त्रयोविंशतिसाहस्रं तत्प्रमाणं विदुर्बुधाः
यस पुराणका लेखक व्यासका पिता पराशर मुनि हुन् । यसमा २३ हजार श्लोक रहेका छन् । अठार महापुराणका गणनामा विष्णुपुराण तेस्रो पुराण हो । यसै कारणले मान्छेलाई भ्रम पर्दछ यो पनि व्यासले नै रचना गरेका हुन् भन्ने । यसका दुई भाग छन् । यी भागलाई पूर्व भाग र उत्तर भाग भन्ने गरिन्छ । श्रीमद्भागवतमा स्कन्ध, पद्मपुराणमा खण्ड र महाभारतमा पर्व भने जस्तै यसमा अंश आएको देखिन्छ । स्कन्ध, खण्ड, पर्व सापेक्षित रूपले हेर्दा ठूला अडान या विश्रान्तिस्थल र तिनका भित्री भागमा अध्याय चाहिँ ससाना विश्रामस्थल बनेर आएका देखिन्छन् । यो ऋषि पराशर अनि उनका पुत्र व्यासले दुनियाँलाई सिकाएको प्रबन्धनको मोटामोटी रूपरेखा हो भने उनले अति मसिना जुइना पनि प्रयोग गरेर भीमकायात्मक ग्रन्थको प्रबन्धन पक्षको विशदताको आवश्यक्तालाई पनि परिपुष्ट पारेका छन् ।
यसरी गरिएको विभाजनको व्यवस्था भएको विष्णुपुराणमा जम्मा छ वटा अंश रहेका छन् । तिनमा पनि पहिलो अंशमा २२ अध्याय रहेका छन् । दोस्रामा १६ त्यसैगरी तेस्रामा १८ चौथामा २४ पाँचौमा ३८ र छैटौंमा आठ अध्यायमात्र रहेका देखिन्छन् । यसरी हेर्दा अध्याय वितरणमा पनि गोपुच्छाग्रसमाकारता रहेको देखिन्छ । जसरी गाईको पुच्छरको फुर्को (थुँगा)मा रहेका रौं कोही लामा, कोही केही छोटा र कोही चाहिँ निकै छोटा पनि रहेका देखिन्छन् । विष्णुका सम्बन्धमा लेखिएको यो पुराणमा साहित्यिक विधामध्येको ज्येष्ठ विधा हो नाट्य र त्यसको झलक आउने गरी लेखिनु आफैँमा महनीय अर्थयुक्त होला भन्ने मलाई लागेको छ ।
विष्णुपुराणमा ज्ञान र भक्तिको सामञ्जस्य अनन्य रहेको देखिन्छ । प्रधानतया विष्णु उपासनामा केन्द्रित रहेर पनि संकीर्णताबाट बाँच्न सफल रहेको छ । अनेकौं प्रकारका धर्मकथा, व्रत, उपवास, वेदान्त, ज्योतिष विषय प्रतिपादन गरिएको छ । राजाहरूको वंशाख्यान वर्णनले यो पुराण भरिएको छ ।
ऋग्वेदमा यमयमी संवाद छ । उर्वशीपुरुरवा संवाद पनि छ । यी दुवै संवाद नाट्यका पूर्वप्रयोग मानिन्छन् र नाट्यको सर्वथा मौलिकतत्व जसले उसलाई अन्य विधाबाट पृथक गरेको हुन्छ । त्यस तत्वमध्ये पहिलो संवाद हो भने भेषभूषा र अभिनय एवं रंगमञ्च चाहिँ दोस्रा तेस्रा तत्वका रूपमा आएका देखिन्छन् । यिनै कुरालाई दृष्टिगत गरेर नै भरतले ‘यद्यपिसिद्धम लोकविरुद्धं नाचरणीयम्’ भनेका रहेछन् । यस पुराणको पूर्वभागमा जम्मा १२६ अध्याय छन् ।
विष्णुपुराणको वैशिष्ट्य
यसमा विशेषगरी भूगोलको सङ्गोपाङ्ग वर्णन गरेको भेटिन्छ । दुर्भाग्यको कुरो हाम्रा भूगोल विषयका प्राध्यापक विष्णुपुराणसँग जेठाजुको नाता राखेर घुम्टो हाल्छन् । हाम्रा धर्माधिकारी पनि अनेकौं अनापसनाप व्याख्यामा विश्वास गरिरहेका देखिन्छन् जब कि चारै आश्रमको उपादेयता, कर्तव्यनिर्देश विशेष किसिमले गरेको भेटिन्छ । वेदका शाखाको वर्णन र सूर्य तथा चन्द्रवंशी राजाहरूको वर्णन पनि अन्य पुराणमा भन्दा विशेष विश्वसनीय किसिमले गरेको भेटिन्छ । भागवतको दशम स्कन्धमा जसरी नै यसमा श्रीकृष्ण चरित्रको वर्णन गरिएको छ । वैष्णवको सर्वस्व मानिने भागवत जस्तै यो पनि वैष्णव सम्प्रदायका लागि विशेष सामग्री भएर देखापरेको छ ।
