काठमाडौं । भारत सरकारले नेपाली चिया निर्यातमा लगाउँदै आएको प्रयोगशाला परीक्षणसम्बन्धी कडाइ खुकुलो पारेपछि करिब २० दिनदेखिको अवरोध हटेको छ । भारतीय वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको चिया बोर्डले नयाँ निर्देशिका जारी गर्दै अब नेपालबाट भारत निर्यात हुने चियाको हरेक खेपको अनिवार्य परीक्षण हटाएर ‘र्यान्डम स्याम्पलिङ’का आधारमा मात्रै परीक्षण गरिने व्यवस्था लागू गरेको हो ।
यसअघि नेपालबाट भारततर्फ जाने प्रत्येक ट्रक तथा हरेक ब्राण्डको छुट्टाछुट्टै नमुना संकलन गरी प्रयोगशाला परीक्षणका लागि पठाइन्थ्यो । परीक्षण रिपोर्ट आउन लामो समय लाग्ने भएकाले सीमामा नेपाली चिया बोकेका गाडी दिनहुँ रोकिनुपर्ने अवस्था थियो । यसबाट चिया व्यवसायीले ठूलो आर्थिक नोक्सानी बेहोर्नुपरेको थियो ।
नयाँ व्यवस्थाअनुसार अब भारतीय भन्सारमा पुगेका सबै चियाका खेप परीक्षणमा नपरी आकस्मिक रूपमा छानिएका केही नमुनामात्र परीक्षण गरिनेछ । यद्यपि चियाको गुणस्तर तथा निर्यातका लागि आवश्यक कानुनी प्रमाणपत्र भने अनिवार्य रहने भारतीय चिया बोर्डले जनाएको छ । भारतीय खाद्य सुरक्षा एवं मानक प्राधिकरण (एफएसएसएआई) सँगको समन्वयपछि यो व्यवस्था लागू गरिएको हो ।
यस निर्णयसँगै पूर्वीनाका काँकडभिट्टालगायत प्रमुख नाकाबाट हुँदै आएको नेपाली अर्थोडक्स तथा सिटिसी चियाको निर्यातमा देखिएको ठूलो अवरोध हटेको छ । यसले निर्यात लागत घट्नुका साथै भारतीय बजारमा नेपाली चियाको पहुँच अझ सहज हुने अपेक्षा गरिएको छ ।
भारत नेपाली चियाको मुख्य बजार हो । नेपालमा उत्पादित अर्थोडक्स र सिटिसी चिया विश्व बजारमै उच्च गुणस्तरका लागि परिचित मानिन्छ ।
आर्थिक वर्ष २०८१/८२ मा देशभर २० हजार ६०२ हेक्टर क्षेत्रफलमा गरिएको चिया खेतीबाट दुई करोड ६१ लाख २३ हजार १११ किलोग्राम तयारी चिया उत्पादन भएको थियो । सोही अवधिमा नेपालले चार अर्ब ५९ करोड आठ लाख ५६ हजार रुपैयाँ बराबरको चिया निर्यात गरेको तथ्यांक छ ।
हाल देशभर १७० ठूला तथा १२० साना-मझौला चिया बगान सञ्चालनमा छन् । चिया क्षेत्रमा १५ हजारभन्दा बढी साना किसान प्रत्यक्ष आबद्ध छन् भने बगानदेखि उद्योगसम्म गरी एक लाखभन्दा बढी श्रमिकले रोजगारी पाइरहेका छन् । चिया व्यवसायी तथा किसानहरूले नेपाली चियाको प्रमुख बजार भारत भएकाले अनावश्यक कडाइले किसान मारमा परेको भन्दै समस्या समाधानका लागि सरकारले कूटनीतिक पहल गर्नुपर्ने माग गर्दै आएका थिए ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र