेका छन् । एक ताकाको निकटको सम्बन्ध र पछि आफ्नै प्रतिस्पर्धामा ओर्लिएको ठानेर सदस्यता समेतबाट वञ्चित गरिएकी विद्यादेवी भण्डारीलाई ओलीले आफ्नो निवास गुण्डुमै भेटघाट गरेपछि अहिले फेरि परिस्थितिले कोल्टे फेरेको छ । हालै मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा भण्डारी की धर्मपत्नी तथा पूर्वराष्ट्रपति भण्डारीलाई प्रमुख अतिथि बनाउनू भन्ने अध्यक्ष ओलीको निर्देशन अनुसार त्यसैगरी भण्डारी मदन भण्डारी फाउण्डेशनको कार्यक्रममा प्रमुख अतिथि बन्नुभयो ।
अब आएर दुवैजना नेताहरू एकअर्काको अस्तित्वलाई स्वीकार्न थाल्नुभएको जस्तो देखिएको छ । त्यतिमात्र होइन दुई धारमा विभाजित हुनपुगेका उक्त पार्टीका नेताहरू पनि अब नजिकिन थाल्नुभएको हो कि भन्ने आभास भएको छ । यसरी एमालेभित्रको मतमतान्तरलाई समन्वयात्मक भूमिकाबाट निकट बनाउने प्रयासमात्र होइन अस्थिर र विचलित भूमिकामा रहिरहने पूर्वमाओवादी पार्टीका अध्यक्ष तथा हालको नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले पनि आजको आवश्यकता एमालेसहितको वामएकता हो भन्नुभएको छ । यो एमालेलाई रिजाउने अभिव्यक्ति मात्र निश्चय होइन । अब कम्युनिष्टहरू एक हुनु नै पर्ने आत्मबोध भएको हुनसक्छ ।
हुन त कम्युनिष्ट पार्टीका बीच एकताका प्रयासहरू पहिले पनि भएकै हुन् तर कम्युनिष्टहरू फुट्ने र जुट्ने अथवा छोडिने र जोडिने क्रम स्थापनाकालदेखिकै हो । आफूबाहेक अरूलाई नेता नमान्ने मनोभावनाले यसतो हुँदै आएको छ । अब नयाँ परिस्थिति अनुसार केही वर्ष राष्ट्रिय स्वतन्त्र पार्टीका सामु अरू पार्टीहरूले राजनीतिक रूपमा सामना गर्न सक्ने परिस्थिति बन्दैन कि भन्ने अवस्था सिर्जना भएको छ ।
जनताले पुराना पार्टीहरूका कामको मूल्यांकनका आधारमा विकल्प खोज्ने क्रममा घण्टी चिह्न लिएर जनतासामु गएको राष्ट्रिय स्वतन्त्र पार्टीले अहिले पूर्णबहुमत प्राप्त गरेको छ । अर्को निर्वाचनसम्म यसको विकल्प अरू पार्टी हुन सक्दैनन् तर अर्को निर्वाचनसम्म यस पार्टीले गर्ने कामका आधारमा यसको मूल्यांकन हुनेछ र यसले निरन्तरता पाउने अथवा अरू पार्टी जस्तै अवस्थामा पुग्ने भन्ने स्थिति यसले गर्ने कामका आधारमा पैदा हुनेछ । रास्वपाले राम्रो गर्न नसकेको अवस्थामा कि यिनै पुराना पार्टीहरू पुनःसक्रिय हुनेछन् अथावा रास्वपा आए जसरी नै अरू कुनै वैकल्पिक शक्तिको उदय हुनेछ ।





निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…