यसमा ज्ञान र भक्तितको सामञ्जस्य अनन्य रहेको देखिन्छ । प्रधानतया विष्णु उपासनामा केन्द्रित रहेर पनि संकीर्णताबाट बाँच्न सफल रहेको छ । अनेकौं प्रकारका धर्मकथा, व्रत, उपवास, वेदान्त, ज्योतिष विषय प्रतिपादन गरिएको छ । राजाहरूको वंशाख्यान वर्णनले यो पुराण भरिएको छ । यदु, तुर्वसु, द्रुह्यु, अनु, पुरुसमेत पाँच जनाको विशेष वर्णनका अतिरिक्त अनेकौं क्षात्रवंशको पनि विशेष वर्णन गरिएको छ । साहित्यिक दृष्टिले पनि यसमा रस, अलंकार, छन्द, आदिका साथै विधोपविधाका अभिलक्षणले समेत भरिएको छ :-
हितं मितं प्रियं काले वश्यात्मायोऽभिभाषते ।
स यातिलोकान् ह्लादहेतुभूतान् नृपाक्षयान् ।।
अर्कातिर स्वयं भगवान् श्रीकृष्ण शिवसँगको आफ्नो अनन्यता प्रकट गर्दै भन्छन् “यो जगत् तपाईं र मसहित देव, दानव, मानव अन्य अशेष प्राणी र वस्तुमा कुनै भिन्नता छैन । अज्ञानताका कारणले तपाईं र ममा विभेद दर्शन गर्ने गलत हुन् । हरमा हरि, हरिमा हर दुग्धमा घ्यू अन्तर्मिलित रहेजस्तै छौं । शिवस्यहृदयं विष्णुः विष्णोहृदयं शिवः । यसरी शिव र विष्णुमा अनन्यभावको प्रक्षेपण भएको भेटिन्छ ।
अंशगत रूपमा विष्णुपुराणका वर्ण्यविषय
विष्णुपुराणमा समग्रशास्त्रको सार प्रस्तुत गरिएको छ । यस पुराणको छैटौं अंशविशेष पठनीय रहेको देखिन्छ । शौनकादि ८८ हजार ऋषिहरूका प्रश्नको उत्तर दिने क्रममा सर्वशास्त्रसार अवतरित भएको देखिन्छ ।
प्रथम अंशका मूल विषय :
सृष्टिको आदि कारण, देवदानव उत्पत्ति वर्णनपछि समुद्रमन्थन दक्षादिब्रह्माका दश पुत्रको जीवन चरित्रका साथै ध्रुवको चरित्र वर्णन र राजा पृथुको पुरुषार्थ वर्णन गरिएको छ । अति दूराचारी राजा बेनका शोषण, दमन र अत्याचारका कारणले ऋषि समूहले उनको हत्या गरेपछि राज्यमा अराजक स्थिति उत्पन्न भयो र राजा बेनकै अंगन्थन गरेर राजा पृथुलाई जन्मदिइन्छ । शायद टेष्ट्युब–बेबी त्यो बेला पनि सम्भव भएको थियो । केही सुविधा सम्पन्न राजामहाराजासँग मोबाइल पनि थियो क्यारे । नत्र कंसले देवकीको आठौं गर्भबाट आफू मारिने कुरो कसरी चाल पाउँनु सम्भव थियो र ? ध्रुवचरित्रपछि प्राचेतसहरूको समग्र आख्यान समाविष्ट गरेपछि ध्रुवको चरित्राख्यान पनि समग्र वर्णित रहेको भेटिन्छ । अन्त्यमा फेरि पनि पृथुले गरेको राज्यशैली पुरुषार्थ र उनले नागरिकलाई उपलब्ध गराएका सुविधा वर्णन गरेर यस अंशलाई टुंग्याइएको छ ।
दोस्रा अंशका मूल विषय
