हंसपुर, कास्कीका कालीदास सुवेदी मेरी भाञ्जी दिदीका श्रीमान् अर्थात् भिनाजु हुनुहुन्छ । उहाँ विद्यार्थी छँदै मदन भण्डारीलाई चिठी लेख्नुभएको र त्यसको जवाफ मदनकै हस्तलेखनमा उहाँले पाउनु भएको रहेछ । उहाँले त्यतिबेला कम्युनिष्ट नेता कस्ता हुन्छन् भनेर त्यो पत्रका बारेमा मसँग चर्चा गर्नुभएको थियो । मदनसँग फुर्सतै फुर्सत भएर एउटा समान्य विद्यार्थीको पत्रको उत्तर दिएका पक्कै होइनन् । कार्यकर्ताको हौसला बढाउनलाई नै उनले समय निकालेका हुन् भन्न सहजै सकिन्छ । संगठन कुशलताको यो एक उदाहरण हो । मदनको राष्ट्रप्रतिको योगदान कस्तो रह्यो वा उनले संगठन बढाउँदा देश र जनताले के पाए वा गुमाए भन्ने छलफलको विषय बन्न सक्ला तर उनले जुन संगठन जिम्मा लिएका थिए, त्योप्रतिको भूमिका कस्तो निर्वाह गरे भन्ने यसैबाट झल्किन्छ । कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाले पठाएका पत्रहरू संगालेका कांग्रेसीहरू अझै पनि पर्याप्त छन् ।
पार्टीमा जसले बढी किचकिच गर्दछ र पार्टी छाडेर जाने धम्की दिन्छ, उसलाई सुनका थालमा पस्केर पद दिने अनि जो इमानदारिताका साथ कटिबद्ध भएर पार्टीमा रहन्छ उसलाई कान्लामुनिका कान्लामुनि नै राख्ने परम्पराले निरन्तरता पाइरहेमा भगवान् पुकारेर बस्नुबाहेक केही गर्न सकिँदैन ।
यो उदाहरण नेपाली कांग्रेसका वर्तमानमा नेतृत्व लिइरहेकाहरूलाई सहयोगी होस् भनेर राखिएको हो, मनन गर्ने नगर्ने उनीहरूकै अधिकार हो । संसद्मा संबोधन गर्नसमेत समय निकाल्न नसक्नेहरूका निम्ति त केही भन्ने परेन तर खस्किएको पार्टीलाई पुनः एक नम्बरको बनाउने संकल्प गरेकाहरूले आफ्ना आनीबानी र कार्यकर्ताप्रति राखेका दृष्टिकोणमा ख्याल गर्नैपर्दछ । पार्टीलाई माथि उठाउन तल्लो तहमा इमानदारीपूर्वक खटिएकाले आफ्नो पार्टी सभापति, उपसभापति या महामन्त्रीहरूलाई मनका कुरा राख्न अवसर नै पाउँदैनन् भने हाँगा र टुप्पाका भरमा पार्टीको जग बलियो बनाउने प्रयास सार्थक हुनसक्छ भन्ने कुरामा कसैले विश्वास गर्दैन ।
विशेष महाधिवेशन पश्चात् नेपाली कांग्रेस २.० भनिएको कांग्रेसले पहिलेका भन्दा बिल्कुल नयाँ गर्न सक्नैपर्दछ । असी उमेरकाहरूबाट साठी मुनिकाहरूमा सरेको नेतृत्वले उही पुरानै प्रवृत्ति अँगाले भने परिवर्तनको कुनै गुञ्जायस हुँदैन । पछिल्ला दिनहरूका क्रियाकलापले कांग्रेस झन् पुरानो हुँदै त छैन भन्ने प्रश्न उठ्न थालेको छ । कांग्रेस कार्यकर्ता माझ सर्वाधिक लोकप्रिय भनिएका गगन-विश्वको नेतृत्वमा कांग्रेस पुगेपछि कांग्रेसले काँचुली फेर्छ भन्ने कांग्रेसका आमकार्यकर्ताहरूले मात्रै होइन कि लोकतन्त्रका समर्थकहरू सबैले विश्वास गरेका थिए । विशेष महाधिवेशन चल्दै गर्दा राति अबेरसम्म पनि गगन-विश्वको भाषण सुन्न बसेकाहरूको भीडले पनि त्यसलाई पुष्टि गर्दछ । गगन-विश्वको पक्षमा रहेका वर्तमानका महामन्त्रीहरू गुरुराज घिमिरे र प्रदीप पौडेलको कार्यक्षमतामा पनि सबैले भरोसा गरेकै थिए र पनि कांग्रेसको वर्तमानको चहलपहलले कांग्रेस रुमल्लिएको अवस्थामा देखिन्छ ।
