लण्डन । आर्सनलका समर्थकहरूका लागि अन्ततः प्रिमियर लिगको उपाधि जित्ने २२ वर्ष लामो र कठिन पर्खाइ समाप्त भएको छ । मंगलबार बिहान म्यानचेस्टर सिटी आफ्नो महत्त्वपूर्ण खेलमा बर्नमाउथसँग बराबरीमा रोकिएसँगै आर्सनल च्याम्पियन बनेको हो । उपाधि होडलाई अन्तिम दिनसम्म लम्ब्याउन म्यानचेस्टर सिटीलाई जित्नैपर्ने दबाब थियो तर पेप ग्वार्डिओलाको टोली १-१ को बराबरीमा रोकिएपछि आर्सनल सन् २००३–०४ को ‘इन्भिन्सिबल्स’ सिजनपछि पहिलोपटक च्याम्पियन बन्न सफल भएको हो । बर्नमाउथविरुद्धको खेलमा ३९औँ मिनेटमा जुनियर क्रुपीले गोल गर्दै सिटीलाई पछि पार्नुभएको थियो । खेलको इन्जुरी समयमा एर्लिङ हालान्डले बराबरी गोल फर्काए पनि उपाधि होडलाई जीवित राख्न त्यो पर्याप्त भएन ।
म्यानचेस्टर सिटीको खेल सकिनेबित्तिकै नर्थ लण्डनका पबहरू र इमिरेट्स स्टेडियमबाहिर भेला भएका आर्सनलका हजारौं समर्थकहरूले भव्य उत्सव मनाएका थिए । आर्सनलको ट्रेनिङ ग्राउण्डमा जम्मा भएका खेलाडी र स्टाफहरूले पनि एकअर्कालाई अंगालो हाल्दै नाचेर र ‘क्याम्पिओनेस, क्याम्पिओनेस, ओले ओले ओले !’ गाउँदै खुसियाली मनाएका थिए । लामो पर्खाइपछि प्राप्त यो सफलतालाई समर्थकहरूले आ–आफ्नै तरिकाले मनाइरहेका छन् । यसैबीच, बेलायतका प्रधानमन्त्री तथा आर्सनलका समर्थक सर कियर स्टार्मर, लण्डनका मेयर सादिक खान र फर्मुला वान च्याम्पियन लुइस ह्यामिल्टनले टोलीलाई सामाजिक सञ्जालमार्फत् बधाई दिएका छन् ।
मिगेल आर्टेटाको सातौं वर्षको प्रशिक्षणमा आर्सनलले यो ऐतिहासिक सफलता चुमेको हो । खेलाडीका रूपमा प्रिमियर लिग खेलेर म्यानेजरका रूपमा उपाधि जित्ने आर्टेटा पहिलो पूर्वप्रिमियर लिग खेलाडी बन्नुभएको छ । यो सिजन आर्सनलको सफलता सुदृढ रक्षापंक्ति र सेट पिसमा प्राप्त महारथमा टिकेको छ । टोलीले लिगमै सबैभन्दा कम २६ गोल खाएको छ, १९ वटा क्लिन सिट राखेको छ र सेट पिसबाट लिगकै सर्वाधिक २४ गोल गरेको छ, जसमा कर्नरबाट मात्र १८ गोल समावेश छन् । गाब्रिएल र सालिबाको जोडी विश्वकै उत्कृष्टमध्ये एक साबित भएको छ ।
टोलीको प्रदर्शन खस्किएका बेला आर्टेटाले खेलाडीहरूलाई आफ्ना नकारात्मक सोचहरू एउटा आगोमा फाल्न लगाएर मनोवैज्ञानिक रूपमा बलियो बनाउनुभएको थियो । साथै, खेलाडीहरूलाई उत्साहित बनाउन एउटा एआई निर्मित टिकटक गीतको प्रयोग पनि निकै चर्चित बनेको थियो । १५ वर्षीय म्याक्स डाउमनजस्ता प्रतिभावान् युवा खेलाडीलाई टोलीमा समावेश गरिनु र पूर्वस्पोर्टिङ डाइरेक्टर एडुसहितको टोलीले गरेको उत्कृष्ट खेलाडी भर्नाले यो सफलता सम्भव बनाएको हो ।
प्रिमियर लिगको उपाधि जितिसकेको आर्सनलको नजर अब ‘डबल’ उपाधिमा केन्द्रित छ । आउँदो मे ३० मा आर्सनलले च्याम्पियन्स लिगको फाइनलमा फ्रान्सेली क्लब पेरिस सेन्ट-जर्मेनको सामना गर्दैछ । यदि आर्सनलले उक्त फाइनल जितेमा उनीहरूले क्लबको इतिहासमै पहिलोपटक युरोपियन च्याम्पियन बन्ने गौरव प्राप्त गर्नेछन् र यो सिजनलाई क्लबको इतिहासकै सर्वोत्कृष्ट सिजनका रूपमा दर्ता गर्नेछन् ।
ग्वार्डिओलाको सम्भावित बिदाइ
एकै दिनमा म्यानचेस्टर सिटीले प्रिमियर लिगको उपाधिमात्र गुमाएन, म्यानेजर पेप ग्वार्डिओलाले क्लब छाड्ने खबरले समर्थकहरू थप निराश बनेका छन् । ग्वार्डिओलासँग अझै एक वर्षको सम्झौता बाँकी रहे पनि १० वर्षको सफल कार्यकालपछि उहाँले क्लब छाड्ने व्यापक अनुमान गरिएको छ । उहाँले सिजन सकिएपछि अध्यक्षसँग बसेर कुरा गर्ने र निर्णय लिने बताउनुभएको छ । उहाँको स्थान लिन चेल्सी र लेस्टर सिटीका पूर्वम्यानेजर तथा ग्वार्डिओलाकै पूर्वसहायक एन्जो मारेस्का लगभग पक्का भएको बुझिएको छ । यो सिजनको अन्त्यसँगै बर्नार्डो सिल्भा र जोन स्टोन्सजस्ता प्रमुख खेलाडीहरूले पनि क्लब छाड्ने निश्चितजस्तै देखिएको छ भने क्लबमाथि लागेको ११५ वटा वित्तीय नियम उल्लंघनका आरोपहरूको टुंगो पनि अझै लाग्न सकेको छैन । यद्यपि, ग्वार्डिओलाले आर्सनल र मिगेल आर्टेटालाई बधाई दिँदै उनीहरू यो उपाधिका हकदार रहेको र सिटीका तर्फबाट सम्पूर्ण टिम र समर्थकहरूलाई बधाई रहेको सन्देश दिनुभएको छ । एजेन्सी







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र