पाताल वर्णन, नरक वर्णनका क्रममा २१ प्रकारका नरकको वर्णन गरिएको छ । पुराणहरूमा नरकका संख्यमा विविधता रहेको छ । श्रीमद्भागवतले २८ वटा नरकको वर्णन गरेको छ । गरुडपुराणमा पनि २१ प्रकारका नरकको वर्णन रहेको पाइन्छ । सात प्रकारका सृष्टिको वर्णन गरिएको छ श्रीमद्भागवतमा प्राकृतिक, वैकृतिक, मैथुनिक र निर्मितिलाई समेत समावेश गरेर चार प्रकारको सृष्टि वर्णन रहेको देखिन्छ । सूर्य आदि चलग्रहको वर्णन र तिनका फरकफरक लक्षणका माध्यमले विशेष परिचय प्रदान गरिएको छ । यसपछि भरतचरित्र वर्णन गरी मुक्तिमार्गको स्थापना गरिएको छ । खडेरी, शीत, दिन–रात, ऋतु आदिको वर्णन सँगसँगै तिनका बीचमा भएको संवादलाई हेर्दा कुनै सानो चटक्क परेको कथा पढ्दैगरेको भनक आउँछ । यसरी प्रत्येक अंशलाई अनेकौं प्रकारका रमणीय आख्यान प्रसङ्ग प्रस्तुत गर्दै दोस्रो अंश परिसमाप्त भएको छ ।
तृतीय अंशको मुख्य विषय
अट्ठाइस मन्वन्तरको वर्णनबाट यो अंशलाई आरम्भ गरिएको छ । यसै व्यवस्थाअन्तर्गत वेदव्यास अवतारको वर्णन गरिएको छ । पौरस्त्य जगत्मा ऋषिहरूले प्रकृतिका विभिन्न जीवोपकारी वस्तु तथा स्वरूपमा ईश्वरीय अंशको परिकल्पना गरेका छन् । गीताको दशौं अध्यायमा विभूति वर्णन गर्दै यस ब्रह्माण्डमा जेजस्ता वस्तु, प्राणी, स्थावर, जीवजंगममा ईश्वरांशको अनुकल्पना गरेर श्रीकृष्णले अर्जुनलाई बताएका छन् । यसैगरी भागवतमा पनि विभूति वर्णन गरिएको छ । समष्टिमा भन्दा जुन-जुन वस्तु प्राणी तेजीयसि देखिन्छन् ती तिनमा थोरै या धेरै ईश्वरीय अंश रहेको हुन्छ भन्ने उनीहरूको कल्पना रहेको देखिन्छ ।
चतुर्थ अंशमा सूर्यवंशी राजाको वंशवर्णन गरेपछि चन्द्रवंशको वर्णन गरेर अन्य अनेकौं प्रकारका राजाहरूको पनि वर्णन गरिएको छ । अन्य पुराणले पनि पहिले सूर्यवंशी राजाको वंशानुचरित वर्णन गरेर पछि चन्द्रवंश र वंशानुचरित वर्णन गरेको देखिन्छ तर विष्णुपुराणले चौथा अंशमा केबल सूर्यवंश र चन्द्रवंशको वर्णन गरेर चतुर्थांशलाई नै पर्यवसित गरिएको भेटिन्छ ।
ऋग्वेदको पुरुषसूक्तले दृश्यमान ब्रह्माण्डलाई विराट्पुरुषको कल्पना गरेर हिमालयदेखि समथर मैदानसम्मलाई त्यो विश्वब्रह्माण्डरूप विराटपुरुषका अंगपांगको कल्पना गरी ती अंगको कार्य र उपयोगिताको पनि वर्णन गरेको छ-“सहस्रशीर्षा सहस्राक्षः, सहस्रपात्...सभूमिंपृष्ट्वात्यतिष्ठदशांगुलम् ।’ यो दृश्यमान् विश्वभन्दा दश अंगुल जति बाहिर पनि व्याप्त रहेको कुरालाई नै समातेर सयौक्तिक भगवान्ले विराट रूप देखाएका प्रसंगलाई पुराणले पनि समावेश गरेका छन् । नरक वर्णनसँगै नरकोद्धारक कर्मको पनि उपस्थापन भेटिन्छ ।
अपराध अनुसारको दण्ड आधुनिक कानुनले पनि व्यवस्था गरेको देखिन्छ भने पुराण, धर्मशास्त्रले पनि सामाजिक, वैयक्तिक, नैतिक, चेत र दण्डसजायको व्यवस्थापनका क्रममा स्वर्ग वैकुण्ठलाई लालीपप र नरक दुःखदारिद्र्य अज्ञानलाई दण्डित गरिने कारण त्रासद स्वरूपमा उपस्थापन गरिएको देखिन्छ । यसपछि ऋषि ऊर्व र सगरको संवाद वर्णन गरेर सबै प्रकारका धर्मको वर्णन गरेको छ । मरेका पितृको श्राद्ध निरूपण गरेर वर्णाश्रम धर्मको पनि निरूपण गरिएको छ । सदाचारको वर्णनपछि माया मोहका कुरा त्यसपछि निरूपण गरिएको छ । यति नै कुरा यस तृतीय अंशमा आएका छन् ।
