हुम्ला । हुम्लाको चंखेली गाउँपालिका-५ स्थित नेप्का गाउँमा आएको बाढीपहिरोले ठूलो क्षति पुर्याएको छ । गएराति एक्कासी परेको असिनापानीसहित आएको बाढीले डाँफे आधारभूत विद्यालय नै बगाएको छ । साथै खेतीयोग्य जमिन र गोठहरू पनि बगाएको प्रारम्भिक जानकारी आएको छ ।
चंखेली गाउँपालिका वडा नं. ५ का स्थानीय बासिन्दा छक्कबहादुर तामाङका अनुसार बाढीपहिरोले गाउँमा व्यापक क्षति पुर्याएको छ । वडाध्यक्ष हर्कधन तामाङ र धनसिंह तामाङका गोठसमेत पहिरोले पुरेको छ, जसका कारण भेडाबाख्रामा समेत क्षति पुगेको छ ।
वडाध्यक्ष हर्कधन तामाङले गोठ पुरिए पनि कति क्षति भयो भन्ने यकिन जानकारी अझै प्राप्त नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “म अहिले गाउँपालिकाको केन्द्रमा छु, राति गाउँमा बाढीपहिरो आएर मेरो र धनसिंह तामाङको गोठ पुरिँदा भेडाबाख्रा पुरिएका छन्, थप विवरण बुझ्दैछु ।” मानवीय क्षतिको भने हालसम्म कुनै जानकारी प्राप्त नभएको उहाँले स्पष्ट पार्नुभयो ।
स्थानीयका अनुसार कोदो खेती हुने अधिकांश जग्गा बाढीले तहसनहस पारेको छ । “जग्गा त पूरै नष्ट भएको छ,” वडाध्यक्ष तामाङले भन्नुभयो, “रातिको घटना भएकाले क्षतिको यकिन विवरण अझै आउन सकेको छैन ।”
घटनास्थलतर्फ मेल्छाम प्रहरी चौकीको टोली आज बिहानै प्रस्थान गरेको छ । प्रहरी नायब उपरीक्षक शंकर खड्काका अनुसार नेप्का गाउँ दुर्गम भएकाले क्षतिको पूर्ण विवरण आउन समय लाग्नेछ । मेल्छाम प्रहरी चौकीको टोली अहिले घटनास्थलतर्फ गइरहेको उहाँले जानकारी दिनुभयो ।
नेप्का गाउँ पुग्न करिब पाँच घण्टा पैदल यात्रा गर्नुपर्ने भएकाले सुरक्षाकर्मी तथा उद्धार टोलीलाई घटनास्थल पुग्न कठिनाइ भइरहेको छ । प्रहरीका अनुसार टोली पुगेपछि मात्र क्षतिको विस्तृत विवरण प्राप्त हुनेछ ।
हुम्ला सदरमुकाम सिमकोटदेखि उत्तरपूर्वमा पर्ने चंखेली गाउँपालिका अन्तर्गत तल्लो पाली, माथिल्लो पाली, पिप्लाङ र नेप्का गरी चार गाउँ रहेका छन् । नेप्का गाउँ वडा नं. ५ मा पर्छ । यहाँ मोटर बाटो नहुँदा गाउँपालिका केन्द्रसम्म पुग्न समेत जोखिमपूर्ण पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।





राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र