साठी चालीसको भागबण्डाका कुरा गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाले कांग्रेसमा भित्र्याएका हुन् । सुशील कोइरालाको नेतृत्वमा कांग्रेस रहँदा पनि देउवाले त्यो अडान छाडेनन् र भागबण्डाले निरन्तरता पाई नै रह्यो । देउवा आफैं दश वर्षभन्दा बढी सभापति रहे र डा.शेखर कोइरालासँग त्यही प्रस्ताव राखेरै बसे भलै शेखर समूहलाई चालीस दिएको चाहिँ कहिल्यै देखिएन । अर्थात् देउवाले पार्टी पेलेर चलाए । अहिले गगन थापाको नेतृत्वमा कांग्रेस आउँदा पनि पूर्णबहादुरहरूसँग त्यस्तै सम्झौता गर्ने चर्चा परिचर्चा चल्छ भने नेपाली कांग्रेस सुध्रिन्न भनेर भन्दा हुन्छ । जितेकाले सबैलाई विधि विधान बमोजिम समेट्ने र हारेकाले आफ्नो अस्तित्वलाई स्वीकार गरी सहयोगी भूमिका निर्वाह गर्ने परम्परा आरम्भ नभएसम्म आशा गर्ने ठाउँ भेटिँदैन ।
नेतृत्वमा रहेकाले सबैका लागि समान अवसरको ढोका खोल्न सक्नैपर्दछ । पार्टीप्रतिको योगदान, इमानदारिता र क्रियाशीलताको मापन गरी तदनुरूपको भूमिका पार्टी सदस्यलाई दिनु नेतृत्वको कर्तव्य नै हो । पार्टीमा जसले बढी किचकिच गर्दछ र पार्टी छाडेर जाने धम्की दिन्छ, उसलाई सुनका थालमा पस्केर पद दिने अनि जो इमानदारिताका साथ कटिबद्ध भएर पार्टीमा रहन्छ उसलाई कान्लामुनिका कान्लामुनि नै राख्ने परम्पराले निरन्तरता पाइरहेमा भगवान् पुकारेर बस्नुबाहेक केही गर्न सकिँदैन । नेतृत्व लिएकाले विरोधको डरमा खुट्टा कमाउँदै पार्टीलाई अग्रगामी दिशा दिने कार्यक्रम ल्याउन डराउने हो भने अरूले के नै पो गर्न सक्छन् र ?
कांग्रेसलाई नयाँ बनाउने नाममा २.० थप्नु पर्दैन । कांग्रेसलाई सशक्त पार्टी बनाउन कांग्रेसका सिद्धान्त, विचार र आदर्शमा परिवर्तन गर्नुपर्दैन । कांग्रेसलाई लोकप्रिय पार्टी बनाउन कसैको चाकरी गर्ने र कसैलाई पाखामा मिल्काउने काम गर्न आवश्यक छैन । कांग्रेसलाई ऊर्जाशील पार्टी बनाउन कांग्रेसको रूखकै पात टिपेर नंग्याउन लागेकाहरूलाई फकाई फुलाई गरिरहनु पर्दैन । कांग्रेसलाई आगामी चुनावका लागि तयार पार्न चारतारे झण्डा बोकेर घण्टीको प्रचार गर्दै हिँडेकाहरूको सहयोगको अपेक्षा गरिरहन पर्दैन । कांग्रेसको उही पुरानै चारतारे झण्डा र विश्वेश्वरप्रसाद कोइराला लगायतका नेताहरूद्वारा प्रतिपादित राष्ट्रियता, समाजवाद र लोकतन्त्रको नारा इमानदारीपूर्वक बोकेर हिँडे पुग्दछ । यति कुरा नबुझेका नेता अहिलेको केन्द्रीय समितिमा कोही छैन र पनि नेपाली कांग्रेस किन कता कता अल्मलिएको छ ? कसैले बुझ्न सकेको छैन ।
नेपाली कांग्रेसको वर्तमान नेतृत्व समयमै निर्णय दिन र पार्टीलाई जनप्रिय बनाउन सक्षम मानिएकाहरूको हो भन्ने अझै ठानिएकै छ । समयको चाप र गतिलाई बुझ्न कठिन हुने अवस्थाका पुराना नेताहरूको हातबाट विशेष महाधिवेशन पश्चात् उमेरले युवा नभए पनि जोश, जाँगर र उत्साहले भरिपूर्ण नेताहरूको हातमा पार्टी पुग्दा अन्य राजनीतिक दलका नेताहरूले समेत कांग्रेसको प्रशंसा गरेका थिए तर अब प्रशंसामात्रै गरेर बस्ने समय सकिएको छ । किन ढिला ? भन्ने प्रश्न कांग्रेसका नेताहरूलाई गरिरहन पर्ने अवस्था स्वयं उनीहरूले नै सिर्जना गरिरहेका छन् । प्रश्नै प्रश्नको पेटारोले सही दिशा पक्डन नसकेका नेताहरूलाई झक्झक्याउनुपर्ने देखिएको छ ।