चतुर्थ अंशका मुख्य विषय
यस अंशमा सूर्यवंशी राजाको वंशवर्णन गरेपछि चन्द्रवंशको वर्णन गरेर अन्य अनेकौं प्रकारका राजाहरूको पनि वर्णन गरिएको छ । अन्य पुराणले पनि पहिले सूर्यवंशी राजाको वंशानुचरित वर्णन गरेर पछि चन्द्रवंश र वंशानुचरित वर्णन गरेको देखिन्छ तर विष्णुपुराणले चौथा अंशमा केबल सूर्यवंश र चन्द्रवंशको वर्णन गरेर चतुर्थांशलाई नै पर्यवसित गरिएको भेटिन्छ । अति नै छोटो अंश हो यो । महर्षि मुद्गलले पनि सातौं खण्डलाई १४ अध्यायको बनाएका छन् ।
पञ्चम अंशका मुख्य विषय
श्रीकृष्णावतारको मूलानुषंगिक प्रसंग प्रस्तुति पछि गोकुलीय बासिन्दाका यावत् प्रसंगको वर्णन भएको छ । श्री कृष्णले बाल्यकालमा नै पूतनादिको बध र कौमारावस्थामा अनेकौं भयानक राक्षस बध गरेर चमत्कारपूर्ण लीला गर्दै कौमारावस्थामा प्राप्त हुँदानहुँदै कंस बध गरेर मथुराका यावत चरित्रानुवर्णन गरिएको छ । यसपछि द्वारकामा रहेर श्रीकृष्णले गरेका रमणीय लीलाको सटिक वर्णन आएको छ ।
सारा दैत्यलाई मारेर जहाँ श्रीकृष्णले अनेकौं प्रकारका कन्या र अवतारी गोपिनीसँग विवाह गरेका थिए ती सारा कुराको वर्णन गर्दै जुन माटामा रहेर कृष्णले गरेका कर्मका आधारमा उनी जगन्नाथ, योगेश्वरमात्र कहलिएनन् जगद्गुरुसमेत भनिए/मानिए र जसलाई भूभारहरण गरेर पृथ्वीका भारभूत आफन्तलाई पनि प्रभाषक्षेत्रमा पुर्याएर पृथ्वीको भारशमन गरेर अष्टावक्रका मुखबाट श्रीकृष्णचरित्रको रहस्य वर्णन गरी यो अंश परिसमाप्त भएको छ । लीलावर्णन, सामाजिक उपादेयता, राजकीय कर्तव्याकर्तव्य निरूपण, दुष्टदमन र साधुसन्तोद्धारका दृष्टिले यो अंश अनन्य रहेको छ । राजनीति गर्ने गिदिवान्ले यो अंश पढे जीवन सार्थक पार्न सक्नेछन् ।
छैटौं अंशका मूल विषय
कलिकालको चरित्रवर्णनपछि चार प्रकारका प्रलयको वर्णन गर्दै ब्रह्मज्ञानको आवश्यक्ता र उपयोगिता वर्णनका साथै खाण्डिक निरूपण गरिसकेपछि केशीध्वजको परिचय दिएर यो अंश सकिएको देखिन्छ । यसभन्दा पछि शौनकादिले सूतजीलाई आदरपूर्वक अनेकौं शंका उपशंकासम्बद्ध प्रश्न गर्दछन् र ती सबै प्रश्नको उत्तर सूतपौराणिकले नानाशास्त्रसम्मत मतका आधारमा दिएका छन् । धर्मशास्त्र, अर्थशास्त्र, वेदान्त, ज्योतिष र वंशानुवंशाख्यानका साथै मनुका स्तोत्र अनेकौं समाजलाई उपकारक मानिने ६४ प्रकारका विद्याको आधारका साथै यस पृथ्वीमण्डलमा भएका ज्ञानविज्ञानसम्बन्धी सर्वशास्त्रको सारसंह गरी प्रस्तुत गरिएको यो विष्णुपुराणमा के के छ भनेर प्रश्न गर्नु भन्दा के के चाहिँ छैन भनेर खोजे यसमा सबै भेटिने दाबी छ पराशर मुनिको ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र