काठमाडौं । नेपालको कुल सार्वजनिक ऋण दायित्व चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्ममा २९ खर्ब ७५ अर्ब ४ करोड पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार यो रकम नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ४५.०८ प्रतिशत बराबर हो ।
आर्थिक वर्षको सुरुवातमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रहेको थियो । समीक्षा अवधिसम्म आइपुग्दा विनिमय दरमा भएको नोक्सानीसहित सार्वजनिक ऋणमा ३ खर्ब ९९ अर्ब रुपैयाँले वृद्धि भएको देखिएको छ ।
हाल कायम कुल सार्वजनिक ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५३.५७ प्रतिशत रहेको छ, जसको परिमाण १५ खर्ब ९३ अर्ब ८१ करोड पुगेको छ । यस्तै, आन्तरिक ऋण १३ खर्ब ८१ अर्ब २२ करोड अर्थात् कुल ऋणको ४६.४३ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।
सरकारले चालु आर्थिक वर्षमा कुल ५ खर्ब ९५ अर्ब ६६ करोड सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो । तर, वैशाख मसान्तसम्ममा ३ खर्ब ६५ अर्ब १६ करोड मात्र ऋण प्राप्त भएको छ, जुन वार्षिक लक्ष्यको ६१.३० प्रतिशत हो ।
प्रतिवेदनअनुसार आन्तरिक ऋणतर्फ भने अपेक्षाकृत राम्रो प्रगति देखिएको छ । सरकारले आन्तरिक ऋण लक्ष्यको ८२.५० प्रतिशत अर्थात् २ खर्ब ९८ अर्ब ६६ करोड प्राप्त गरिसकेको छ । तर, वैदेशिक ऋण प्राप्ति भने निकै कमजोर देखिएको छ । वैशाख मसान्तसम्म वैदेशिक ऋण लक्ष्यको केवल २८.४६ प्रतिशत अर्थात् ६६ अर्ब ४९ करोड मात्र प्राप्त भएको छ ।

यस अवधिमा सरकारले ऋणको साँवा र ब्याज भुक्तानीका लागि २ खर्ब ९२ अर्ब ५२ करोड खर्च गरेको छ, जुन जीडीपीको ४.४३ प्रतिशत बराबर हो ।
कुल ऋण सेवा खर्चमध्ये आन्तरिक ऋणको साँवा भुक्तानीमा १ खर्ब ८५ अर्ब ६६ करोड तथा ब्याज भुक्तानीमा ५० अर्ब ५२ करोड खर्च भएको छ । त्यस्तै, बाह्य ऋणतर्फ ४६ अर्ब २५ करोड साँवा र १० अर्ब ६ करोड ब्याज भुक्तानी गरिएको छ । सरकारले चालु वर्ष ऋण सेवाका लागि कुल ४ खर्ब ११ अर्ब १ करोड बजेट विनियोजन गरेकोमा वैशाखसम्म ७१.१७ प्रतिशत खर्च भइसकेको छ ।
प्रतिवेदनले वैदेशिक विनिमय दरमा भएको उतारचढावले ऋण दायित्वमा ठूलो असर पारेको देखाएको छ । वैशाख मसान्तसम्म विनिमय दर परिवर्तनका कारण मात्रै १ खर्ब ६७ अर्ब ७५ करोड बराबरको विनिमय नोक्सानी भएको उल्लेख गरिएको छ ।
यस्तै, समीक्षा अवधिसम्म खुद ऋण परिचालन १ खर्ब ३३ अर्ब २३ करोड पुगेको छ । सार्वजनिक ऋणमा भएको कुल वृद्धिमध्ये ४४.२७ प्रतिशत हिस्सा खुद ऋण परिचालनको रहेको छ भने ५५.७३ प्रतिशत हिस्सा वैदेशिक विनिमय घाटाको रहेको कार्यालयले जनाएको छ ।
मासिक तथ्यांकअनुसार वैशाख महिनामा मात्रै सरकारले १५ अर्ब ८७ करोड ऋण प्राप्त गरेको छ । सोही अवधिमा सरकारले २६ अर्ब ८१ करोड आन्तरिक ऋण तथा ११ अर्ब ५९ करोड बाह्य ऋण भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख छ ।





राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र