काठमाडौं । नेपाल बुद्धिचाल महासंघभित्रको आन्तरिक विवाद अहिले उत्कर्षमा पुगेको छ । महासंघका अध्यक्ष हेराकाजी महर्जन र महासचिव धरमबहादुर लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएसँगै नेतृत्व र विद्रोही समूहबीचको टकराव खुला रूपमा सतहमा आएको हो ।
मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत् महासंघका वरिष्ठ उपाध्यक्ष दीपेन राई नेतृत्वको समूहले अध्यक्ष र महासचिवविरुद्ध औपचारिक रूपमा अविश्वास प्रस्ताव दर्ता गरिएको जानकारी दिएको छ । महासंघको विधानअनुसार साधारणसभाका कुल सदस्यको एक चौथाइ सदस्यले नेतृत्वविरुद्ध अविश्वास प्रस्ताव ल्याउन सक्ने व्यवस्था छ । हाल महासंघमा रहेका ११८ साधारणसभा सदस्यमध्ये ४२ जनाले प्रस्तावमा समर्थन जनाएको विद्रोही पक्षको दाबी छ ।
विद्रोही समूहका अनुसार पहिलोपटक २०८२ असोज १२ गते नै अविश्वास प्रस्ताव दर्ता गरिएको थियो । त्यसबेला नेतृत्व पक्षले खेलाडीका माग सम्बोधन गर्ने, कार्यसमिति नियमित बनाउने तथा संस्थागत सुधार गर्ने प्रतिबद्धता जनाएपछि प्रक्रिया अघि नबढाइएको महासंघका उपाध्यक्ष धनबहादुर बोगटीले बताउनुभयो । तर, पछिल्लो समय अध्यक्ष र महासचिवले ‘अनियमितता, अपारदर्शिता र विधानविपरीत गतिविधि’ निरन्तर दोहोर्याएको आरोप लगाउँदै वैशाख ११ गते पुनः अविश्वास प्रस्ताव दर्ता गरिएको विद्रोही समूहले जनाएको छ ।
महासंघका वरिष्ठ उपाध्यक्ष दीपेन राई, उपाध्यक्ष धनबहादुर बोगटी, उपमहासचिव मोनिलिसा खुम्बु, कोषाध्यक्ष ताराबहादुर रानाभाट र सदस्य बबिदेवल पुनलगायतले लामो समयदेखि कार्यसमितिमा ‘नोट अफ डिसेन्ट’ राख्दै आएको खुलासा गरिएको छ । पत्रकार सम्मेलनमा नेपालको पहिलो अन्तर्राष्ट्रिय आर्बिटर ज्ञानेन्द्र खाइजूको समेत उपस्थिति थियो ।
विद्रोही समूहले महासंघ नेतृत्वमाथि गम्भीर आरोपहरूको सूची सार्वजनिक गरेको छ । नियमित कार्यसमिति बैठक नबसालिएको, खेलाडी छनोट प्रक्रियामा पारदर्शिता नअपनाइएको, नक्कली प्रतिवेदन अन्तर्राष्ट्रिय महासंघमा पठाइएको तथा मानव तस्करीजस्तो संवेदनशील विषयमा समेत नेतृत्वको संलग्नता रहेको आरोप उनीहरूले लगाएका छन् ।
यसैबीच, हालै १३ जना खेलाडीलाई विदेश पठाउने निर्णय भए पनि भिसा आवेदनमा २६ जनाको नाम समावेश गरिएको विषयले विवाद थप गहिरिएको छ । असम्बन्धित व्यक्तिहरूको नाम समावेश गरिँदा भिसा अस्वीकृत भएको र त्यसका कारण खेलाडीहरू अन्तर्राष्ट्रिय ओलम्पियाडमा सहभागी हुनबाट वञ्चित भएको विद्रोही पक्षको आरोप छ ।
अविश्वास प्रस्तावबारे अध्यक्ष र महासचिवलाई औपचारिक जानकारी गराइसकिएको तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र शिक्षा तथा खेलकुद मन्त्रालयमा समेत निवेदन दर्ता गरिएको जनाइएको छ । तर, विशेष साधारणसभा बोलाउन राखेपले स्वीकृति नदिएको आरोप विद्रोही समूहले लगाएको छ ।
यता, वर्तमान नेतृत्व र विद्रोही दुवै पक्षले आफूलाई वैधानिक दाबी गर्दै विशेष साधारणसभा गर्न अनुमति दिन राखेपसमक्ष दबाब बढाइरहेका छन् । महासंघभित्रको विवादले अब केवल नेतृत्व संकटमात्र नभई नेपाली बुद्धिचाल खेलकै भविष्य र अन्तर्राष्ट्रिय विश्वसनीयतामाथि प्रश्न उठाएको खेलकर्मीहरूको टिप्पणी छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…