काठमाडौं । गत वैशाख ११ गतेदेखि २५ गतेसम्म प्रदर्शनमा आएका नेपाली चलचित्रहरूको आधिकारिक बक्स अफिस तथ्यांक सार्वजनिक भएको छ । चलचित्र विकास बोर्डले सोमबार उपलब्ध गराएको विवरणअनुसार कमाइका हिसाबले ‘परालको आगो’ शीर्ष स्थानमा छ भने ‘लालीबजार’ दोस्रो स्थानमा देखिएको छ ।
वैशाख ११ गतेदेखि प्रदर्शनमा आएको ‘परालको आगो’ले दर्शकमाझ उल्लेखनीय उपस्थिति जनाएको छ । बोर्डको तथ्यांकनुसार चलचित्रले गत शनिबारसम्म एक लाख ५१ हजार ९२८ वटा टिकट बिक्री गर्दै चार करोड २२ लाख २३ हजार ४३५ रुपैयाँ ग्रस कमाइ गरेको छ । नेपाली चलचित्र बजारमा पछिल्लो समय मौलिक कथावस्तु र ग्रामीण परिवेशमा आधारित चलचित्रप्रति दर्शकको आकर्षण बढिरहेको अवस्थामा ‘परालको आगो’ले त्यसलाई पुष्टि गरेको विश्लेषण गरिएको छ ।
त्यस्तै, वैशाख २५ गते प्रदर्शनमा आएको लालीबजारले पनि सन्तोषजनक व्यापार गरेको देखिएको छ । प्रदर्शनको छोटो अवधिमै यस चलचित्रले एक लाख १४ हजार ५८६ वटा टिकट बिक्री गर्दै तीन करोड ४२ लाख ६१ हजार ७७९ रुपैयाँ ग्रस कमाएको बोर्डको विवरणमा उल्लेख छ । प्रदर्शनको दोस्रो सातासम्म दर्शकको राम्रो उपस्थिति कायम रहनुले चलचित्रप्रति सकारात्मक ‘वर्ड अफ माउथ’ प्रभाव परेको अनुमान गरिएको छ । यद्यपि, ‘लालीबजार’सँगै प्रदर्शनमा आएका अन्य दुई चलचित्र ‘मालती मंगले’ र ‘गुरु आमा’को व्यापार भने अपेक्षानुसार हुनसकेन ।
गायक रामकृष्ण ढकालले निर्माण गरेको ‘मालती मंगले’ले प्रदर्शनको नौ दिनसम्म ५० लाख रुपैयाँ कमाउन नसकेको तथ्यांकले देखाएको छ । चलचित्रले गत शनिबारसम्म १३ हजार ८९० वटा टिकट बिक्री गर्दै ४४ लाख ७८ हजार ६०८ रुपैयाँ ग्रस कमाएको छ । संगीत र भावनात्मक कथावस्तुलाई मुख्य आधार बनाइएको चलचित्रले दर्शक हलसम्म तान्न नसकेको विश्लेषण हुन थालेको छ ।
अर्कोतर्फ, ‘गुरु आमा’ चारमध्ये सबैभन्दा कमजोर व्यापार गर्ने चलचित्र बनेको छ । बोर्डको विवरणानुसार चलचित्रका जम्मा आठ हजार ९७४ वटा टिकट बिक्री भएका छन् भने कुल ग्रस कमाइ २८ लाख ४४ हजार ४५१ रुपैयाँ छ । सीमित शो, प्रचारप्रसारको कमजोर प्रभाव र प्रतिस्पर्धी रिलिजका कारण चलचित्रको व्यापार प्रभावित भएको हुनसक्ने अनुमान गरिएको छ ।
यसअघि वैशाख महिनामै प्रदर्शनमा आएको ‘पहाड’सहित पाँच नेपाली चलचित्रमध्ये ‘परालको आगो’ र ‘लालीबजार’ले मात्रै बजारमा उत्साहजनक व्यापार गर्न सफल भएको देखिन्छ । पछिल्लो समय नेपाली चलचित्र उद्योगमा दर्शकको रुचि कथावस्तु, प्रस्तुति र प्रचार रणनीतिसँग प्रत्यक्ष जोडिन थालेको अवस्थामा राम्रो सामग्री भएका चलचित्रले मात्रै व्यापारिक सफलता हासिल गर्नसक्ने संकेत यी तथ्यांकले दिएको विश्लेषकहरूको भनाइ छ ।
चलचित्र क्षेत्रका जानकारहरूका अनुसार नेपाली चलचित्र बजार अहिले तीव्र प्रतिस्पर्धाको चरणमा रहेको छ । दर्शकको रोजाइमा आएको चलचित्रले छोटो समयमै करोडौं कमाइ गर्न सफल भए पनि कमजोर प्रचार, कमजोर कथावस्तु वा सीमित पहुँच भएका चलचित्रलाई हलसम्म दर्शक तान्न चुनौतीपूर्ण बन्दै गएको देखिन्छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र