नेपालको कम्युनिष्ट आन्दोलन केवल एउटा राजनीतिक इतिहास होइन, यो हजारौं सपनाहरूको रगत र पसिनाको यात्रा हो । यो आन्दोलनमा जेलका अँध्यारा कालकोठरी छन्, युद्धका धुवाँ र रगतका छिटा छन्, मानिसका सपनाका भग्नावशेष छन्, आमाहरूका अधुरा प्रतिक्षा छन्, विधवाका सिउँदो पुछिएका कथा र व्यथा छन्, टुहुरा बालबालिकाका चिच्याहट छन्, श्रमिकका पसिनाले भिजेका हात छन्, सुकुम्बासीका उजाडिएका बस्ती छन्, भोकको भारीले थिचिएका किसानका चिरा परेका पैताला छन् र राज्यद्वारा दबाइएका आवाजको लामो कारुणिक इतिहास छ । यो आन्दोलन केवल राजनीतिक यात्रा होइन, यो हजारौं बलिदानमाथि उभिएको रगतले लेखिएको अधुरो सपना हो ।
यहाँ क्रान्तिका गीतहरू पनि छन्, विश्वासघातका घाउ पनि छन् । यहाँ परिवर्तनको उज्यालो खोज्दै हिँडेका युवाहरूको जोस छ र सत्ताको अँध्यारो गल्लीमा हराइदिएको आदर्शको पीडा पनि छ । यो आन्दोलनको माटोमा पसिनामात्रै मिसिएको छैन, यसमा कयौं शहीदहरूको रगत मिसिएको छ, कयौं आमाहरूको आँसु मिसिएको छ, कयौं पुस्ताहरूको अधुरो भविष्य मिसिएको छ । त्यसैले यो इतिहासमात्र पढिने पानाका इतिहास होइन, महसुस गरिने पीडा हो, बोकिरहनुपर्ने जिम्मेवारी हो र फेरि एकपटक जनताको पक्षमा उठ्नुपर्ने अन्तिम चेतावनी हो । यो आन्दोलनमा हजारौं युवाको अधुरो भविष्य, हजारौं आमाहरूको प्रतीक्षा र लाखौं उत्पीडित जनताका मुक्ति, आकांक्षा गाँसिएको छ तर आज यही आन्दोलन आफ्नो विरासतको भारी बोकेर पतनको दोबाटोमा अलमलिरहेको देखिन्छ ।
नेपालमा कम्युनिष्ट आन्दोलन कुनै विदेशी नक्कलको रूपमा नभई भोक, रोग, अन्याय, अत्याचार, थिचोमिचो, गरिबी, जातीय, वर्गीय, क्षेत्रिय, र लैंगकि विभेद एवं श्रमजीवीको शोषण र आर्थिक असमानताका कारण जन्मेको र हुर्कँदै गएको हो । जुन समयमा वामपन्थी, कम्युनिष्टहरू सत्ताका कुर्सीको लोभमा होइन, परिवर्तनको पागलपन र जीवन उत्सर्गको प्रतिस्पर्धामा थिए ।
एक समय जनताको मुक्तिको नारा बोकेको आन्दोलन आज सत्ता, पद, पैसा, गठबन्धन, अवसरवाद र वैचारिक विचलनको दलदलमा फसेको देखिन्छ । नेपालको कम्युनिष्ट आन्दोलनको इतिहास, पार्टीहरूको विभाजन, एकता र ध्रुवीकरणको इतिहासमात्र होइन, यो विश्वास, विश्वासघात, अन्तरघात र जनघातको इतिहास हो । यो आन्दोलनले उत्पीडित आमजनतालाई क्रान्ति र परिवर्तनको सपना त देखायो तर आज तिनै जनता प्रश्न गरिरहेका छन् कि के परिवर्तनका लागि यति धेरै रगत र आँसुको बलिदान भएको थियो ?