कांग्रेसको पुनरुत्थानका लागि कांग्रेस विधि र विधानमै चल्नुपर्दछ । सहमतिका नाममा विधान कुल्चने र नेताहरूको स्वार्थपूर्ति गर्न प्रक्रिया मिच्ने कार्य गरियो भने भोलिका दिनमा कांग्रेसलाई दैवले पनि बँचाउन सक्दैन । सबैलाई समेट्ने नाममा कांग्रेसलाई इतिहासको गर्तमुनि पुर्याउन प्रमुख भूमिका खेलेको उही साठी चालीसको भागबण्डालाई प्रश्रय दिने काम भयो भने शुभेच्छुकहरूले राम राम भन्नेमात्रै हो, काँध थाप्न आउन कोही सक्दैन । घरमा आराम गरेर बस्नुपर्नेहरूलाई नै पुनः भूमिका दिने र इमानदारिताका साथ सक्रियता प्रदर्शन गर्नसक्ने कार्यकर्तालाई चिनेर कांग्रेसले अब पनि भूमिका दिन सकेन भने मुलुकले निश्चय नै लोकतान्त्रिक पार्टीको खडेरी व्यहोर्नु पर्दछ ।
कांग्रेसको अहिलेसम्मको अवस्था हेर्दा विसं २०४८ र विसं २०५६ मा केन्द्रीय सदस्य भएको व्यक्ति आज पनि केन्द्रमै छ तर उसले त्यसपछि वडामा गएर चुनाव लडी महाधिवेशन प्रतिनिधि बन्नुपरेको छैन । स्वतः बन्दै आएका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको स्थानीय तहमा सम्पर्क टुटेको दशकौं भइसकेको छ र पनि पार्टी उनीहरूले नै हाँकिरहेका छन् । आमनिर्वाचनमा मतदाता हुनेहरूसँगको सम्बन्धै नभएकाहरूले दलको नेतृत्व गरेर कांग्रेस पुनः पहिलेकै जस्तो मुलुक हाँक्ने अवस्थामा पुग्छ भन्ने कल्पना गर्नु दिवास्वप्नमात्रै हो ।
कुरा सिधा छ । कांग्रेसको नेतृत्वमा रहेका नेताहरूले कसैलाई निषेध र कसैलाई काखी च्याप्ने हुँदै होइन । क्रियाशील सदस्यताका लागि नयाँलाई त बाटो खुला गर्नुपर्दछ भने यदाकदा बद्नाम भए पनि पुराना दिनमा संघर्ष गरेकाहरूलाई बाटो छेक्नै हुँदैन । यदि पुराना तर अहिलेको नेतृत्वसँग असहमति राखेकाहरूलाई मानसम्मान नपुगेको हो भने उनीहरूको वडामै गएर पार्टी सभापतिले नै उनीहरूको सदस्यता नवीकरण गराइदिए हुन्छ तर स्वतः महाधिवेशन प्रतिनिधि हुने र त्यसैका आधारमा केन्द्रीय पदाधिकारी वा सदस्य हुने बाटो भने बन्द गर्नै पर्दछ ।
लोकतान्त्रिक प्रक्रियाद्वारा निर्वाचित बालेन साह प्रधानमन्त्री छन् तर लोकतन्त्रप्रति उनको धारणा के हो भन्ने कसैले सुन्न पाएका छैनन् । बहुदलीय प्रणालीअन्तर्गत बालेन प्रधानमन्त्री भएका छन् र उनी रास्वपाको वरिष्ठ नेता हुन् भनिएको छ तर उनी सो दलको नेता हुन् भनेर बालेनले नै बोलेको शायद कसैले सुनेको होला ।
करिब दुईतिहाइ सदस्य संसद्मा पुर्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदाइसकेको वर्तमान अवस्थामा कांग्रेसको चिन्ता किन गर्नु पर्यो भन्ने प्रश्न उठ्न सक्दछ । हामी कम्युनिष्ट होइनौं भन्ने रास्वपाका एक से एक लोकप्रिय नेताहरू देखा परिसकेपछि कांग्रेसको महत्त्व सकिएको ठान्नेहरू पनि देखिएकै छन् । नेपाली कांग्रेसले लिएको अर्थनीतिभन्दा फरक रास्वपाको के छ र अब कांग्रेसकै आवश्यकता बोध गर्नुपर्दछ भन्नेहरू पनि होलान् तर एकमात्र पार्टीको अपेक्षाले सत्तारुढ दललाई निरंकुश बनाउँदै लैजान्छ र कालान्तरमा गएर जनताको रगत पसिनाबाट आर्जित लोकतन्त्रले नै बिदा लिने अवस्था निम्तन सक्दछ भन्ने कुरामा चिन्तित हुनै पर्दछ । त्यसैले पनि रास्वपाको विकल्पमा त्यत्तिकै शक्तिशाली अर्को पार्टीको अपेक्षा लोकतन्त्रले गरिरहेकै हुन्छ ।
