काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले घरेलु टोली मलेसियामाथि पहिलो ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा संघर्षपूर्ण जित हात पारेको छ । मलेसियाको क्वालाम्पुरस्थित बायोमास ओभलमा बुधबार सम्पन्न खेलमा नेपालले मलेसियालाई २ विकेटले पराजित गर्दै दुई खेलको शृंखलामा १-० को अग्रता बनाएको हो ।
मलेसियाले दिएको सामान्य ६८ रनको लक्ष्य पछ्याएको नेपालले १७.३ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । सहज लक्ष्य भए पनि नेपाली ब्याटिङ दबाबमा देखिएको थियो । शीर्षक्रमका ब्याटर लगातार आउट भएपछि नेपाल केही समय संकटमा परेको थियो । तर, सम्झना खड्काले संयमित इनिङ खेल्दै टोलीलाई जितसम्म पुर्याउनुभयो ।
नेपालको जितमा सम्झना खड्काले ३९ बलमा २ चौकासहित सर्वाधिक ३२ रन बनाउनुभयो । उहाँले कठिन परिस्थितिमा जिम्मेवारीपूर्ण ब्याटिङ गर्दै नेपालको इनिङ सम्हाल्नुभएको थियो । रुवि पोदारले १५ रनको योगदान दिनुभयो । अन्य नेपाली ब्याटर भने दोहोरो अंकमा रन जोड्न असफल रहे ।
मलेसियाका बलरहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए । नुर कवाल्शाले ३ विकेट लिँदा अल्सा एलिसा र एल्सा हन्टरले समान २-२ विकेट हात पार्नुभयो । नुर दानियाले १ विकेट लिनुभयो । कम स्कोरको खेल भएकाले मलेसियाली बलरहरूले नेपाललाई अन्तिमसम्म दबाबमा राखेका थिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया १६.५ ओभरमै ६७ रनमा अलआउट भएको थियो । नेपाली बलरहरूले सुरुदेखि नै कसिलो बलिङ गर्दै घरेलु टोलीलाई ठूलो स्कोर बनाउन दिएनन् ।
मलेसियाका लागि एल्सा हन्टरबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका बलरमध्ये पूजा महतोले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिनुभयो । मनिषा उपाध्याय र रिया शर्माले समान २-२ विकेट हात पार्दा कविता कुँवर र सीता राना मगरले समान १-१ विकेट लिनुभयो ।
एसियन गेम्स छनोट तथा एसिसी प्रिमियर कपको तयारीका लागि मलेसिया पुगेको नेपाली टोलीले घरेलु टोलीसँग दुई खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला खेलिरहेको हो । शृंखलाको दोस्रो तथा अन्तिम खेल शुक्रबार हुनेछ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र