इतिहासको आगोमा जन्मिएको आन्दोलन
विश्व इतिहासमा कम्युनिष्ट आन्दोलन शोषणविरुद्धको विद्रोह थियो । कार्ल मार्क्सले संसारलाई वर्ग संघर्षको दर्शन दिए, रसियन क्रान्तिले सत्ता केवल दरबार र पुँजीपतिका लागि मात्र होइन भन्ने सन्देश दियो । नेपालमा पनि कम्युनिष्ट आन्दोलन कुनै विदेशी नक्कलको रूपमा नभई भोक, रोग, अन्याय, अत्याचार, थिचोमिचो, गरिबी, जातीय, वर्गीय, क्षेत्रीय र लैंगिक विभेद एवं श्रमजीवीको शोषण र आर्थिक असमानताका कारण जन्मेको र हुर्कँदै गएको हो । जुन समयमा वामपन्थी, कम्युनिष्टहरू सत्ताका कुर्सीको लोभमा होइन, परिवर्तनको र जीवन उत्सर्गको प्रतिस्पर्धामा थिए । उनीहरूले जेलको यातना, कष्टकर, भूमिगत जीवन, परिवारसँगको विछोड, सहेर आफ्नो भविष्य र अन्ततः आफ्नो अमूल्य जीवन गुमाए ।
किनकि उनीहरूमा विश्वास थियो–एकदिन नेपालमा उत्पीडित जाति, वर्ग, लिंगलगायत आमनेपाली छोराछोरीहरूले पनि सम्मानित जीवन बाँच्न पाउनेछन् । सबैका लागि समान न्याय, कानुन, शिक्षा, स्वास्थ्य, रोजगारी सुनिश्चित हुनेछ । असमानताका ठूलाठूला पर्खालहरू भत्कनेछन्, विभेदका खाडलहरू पुरिने छन्, एकदिन राज्य सिंहदरबारको होइन जनताको हुनेछ । यसै समयमा माओको नेतृत्वमा चीनमा भएको क्रान्तिले तेस्रो विश्वका गरिब राष्ट्रहरूलाई नयाँ आशा जगाएको थियो, त्यसमध्ये नेपाललाई अझ ठूलो प्रभाव परेको थियो ।
जनयुद्धः सपना, रगत र विडम्बना
नेपाली जनयुद्ध नेपालको इतिहासको सबैभन्दा जटिल र रक्तिम अध्याय हो । त्यो युद्धमा हजारौं नेपालीले आफ्नो ज्यान गुमाए, कतिपय गाउँहरू सामूहिक चिहान र खण्डहरमा परिणत भए, कैयौं आमाहरूले आफ्नो जीवनको साहारा गुमाए, कयौं महिलाहरूले श्रीमान्को साथ गुमाए, कयौं पुरुषहरूले श्रीमती गुमाए र कयौं अबोध बालबालिकाहरूले आफ्नो बाल्यकाल गुमाए र यही संघर्ष, त्याग, तपस्या र बलिदानको रक्तिम गाथाले नेपालमा एउटा युगान्तकारी परिवर्तनसहित राजतन्त्र ढल्यो, लोकतान्त्रिक गणतन्त्रको जगमा संघीयता, समावेशिता, समानुपातिक र धर्म निरपेक्षताको टावर उठ्यो । यो उपलब्धि हासिल गर्दा र त्यो समय युद्धमा होमिएका युवाहरू पद र सत्ताका लागि थिएनन्, मात्र देशको सपनाका लागि थिए ।
उनीहरूले विश्वास गरेका थिए अब नेपाल बदलिन्छ, अब गरिबको आवाज दबाइने छैन, अब राज्य केही मुठ्ठिभरको वर्गको निजी सम्पत्ति हुनेछैन तर विडम्बना आज युद्धको मोर्चाबाट जीवित फर्केका धेरै अनुहारहरू निराश छन्, दुःख पीडा र उही अभावमा छन्, अंगभंग छन्, बाँच्नका लागि हात फैलाउन बाध्य छन् । यस्तो हुनुमा उनीहरूले जुन परिवर्तन खोजेका थिए त्यो परिवर्तनको आडमा सत्ता लेनदेन, भागबण्डा, टुट्फुट् र अनैतिक गठबन्धनको बाटोमै अलपत्र पर्नु हो ।
आन्दोलनको सबैभन्दा ठूलो पराजयः नेतृत्वको नैतिक पतन