रास्वपाले पूर्णरूपमा लोकतन्त्रलाई आफ्नो मूलभूत आदर्शका रूपमा स्वीकार गरेको छ कि छैन यकिन गर्न कठिन त छ नै र पनि सभापति रवि लामिछाने र उपसभापति स्वर्णिम वाग्लेहरूले यदाकदा भाषणहरूमा लोकतन्त्र भन्ने गरेकाले यसलाई पनि लोकतान्त्रिक पार्टी नै मान्न सकिएला । कुनै दिन यो पार्टीले लोकतान्त्रिक धार छाड्यो भने मुलुकमा लोकतन्त्रलाई नै जीवन ठान्ने पार्टी कुनै नरहने भएकाले पनि नेपाली कांग्रेसको अस्तित्व प्रभावकारी हुनै पर्दछ । केही बेइमान नेताहरूका कारण लोकतन्त्रलाई र कांग्रेसलाई बद्नामीको खाडलमा पुर्याउने कर्म गरिएकाले कांग्रेसको प्रतिबद्धतामा प्रश्न उठाइए पनि पार्टी स्वयं भने कहिल्यै सिद्धान्तबाट च्यूत नभएका कारण देशमा कांग्रेसको अस्तित्व र भूमिका अझै अपेक्षित नै छ ।
मुलुकमा अहिले रास्वपाको सरकार छ तर यो सरकारको आदर्श लोकतन्त्र हो कि होइन कसैले भन्न सक्दैन । लोकतान्त्रिक प्रक्रियाद्वारा निर्वाचित बालेन साह प्रधानमन्त्री छन् तर लोकतन्त्रप्रति उनको धारणा के हो भन्ने कसैले सुन्न पाएका छैनन् । बहुदलीय प्रणालीअन्तर्गत बालेन प्रधानमन्त्री भएका छन् र उनी रास्वपाको वरिष्ठ नेता हुन् भनिएको छ तर उनी सो दलको नेता हुन् भनेर बालेनले नै बोलेको शायद कसैले सुनेको होला । त्यसैले बहुदलीय व्यवस्थाप्रतिको बालेनको निष्ठाका बारेमा पनि खुल्ला रूपमा दावा गर्नसक्ने मान्छे देखिएको छैन । यसैले पनि बहुदलीय व्यवस्थाको रक्षार्थ पनि कांग्रेस सशक्त हुनैपर्दछ तर नेताहरू किन अल्मलिँदै छन् भन्ने बुझ्न सकिएको छैन ।
बालेन रास्वपाको वरिष्ठ नेता हुँदाहुँदै उक्त पार्टीको सचिवालयमा छैनन् । रास्वपाको केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी भएको सुन्न पाइएको छैन भने जुन संसदीय दलले उनलाई प्रधानमन्त्रीमा चयन गर्यो, त्यही संसदीय दलको बैठकमा सहभागी भएको पनि देख्न पाइएको छैन । यस्ता आनीबानीले बालेनको दलीय व्यवस्थाप्रतिका आस्थामा शंका गर्ने ठाउँ प्रशस्तै दिएको छ र यसैकारण रास्वपाकै दृष्टिकोणमा समेत जनताले प्रश्न । यसैबाट बालेन र रास्वपा लोकतन्त्रवादी एवं बहुदलवादी पार्टी होइनन् भिनहाल्न चाहिँ मिल्दैन र पनि लोकतन्त्र जोगाउन अर्को सशक्त पार्टीको अपेक्षा रहेकै हुन्छ ।
लोकतन्त्र र बहुदलीय व्यवस्थालाई पूर्णरूपले आत्मसात् गर्ने भन्ने कांग्रेस पार्टी सही नेताहरूका हातमा पुगेमा मुलुक र जनताका लागि हितकर हुने भएकाले कांग्रेस सशक्त बनोस् भनी शुभकामना दिनेहरूको संख्या अझै लाखौं छ । विगतमा विसं २०५९ मा पार्टी फुटाउने नेता भनेर पगरी लगाएका शेरबहादुर देउवाकै नाममा अहिले पनि पार्टी फुटाउने चलखेल भएको हल्ला चलिरहेकै छ । पार्टी फुट्ने सम्भावना त ज्यादै कम छ तर चोइटिनुमात्रै पनि कसैका लागि हितकर हुँदैन । आशा गरौं, देउवाले यसको अपजश बारम्बार लिँदैनन् ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र