काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ सम्पन्न भएको छ।
मंगलवार आयोजित संसदीय सुनुवाइ समितिको बैठकमा समितिका सदस्यहरूले प्रस्तावित प्रधानन्यायाधीश शर्मासँग न्यायिक स्वतन्त्रता, वरिष्ठताको सिद्धान्त, न्यायालय सुधार, बार–बेन्च सम्बन्ध, विकासमैत्री न्याय प्रणाली तथा एनसेल कर विवादलगायत विषयमा प्रश्न गरेका थिए।
सुनुवाइका क्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सांसद पद्मा अर्यालले वरिष्ठताक्रममा चौथो नम्बरमा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको विषय उठाउँदै यसले न्यायपालिकामा गलत नजिर बस्न सक्ने चिन्ता व्यक्त गर्नुभएको थियो। उहाँले कार्यपालिकाको प्रभाव न्यायपालिकामा बढ्न सक्ने आशंका समेत व्यक्त गर्नुभएको थियो।
त्यस्तै, नेपाली काँग्रेसका सांसद आनन्द ढुंगानाले न्यायालय र बारबीच लामो समयदेखि देखिएको द्वन्द्व कसरी समाधान गर्ने भन्ने विषयमा चासो राख्नुभएको थियो।
प्रश्नहरूको जवाफ दिँदै डा. शर्माले अदालतले संविधान, कानून र न्यायका सिद्धान्तका आधारमा मात्रै फैसला गर्ने बताउनुभयो। एनसेल कर विवादमा नियमित कर, जरिवाना तथा विलम्ब शुल्क यथावत राखिएको तर कानूनी प्रक्रियाअनुसार ‘झुट्टा विवरण’ सम्बन्धी कडा दण्डको प्रावधान लागू नभएको स्पष्ट पार्नुभयो।
उहाँले न्यायपालिकालाई विकासमैत्री र प्रविधिमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्दै वाणिज्य प्रकृतिका मुद्दाका लागि ‘डेडिकेटेड बेन्च’ तथा विशिष्टीकृत इजलास गठन गर्ने अवधारणा अघि सारेको जानकारी दिनुभयो। साथै, मुद्दा दर्ताअघि मेलमिलाप गराउने ‘प्रिलिटिगेसन मिडिएसन’ प्रणाली लागू गर्न पहल गर्ने पनि बताउनुभयो।
सुनुवाइका क्रममा उजुरीकर्ताहरूले भने डा. शर्माको शैक्षिक योग्यता, संवैधानिक योग्यता तथा न्याय सम्पादन क्षमतामाथि प्रश्न उठाएका थिए। उनीहरूले संसदीय सुनुवाइ समितिले पर्याप्त छानबिन नगरी प्रक्रिया अघि बढाएको आरोपसमेत लगाएका थिए।
सुनुवाइका अन्त्यमा समितिका सभापति बोधनारायण श्रेष्ठले सदस्यहरूलाई पूरक प्रश्नका लागि समय दिनुभएको थियो। थप प्रश्न नआएपछि उहाँले प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ सम्पन्न भएको घोषणा गर्नुभयो।
राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र