कुनै पनि आन्दोलनमा बाहिरी शक्तिले भन्दा पनि आफ्नै भित्री कमजोरीले पराजित भइन्छ । आज नेपाली कम्युनिष्ट आन्दोलनको सबैभन्दा ठूलो संकट वैचारिक होइन, नैतिक संकट हो । क्रान्तिका ठूलाठूला भाषण दिने सत्ता र शक्तिको विलासितामा हराए, त्यागको राजनीति गर्नेहरू धन, सम्पत्ति र परिवारवादको प्रतिस्पर्धामा उत्रिए र जनताको नाममा आन्दोलन र संघर्षको बिगुल फुक्नेहरू जनताबाटै टाढिए । आज जनता हेर्दैछन्, जसले भ्रष्टाचारविरुद्ध नारा घन्काए, उनीहरू नै भ्रष्टाचारका मतियार र संरक्षक भए । जसले सामन्तवादविरुद्ध युद्धको मसाल बाले उनीहरू नै नयाँ सत्ताधारी अभिजात वर्ग बने । जसका कारण आन्दोलनभित्र निराशाको छायाँ पर्यो, कार्यकर्ताको आशा भरोसा र विश्वास गुम्न पुग्यो, मनहरू भाँच्चिए, युवाहरूले नेतृत्वमाथि शंका गर्न थाले र सबैभन्दा ठूलो पिडा के भयो भने, रगत बगाउनेहरू पछाडि धकेलिँदै गए र अवसरवादीहरू अगाडि वरिपरि भन्किन थाले ।
विश्व राजनीति र वामआन्दोलनको नयाँ संकट
शोभियत संघको विघटनपछि संसारभर कम्युनिष्ट आन्दोलन ठूलो संकटमा पर्यो । पुँजीवादले आफूलाई ‘अन्तिम सत्य’ जस्तो प्रस्तुत गर्न थाल्यो तर आज पनि संसारमा असमानता समाप्त भएको छैन । गरिब झन् गरिब हुँदैछन् र धनी झन शक्तिशाली हुँदैछन् । युद्ध, बेरोजगारी, आर्थिक संकट र श्रम शोषण अझै कायम छ । युनाइटेड स्टेट्सदेखि फ्रान्ससम्म श्रमिक असन्तुष्ट बढिरहेको छ । चाइनाले समाजवादी राजनीतिक संरचनाको आर्थिक शक्ति निर्माण गरिरहेको छ । क्युवा अझै दबाबबीच आफ्नो अस्तित्व जोगाइरहेको छ । यसले एउट कुरा स्पष्ट गर्छ-समानता र सामाजिक न्यायका आवश्यकता अझै समाप्त भएका छैनन् । आजको विकसित युगमा नयाँ पुस्ता उही पुराना नाराहरू सुन्न चाहँदैनन्, उनीहरू परिणाम चाहन्छन्, उनीहरू पारदर्शिता, जवाफदेहिता र नैतिक बलमा उभिएको स्वच्छ राजनीति चाहन्छन् ।
आजको नेपाली कम्युनिष्ट आन्दोलन आफ्नो जीवनको अत्यन्तै कठिन निर्णायक मोडको धारमा उभिएको छ । अब या त यसले आत्मसमीक्षासहित नयाँ पुनर्जागरणको बाटो रोज्नेछ या त इतिहासको संग्रहालयमा एउटा पुरानो नारा भएर सीमित हुनेछ । अबको आन्दोलन बन्द कोठाका भाषणले होइन, जनताको दुःख, पीडा, मर्म र अभावले निर्माण हुनुपर्दछ ।
नेपालको वर्तमान वामपन्थ : विचार हराएको भिड
आज नेपालका धेरै कम्युनिष्ट पार्टीहरू विचारभन्दा मौसमी सिद्धान्त अनुसार रंग बदलेर अनैतिक गठबन्धनमा व्यस्त देखिन्छन् । सिद्धान्तभन्दा सत्ता ठूलो बनेको छ । आन्दोलनभन्दा चुनाव ठूलो र प्रिय बनेको छ । नेपालको ऊर्जाशक्ति युवाहरू विदेश पलायन भइरहेका छन् । किसान आफ्नो रगत पसिना बगाएर पनि निराश छन् । सुकुम्बासीका लागि आकाश त छ तर टेक्ने जमिन पनि नहुँदा अनिश्चितता र पीडा ब्यहोरिरहेका छन् तर सत्तामा पुगेका सर्वहारा वर्गका नेता दाबी गर्ने कम्युनिष्टहरू सुविधा र विलासिताको महलमा रमाइरहेका छन् । आज युवा पुस्ताको चोटिलो प्रश्नको उत्तर कसैबाट आउन सकेको छैन । यदि यति लामो संघर्ष, यति ठूलो बलिदान र यति ठूलो त्यागपछि पनि जनताको जीवन र मुलुकको मुहार बदलिएन भने ती रगतपात, युद्ध, संघर्ष र आन्दोलनको ऐतिहासिक अर्थ के रह्यो ?
यो आममानिसमा उठेको साझा प्रश्नलाई प्रतिगामी भनेर दबाउन सकिँदैन । किनकि यो प्रश्न आन्दोलनकै आत्माबाट उठिरहेको छ । सबैभन्दा खतरनाक कुरा त के छ भने, आन्दोलनभित्र आत्माआलोचना हराउँदै गएको छ । गल्ती कमजोरी स्वीकार गर्ने क्षमता मरेपछि आन्दोलनहरू बिस्तारै इतिहासको चिहानतर्फ डोहनेरिने छन् । यदि वामआन्दोलनले आफूलाई सुधार्न र शिरदेखि पाउसम्म सच्याउन सकेन भने शोषित, पीडित, एवं आमजनताको विश्वास र भरोसाबाट च्यूत हुनेछन् । जब जनताको विश्वास गुम्न पुग्दछ तब युद्ध, संघर्ष र बलिदानको इतिहास त बाँकी रहला तर भविष्य भने अन्धकारको सुरुङतर्फ तेर्सिने निश्चित छ ।
अबको प्रश्न : पुनर्जागरण कि इतिहासको अन्त्य ?
आजको नेपाली कम्युनिष्ट आन्दोलन आफ्नो जीवनको अत्यन्तै कठिन निर्णायक मोडको धारमा उभिएको छ । अब या त यसले आत्मसमीक्षासहित नयाँ पुनर्जागरणको बाटो रोज्नेछ या त इतिहासको संग्रहालयमा एउटा पुरानो नारा भएर सीमित हुनेछ । अबको आन्दोलन बन्द कोठाका भाषणले होइन, जनताको दुःख, पीडा, मर्म र अभावले निर्माण हुनुपर्दछ । यदि कम्युनिष्ट आन्दोलनले जनताको आशा, भरोसा र विश्वास जुटाउन चाहन्छ भने उसले फेरि गाउँ फर्कनुपर्छ, किसानका खेतमा पाइला टेक्नुपर्छ, श्रमिकको पसिनाले भिजेका हातहरू समाउनुपर्छ, सुकुम्बासीको घाउमा मलम लगाउनुपर्छ, शहीद तथा बेपत्ता परिवारको आँसु पुछ्नुपर्छ, घाइते अपांगहरूको सहारा बन्नुपर्छ र फेरि त्यागलाई राजनीतिभन्दा माथि राख्नुपर्छ । किनकि विचार मर्दैन तर विचारलाई सत्ता र विलासिताको कौडीको भाउमा बेच्ने नेतृत्व भने अवश्य समाप्त हुनेछ ।
निष्कर्ष :
नेपालको कम्युष्टि आन्दोलन इतिहासको गौरव पनि हो उत्तिकै पीडा पनि ! यस आन्दोलनले देशलाई संघीय गणतन्त्रसम्म ल्यायो तर जनताको सपनालाई पूर्णता दिन सकेन । आज आन्दोलन आफ्नै विरासतसँग प्रश्न गरिहेको छ । जनताको बलिदान र नेतृत्व विचलनबीच ठूलो दूरी पैदा भएको छ तर अझसम्ममा समाप्त भएको छैन । यदि आन्दोलनले आत्मा बचाउन सक्यो भने पुर्नजागरण सम्भव छ । यदि नैतिकता फर्काउन सकियो भने, जनताको विश्वास फेरि जित्न सकिन्छ । नत्र इतिहासले एकदिन कठघरामा उभ्याएर कठोर निर्णय सुनाउन बाध्य हुनेछ । जनताको नाममा गरिएको युद्ध, संघर्ष, क्रान्ति र आन्दोलन अन्ततः जनताकै विरुद्ध किन गयो ? त्याग, बलिदान, विश्वासघात र पुनर्जागरणको अन्तिम प्रश्न चेतनाका लागि सबै वामपन्थी नेतृत्वहरूमा धन्यवाद !







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र